कथा दलवीर सिंह कामीको

कथा दलवीर सिंह कामीको


राजाको सुर्खेत भ्रमणमा सेनाका गुल्मपतिले राजालाई दलवीरको कामहरू तथा उनले तैयार गरेको रोलर तथा झोलुङ्गे पुलहरूको बारेमा सुनाइएछ । यस किसिमको अनौठो प्रतिभा भएका स्थानीय वैज्ञानिकको बारेमा राजाले जानकारी पाए पछि दलवीरलाई बोलाइयो । राजा महेन्द्रको दर्शनभेटमा राजाले रु ४०० बख्शिस दिए । राजाको दर्शनभेट तथा बख्शिस पाएपछि दलवीरमा अझ बढी उत्साह थपियो ।
  • सुनिल उलक

नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, ‘सतीले सरापेको देश !’ वि.सं. १६८२ मा काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनीज्वाइँ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको लागि पठाएका थिए । युद्धमा विजयी भएर फर्किएका भीम मल्लको बारेमा उनका विद्रोहीहरूले राजालाई विभिन्न कुरा सुनाएपछि खुशीको समाचार सुनाउन दरबार पसेका भीम मल्ललाई राजाको आदेशमा सैनिकले ढोकामा नै काटेका थिए । यो समाचार सुनेर विक्षिप्त बनेका उनकी पत्नीले सती जाने बेलामा सरापेका थिए, ‘नेपाल दरबारमा भलो चाहनेको यस्तै गति होस् ।’

भीमसेन थापाको दुखद अन्तपछि पनि उनकी श्रीमतीले यही वाक्य दोहोऱ्याएको भनिन्छ । हुन पनि यो देशको इतिहास पल्टाएर हेऱ्यौँ भने हामीले यस्तै इतिहासका प्रमाणहरू पाउँछौँ । चाहे भीमसेन थापा होस् वा बहादुर शाह दुवैले देशको लागि धेरै गरे तर देशले यी दुवैको दुखद अन्त पनि देख्दै नदेखे झैँ गरे । यी कथा वा भनौँ इतिहासका पाना सयौँ वर्ष अगाडिको थियो । तर यहाँ केवल ४८ वर्ष अगाडि देशको लागि महत्वपूर्ण एक ब्यक्तित्वको गुमनाम मृत्यु भयो । अझ भनौँ हत्या भयो, तर कसैलाई कुनै चासो नै भएन । सुर्खेतको इतिहासका प्रमुख ब्यक्तित्व वा भनौँ सुर्खेत शहर बसाउन ठूलो भूमिका खेल्ने एक विशेष ब्यक्तिको मृत्यु भयो ।

वि.सं. २०३० वैशाख २० गते बिहानै बादेपिपलको बागेश्वरी विद्यालयनजिकैको चौतारोमा शव झुण्डिएको अवस्थामा भेटिएको थियो । धेरैले हत्या गरेर झुण्ड्याइएको भनिए पनि कुनै छानविन नै भएन, यथेष्ट प्रमाण नहुँदा आत्महत्या भनियो । दलवीर सिंह कामी सुर्खेतबाट बादेपिपलमा भेरी नदीमाथि पुल बनाउने काममा गएका थिए । उनको आत्महत्या गर्नैपर्ने कुनै कारण नै थिएन । तत्कालिन जिल्ला पञ्चायतमा सव-ओभरसियरका जागिरे उनको सदैव काममा लगन थियो । त्यसैमा खुशी थिए । सामाजिक कामभन्दा अरु उनलाई कुनै चिन्ता नै हुँदैनथ्यो, तर उनले शत्रुहरू भने मनग्गे कमाएका थिए । पढेलेखेका नभए पनि उनको चर्चा निकै हुन गर्दथ्यो । राजाले नै उनलाई भेटेपछि त उनको भेटघाट अञ्चलाधीश र सेनाका गुल्मपतिसम्म हुन्थ्यो । त्यसैले पनि उनका दुश्मनहरू भित्रभित्रै जलेका थिए ।

पुलको सामग्री तयार पार्दै कानपुरमा दलवीर

अनपढ भए पनि राजाले नै उनलाई जिल्ला पञ्चायतको सव-ओभरसियरको जागिर दिलाएपछि उनको काम पुलको रेखाङ्कन तथा अन्य निर्देशन उनकै रेखदेखमा हुन्थ्यो । सुर्खेतबाट नेपालगञ्ज जोड्ने सडकको रेखाङ्कन पनि उनले नै गरेका थिए । भनिन्छ यही सडकको विषयमा उनको केही ब्यक्तिहरूसँग विवाद भएको थियो । केही ब्यक्तिले आफ्नो स्वार्थमा सडकको रेखाङ्कन परिवर्तन गर्न दबाब दिएका थिए । तर दलवीरले सो सडकको महत्व दूरी तथा खर्चको विविध कारणले ती ब्यक्तिहरूको दबाबमा काम गर्न अस्विकार गरेका थिए । यसको केही समयपछि नै उनको मृत शरिर झुण्डिएको अवस्थामा भेटियो । यस किसिमको मृत्यु हुँदा धेरैले यो आत्महत्या होइन हत्या हो भन्ने आवाज उठाए, तर यसको कुनै छानविन नै गरिएन । सायद अर्को पक्ष निकै पहुँचवाला थिए वा उनीहरूको हैकम बढी थियो होला । तसर्थ सबुत प्रमाणको अभावमा आत्महत्याको नाम दिएर यो मृत्युलाई चुपचाप बन्द गरियो ।

बाबुको मृत्युको समय दलवीरको जेठी श्रीमतीतिरको छोरा कानपुरमा थियो । कान्छीतिरको जेठो छोरा श्यामलाल भर्खरै सेनामा भर्ती भएका थिए । केवल एक महिना मात्र भएको हुँदा तालिममा थिए । राजा वीरेन्द्रको सुर्खेत भ्रमणमा आदित्य शम्शेर जबरा सुर्खेतमा रहेको ४ नं बाहिनीपति थिए । राजाको स्वागतको लागि मञ्च सजाउने काम तथा राजालाई चढाउने बिशेष उपहार पनि तीन महिना लगाएर दलवीरले नै बनाइदिएका थिए । जसले गर्दा बाहिनीपति आदित्यशम्शेरले दलवीरको छोरा श्यामलाल उमेरले सानै भए पनि सेनामा भर्ना गराइदिएका थिए । २०२९ को चैतमा श्यामलाल सेनामा भर्ती भए । २०३० को वैशाखमा दलवीरको अप्रत्याशित मृत्यु भयो । केवल ५२ वर्षको उमेरमा नै उनले संसारबाट बिदा लिनुपऱ्यो ।

वि.सं. १९७८ मा दैलेखको रतिखोला (हाल गुराँस गाउँपालिकाअन्तर्गत वडा नं ४) मा जन्मिएका दलवीर सिंह कामी पेशाले आरन चलाउने तथा फलामका सामानहरू बनाउने गर्दथे । बुबाको साथ दैलेखबाट सुर्खेत झरेका थिए । सुर्खेतमा त्यतिबेला औलोको प्रकोप थियो । सुर्खेत झरेपछि पदमपुरमा बस्न थाले । बाबुको साथ आरन चलाउने उनी दिमागले तेज थिए । कुनै पनि नयाँ बस्तुहरू बनाउन तम्सन्थे । दैलेखमा नै पहिलो विवाह गरेका दलवीरको एक छोरा र एक छोरीसहित श्रीमती दैलेखमा नै रहेका थिए । आफू कामको सिलसिलामा सुर्खेत रहँदा सुर्खेतमा नै मोतीसरासँग दोश्रो विवाह गरे । दोश्रो विवाहपछि तीन छोराहरू र एक छोरीको जन्म भयो । उता दैलेखमा पनि अर्को एक छोरीको पनि जन्म भयो । यसरी चार छोरा र तीन छोरीका बाबु बनेका थिए ।

परिवार आफन्तहरुको साथ दलवीर

अक्षर केही चिन्न सक्ने तर आफ्नो मेहनतमा बाँचेका दलवीरको आफ्नै आरन थियो । जहाँ फलामका कामहरू गर्दथे । विभिन्न सामग्रीहरू बनाउँथे । गाउँको कामीको काम नै बाउसो, कोदालो, हसिँया आदि बनाउनु थियो । उनको कामप्रति लगन र मेहनती थियो । हरेक सालजसो वर्षातमा उर्लंदो भेरी नदीलाई देखेका उनलाई गाउँलेको समस्या नजिकबाट नियालेका थिए । वि.सं. २०१९ सालतिर उनलाई भेरी नदीमा झोलुङ्गे पुल बनाउन इच्छा जाग्यो । उनी धनी भएर झोलुङ्गे पुल बनाउन लागेका थिएनन् । वर्षातमा उर्लेर आउने भेरीको भेललाई देखेका थिए । उनलाई त्यस नदीमा एउटा पुलको आवश्यकता लाग्यो । उनले आफ्नो शीप र ज्ञानको उपयोग गर्दै आवश्यक सामग्रीहरू आफैले तैयार गर्न थाले । लामो फलामे साङ्ला बनाए, छोटा तार तथा अन्य सामग्रीसहित पुलका सामग्री तैयारी गर्न थाले । गाउँलेले पुलको खाँबो गाड्न तथा पुलको भार थेग्नको लागि मोटो साङ्लोलाई ठूलो खाल्डोमा पर्याप्त ढुङ्गाहरू राखेर बाँध्नमा सहयोग गरे । हिँड्नको लागि काठका साना-साना फ्ल्याकहरू लहरै बाँधे । दायाँबायाँ मानिस पुलबाट नखसोस् भनेर त्यहाँ पनि बलियोसँग तारहरू बाँधे ।

सुर्खेतको रानीघाटमा पहिलो पुल बनाए । यसको केही समयपछि २०२० सालको शुरुवातमा सुर्खेत जिल्लाको उत्तरगंगाको भेरी नदीमा करिव ४३५ फुट लामो झोलुङ्गे पुल तैयार भयो । सुर्खेतको रामघाटमा पनि अर्को पुल बनाए । यसरी उनलाई पुल बनाउने पागलपन नै चढ्यो । चिगाडखोलामा पनि अर्को झोलुङ्गे पुल तैयार गरे । हरेक पुल बनाउँदा स्थानीय जनताहरूले पनि उनलाई साथ र हौसला पनि दिन्थे । पुल तैयार भएपछि मानिसहरूलाई धेरै सहजता भयो । स्थानीय जनता खुशी भए ।

२०२० सालमा राजा महेन्द्रको सुर्खेत सवारीको कुरा उठ्यो । सडक यातायातले नजोडिएको सुर्खेतमा राजाको आगमनको लागि विमानस्थल बनाउने तैयारी भयो । सेनाले पनि साथ दिने तथा जनताहरूले पनि जनश्रमदान गर्ने कुरा उठ्यो । राजाको सवारी भनेपछि सबै एकसाथ लागे । सडक सञ्जालले नजोडिएको सुर्खेतमा जमिन सम्याउनको लागि रोड रोलर ल्याउन सकिने कुरै भएन । त्यसपछि रोलर बनाउन दलवीर आफै लागे । उनको आफ्नै दिमाग र मेहनतले सुर्खेत विमानस्थल सम्याउने रोलर तैयार भयो । मोटो सिमलको रुख काटेर त्यो सिमलको मुढालाई अगाडिबाट केही मानिसले तान्ने र केही मानिस त्यस मुढामा तौल बढाउन चढ्न मिल्ने बनाए । यसरी आफ्नै किसिमको रोलर तैयार गरेका थिए । यो रोलरले जमिन सम्याउन निकै सहयोग पुऱ्यायो । उनले बनाएको यो रोलरलाई शाही नेपाली सैनिक गुल्मले धेरै पछिसम्म पनि सुरक्षित सम्हालेर राखेको थियो । विमानस्थलको माटो ओसारपसार गर्न पनि भैँसीको छालालाई सिलाएर ठूलो ठूलो थैला बनाएर त्यसमा माटो भरेर ओसार्ने काम गरिएको थियो ।

दलवीरले पसिना बगाएको सुर्खेत विमानस्थल

राजाको सुर्खेत भ्रमणमा सेनाका गुल्मपतिले राजालाई दलवीरको कामहरू तथा उनले तैयार गरेको रोलर तथा झोलुङ्गे पुलहरूको बारेमा सुनाइएछ । यस किसिमको अनौठो प्रतिभा भएका स्थानीय वैज्ञानिकको बारेमा राजाले जानकारी पाए पछि दलवीरलाई बोलाइयो । राजा महेन्द्रको दर्शनभेटमा राजाले रु ४०० बख्शिस दिए । राजाको दर्शनभेट तथा बख्शिस पाएपछि दलवीरमा अझ बढी उत्साह थपियो ।

उनको प्रतिभा र लगनशीलता देखेर राजाले सुर्खेतको विकासमा सहयोग पुग्ने भन्दै दलवीरलाई जिल्ला पञ्चायतमा जागिर दिलाइदिए । केवल ३ कक्षासम्म पढेका दलवीरलाई राजाको आदेशपछि उनको काम र सिपअनुसारको काम दैलेख जिल्ला पञ्चायतले उनलाई सव-ओभरशियरको जागिर लगाइदिए । पुल बनाउने राम्रो ज्ञान भएको हुँदा उनको जिम्मामा झोलुङ्गे पुलसम्बन्धी कामको थियो । सबै काममा केवल पढाइले मात्र हुँदैन । अनुभव र ज्ञान पनि हुनुपर्छ । यो दुवै दलवीरको साथ थियो, थिएन त केवल पढाइ । कनीकुथी अक्षर पढ्न र लेख्न जानेकै थिए, तर इञ्जिनियर पढेकै थिएनन् । तर पनि सव-ओभरसियरको रुपमा जागिर पाए ।

यसको केही समयपछि नेपालमा अमेरिकी पिसकोर भोलेन्टियरहरूको आगमन हुन थालेको थियो । पिसकोरको आगमनको क्रममा २०२४ सालमा अमेरिकी विद्यार्थी एलेन फेयरबैंक सुर्खेत आइपुगे । पुलसम्बन्धी ज्ञान भएका एलेन सुर्खेतमा पुगेपछि दलवीरको साथीको रूपमा सँगै काम गर्न थाले । एलेनसँग रहँदा नै जिल्ला पञ्चायतका सव-ओभरसियर जागिरे भएपछि उनको निरीक्षणमा दैलेख जिल्लाको ढुङ्गेश्वर खोलाको झोलुङ्गे पुल, दैलेखकै चुप्रामा लोहोरी खोलाको झोलुङ्गे पुल, दैलेखकै छामघाट खोलाको शिरस्थानको झोलुङ्गे पुल, रावतकोटको किटुलामा पर्ने छामघाट खोलाको झोलुङ्गे पुल, दैलेखको सिमानामा पर्ने लोहोरे खोलाको झोलुङ्गे पुल तथा दैलेखकै चोर खोलमा बनाइएको झोलुङ्गे पुल पनि बनाइएको थियो । छामघाट खोलाको झोलुङ्गे पुल बनाउने सामग्री खरिदको लागि भने दलवीर कानपुर पनि पुगेका थिए ।

सुर्खेतमा अमेरिकी नागरिक एलेनले चार वर्ष दलवीरसँग बिताए । दलवीरको क्षमता देखेर एलेन पनि निकै चकित भएका थिए । एक पटक एलेनको टाइपराइटर बिग्रेर निकै दुःख दियो । दलवीरले म एक पटक हेरिदिन्छु भने । एलेनलाई लागेको थिएन दलवीरले टाइपराइटर मर्मत गर्न सक्छ भन्ने । दलवीर एकैछिन टाइपराइटरमा घोत्लिए । त्यसपछि एउटा दाँती देखाउँदै भने- यसको एउटा दाँत भाँच्चिएको छ त्यसैले काम गरेको छैन । त्यसपछि आरनमा गएर उस्तै नयाँ दाँती बनाएर टाइपराइटरमा फिट गराइदिए । टाइपराइटर नयाँ जस्तै काम गर्न थाल्यो । बिहान ९ बजेपछि जागिरको तैयारीमा लाग्नुपर्ने हुँदा गाउँघरका बिग्रेका सामानहरू उनले बिहान ६ देखि ९ बजेसम्म बनाउन बस्दथे । पछि अर्का पिसकोर भोलेन्टियर बब डेभिस आएका थिए । उनको साथ पनि दलवीरले पुल बनाउने काममा रहे । जिल्ला पञ्चायतमा जागिरे रहँदा उनकै निगरानीमा सुर्खेतदेखि दैलेख हुँदै जुम्लासम्मको मोटर बाटोको रेखाङ्कन पनि भयो । सुर्खेत-नेपालगञ्जको मुख्य सडकको रेखाङ्कनको काम पनि पूरा गरेका थिए ।

जागीर रहँदा दलवीरको शान नै अर्कै थियो

यसरी जागिरे भएपछि दैलेख र सुर्खेका विभिन्न स्थानमा पुगिरहन्थे । फुर्सदमा घरमा रहँदा पनि वहाँ केही न केही बनाउने काममा लागिरहन्थे । फलामका सामग्रीदेखि लिएर सुनका गहनासम्म बनाउन जानेका थिए । सेनाको बन्दुक देखि लिएर सरकारी कार्यालयमा बिग्रेका टाइपराइटर, पेट्रोमेक्स पनि बनाउन जानेका थिए । आधुनिक इलेक्ट्रिक सामानहरूको साथै घडी, रेडियो र सेनाको बिग्रेको आवा सेट पनि वहाँले बनाइदिने गर्नुहुन्थ्यो ।

एकपटक दैलेखको ताराघाटमा पुगेको सेनाको हेलिकोप्टर बिग्रेर उडाउन सकिएन । त्यस दुर्गम स्थलमा कोही इञ्जिनियर वा दक्ष मेकानिक्स भेट्ने सम्भावना थिएन । सेनाका उच्चपदस्थ सैनिक अफिसरले बहुप्रतिभा भएका दलवीरलाई सम्झिए । उनलाई ताराघाटमा बोलाए । दलवीरको बुद्धिमत्ताले वा दक्षताले वा संयोगले हेलिकोप्टर चालु भयो । उडान गरेर सुर्खेत गुल्ममा ल्याइयो । यसपछि सैनिक गुल्मभित्र हेलिकोप्टर पनि बनाउन सक्ने दलवीर भनेर नाम कहलियो ।

नयाँ नौलो काम गरिरहनु हुने दलवीरले सुर्खेतको इत्राम खोलामा पानीबाट चल्ने मिल बनाएर चलाएर देखाएका थिए । ज्वाला दल गुल्म, दैलेखमा कुनै पनि सामानको मर्मत गर्नुपरेमा पनि दलवीरलाई नै खोजिन्थ्यो । दलवीरको हात परेपछि सबैजसो सामग्री बन्थ्यो पनि ।

दलवीरको श्रीमती मोतीसरालाई एलेनले दिदी बनाएका थिए । भाइको अचानक देहान्त भएपछि रोइरहेकी मोतीसरालाई एलेनले सम्झाउँदै भनेका थिए, ‘तपाईं भाइ गुमेकोमा चिन्ता नगर्नु, म तपाईंको भाइजस्तै हो । अबको तिहारमा मलाई भाइटीका लगाइदिनु ।’ नभन्दै मोतीसराले एलेनलाई टीका लगाइदिए । दिदी-भाइको नाता कायम रह्यो । चार वर्ष सुर्खेतमा सँगै बिताएका एलेन पिसकोरको तालिमपछि पनि दुई पटक नेपाल आए । सुर्खेतमा दिदीको घरमा बसे । मिठो-नमिठो जे पाक्यो खाए । दिदी मोतीसराको देहान्तपछि भने एलेन नेपालमा फर्केर आएका छैनन् ।

दलवीरका साथी अमेरिकी पिसकोर भोलेन्टियर एलेनले दलवीरको बारेमा लेखेको लेख

राजा महेन्द्रको स्वर्गारोहणपछि नयाँ राजा बनेका राजा वीरेन्द्रको पश्चिम नेपाल भ्रमण हुने भयो । जुम्लामा हेलिकोप्टरमा पुगेका राजा सुर्खेतमा केही समय बिताउने गरी सवारी हुने भयो । त्यसबेला सुर्खेत गुल्मका बाहिनीपति हुनुहुन्थ्यो आदित्यशम्शेर जबरा । आदित्यशम्शेर राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पनाति हुनुहुन्थ्यो । वहाँको बुबा मृगेन्द्रशम्शेर राणाकालमा शिक्षा विभागका डाइरेक्टर हुनुहुन्थ्यो भने बाजे बबरशम्शेर २००७ सालपछि पहिलो रक्षामन्त्री बनेका थिए । आदित्य शम्शेर पछि राजा वीरेन्द्रका एडिसीको रूपमा कार्यरत रहेका थिए । साथै आदित्यशम्शेरका छोरा गौरवशम्शेर शाही नेपाली सेनाका सेनापति भए ।

नवराजाको सुर्खेत बसाइ हुने भए पछि गुल्मका बाहिनीपति आदित्यशम्शेर चिन्तित थिए । बाहिनीपति आदित्यशम्शेरले दलवीरलाई स्वागतद्वारको सजावत, स्वागत मञ्चको सजावत तथा राजालाई चढाउने उपहारको जिम्मा पनि दलवीरलाई दिए । दलवीरले पनि सजावतको सम्पूर्ण काममा सहयोग गरे । साथै राजालाई दिइने उपहार दलवीर आफैले तीन महिना लगाएर बनाइदिए ।

राजाको फिर्ती सवारीपछि बाहिनीपति आदित्य शम्शेरले दलवीरलाई बख्सिस दिए भने साथमा भर्खरै हुर्कदै गरेका छोरा श्यामलाल सुनारलाई सेनामा भर्ना गराइदिए । छोरो सेनामा भर्ती भएपछि दलवीर अत्यधिक खुशी भए । यसरी अत्यधिक खुशियालीको क्षण लामो रहन पाएन ।

जागिरकै काममा २०३० सालको वैशाखमा सुर्खेतदेखि पूर्वमा पर्ने बादेपिपलमा भेरी नदीमाथि झोलुङ्गे पुल बनाउन निस्केका दलवीर वि.सं. २०३० वैशाख १९ गते राती सुतेका थिए । बिहानै साथीहरूले हेर्दा ओछ्यानमा दलवीर थिएनन् । अचानक बिहानै हराएका दलवीरको खोजी भयो । खोज्दै जाने क्रममा बादेपिपलको नजिकै रहेको वागेश्वरी विद्यालयअगाडिको चौतारोमा झुण्डिएको अवस्थामा मृत शव भेटियो । निकै हल्लाखल्ला भयो । धेरैले आत्महत्या हुनै नसक्ने यो कसैले गरेको हत्या हो भने । पर्याप्त प्रमाणहरूको अभावका कारण छानविन भएन । भर्खरै सेनामा जागिर खाएका श्यामलाल छुट्टी लिएर बुबाको कृया गर्न आइपुगे । स-साना भाइहरूलाई कसले सम्हाल्ने भन्ने चिन्ता थियो ।

दलवीरका छोरा, बुहारी तथा नातिनातिनीहरु

सधैं सरकारी काम भन्दै दौडिरहने दलवीरको कुनै राम्रो गृहस्थ थिएन । न त पक्की घर न त पर्याप्त खेत नै थियो । दुःखकष्टले दुई छाक टार्दै छोराहरू र श्रीमतीको लालनपालन गरिरहेका दलवीरको परिवारमा अचानक बज्रपात आइपऱ्यो कसैले सल्लाह दिए, राजालाई बिन्तीपत्र चढाउने ।

दलवीरकी श्रीमती मोतीसरा सुनारले लेख्न जान्नेको सहयोगमा राजामा बिन्तीपत्र चढाइन् । छिट्टै नै राजाको आदेश अञ्चलाधीश कार्यालय आइपुग्यो, ‘दलवीरको परिवारलाई निःशुल्क घडेरी र घर बनाउन खर्च दिनु ।’ तत्कालिन अञ्चलाधीश ऋतुवर्ण तुम्बाहाम्फेले दलवीरका श्रीमती मोतीसरा सुनारलाई बोलाएर तत्कालिन जिल्लापञ्चायतका सभापति तुलसीप्रसाद सापकोटालाई राजाको आदेशअनुसारको काम गर्न लगाए । सभापति तुलसीप्रसाद सापकोटाले सुर्खेतका सबै अड्डाप्रमुखहरूको अगाडि २०३१ सालको वैशाख १५ गते जिल्ला बैठकपछि घडेरी र घर बनाउने खर्च पाउनुहुनेछ भन्ने अभिव्यक्ति दिए । सरकारको आदेश अञ्चलाधीशले सुनाउनु भएपछि तपाईंहरूले जसरी नि पाउनुहुन्छ भनिएको थियो । तर त्यो घडेरी र घर बनाउने रकम कहिल्यै पाइएन । अनपढ मोतीसराको जाली ल्याप्चे लगाउन लगाएर ती सभापति वा अन्यले घडेरी र रकम कुम्ल्याए या दिने सुरसार नै गरेनन् थाहै भएन । दुःखमा आँसु बगाउँदै मोतीसराले छोराहरू हुर्काइन् । सरकारबाट घडेरी र पैसो पाउने आशा बोकेका मोतीसराको पनि २०५९ सालमा मृत्यु भयो ।

छामघाट खोलाको पुलको उद्घाटनको समय