श्रीमतीमाथि एसिड प्रहार गरी हत्या प्रयास गर्ने व्यक्ति दोषी ठहर

श्रीमतीमाथि एसिड प्रहार गरी हत्या प्रयास गर्ने व्यक्ति दोषी ठहर


धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २७ वर्षीय सञ्जीव साहलाई दोषी ठहर गरेको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले जानकारी दिएका छन् । उनका अनुसार सोही घटनामा पक्राउ परेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको छ ।

गत कात्तिक २९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

आरतीमाथि एसिड प्रहार गरेकै दिन सञ्जीव पक्राउ परेका थिए भने सञ्जीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्तापछि पक्राउ गरिएको थियो । घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुवै जनाविरुद्ध अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी तीनवटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो । अङ्गभङ्गमा ५ वर्ष, कुरुप बनाएकामा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको थियो ।

यस मुद्दामा यसअघि ६ वटा पेसी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो । सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानुन व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सञ्जीवलाई सजायका लागि पेसी हुने जानकारी दिए । अदालतले दोषी ठहर गरिसकेपछि अब अर्काे पेसीमा सजाय तोकिने सूचना अधिकारी मिश्रको भनाइ छ । ‘सजायको सन्दर्भमा सरकारी वकिलबाट प्रतिवेदन माग गरिएको छ, त्यो पेस भएपछि सजाय तोकिनेछ’– मिश्रको प्रष्टोक्ति छ ।

ज्ञातव्य छ, चार वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नाका साथै घाँटी, छातीलगायत शरीरको आधी अङ्ग जलेर कुरुप बनेका छन् । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकामा खत बसेको छ । घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जीवले एसिड प्रहार गरेका थिए । आरतीकी आमा सुनिता देवीका अनुसार केही वर्षअघि पनि सञ्जीवले मट्टितेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए ।