‘दश लाखको बलात्कार’मा एसएसपीलाई सफाइ

‘दश लाखको बलात्कार’मा एसएसपीलाई सफाइ



स्कुटरमा एसएसपी भेट्न पोखरा पुगेकी महिलालाई भएन कारवाही

उनले ‘तपाईंको बेइज्जत गराइदिन्छु, तपाईंका आइजीपी शैलेन्द्र खनाल र रेणु दिदी (भरतपुरकी मेयर)सँग मेरो राम्रो सम्बन्ध छ, उनीहरूलाई तपाईंले मलाई बलात्कार गर्नुभो भनिदिन्छु’ भन्न थालिन् । ‘तिमीलाई चाहिएको कुरा भन, तर मेरो बेइज्जत नगर’ भनेपछि उनले १० लाख रूपैयाँ मागिन् ।

आफूसँग वर्षौंदेखि परिचित महिलाले दिनभरी सँगै बसी मदिरा सेवन गर्दै शारीरिक सम्बन्ध राखेर पैसाको बार्गेनिङ नमिलेपछि बलात्कारको आरोप लगाइएका सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र अधिकारीले अदालतबाट सफाइ पाएका छन् । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बलको हुल तथा दङ्गा ब्यवस्थापन शिक्षालयका प्रमुख रहेका उनी काठमाडौं सरुवा भएर फर्कने तयारी गरिरहेका बेला २०७७ साल असार ३१ गते बुधबार बलात्कारको मुद्दामा थुनामा परेका थिए ।

चितवनदेखि स्कुटर चढेर आफूलाई भेट्न पोखरा आएकी महिलाले बलात्कारको उजुरी हालेपछि उनी थुनामा परेका थिए । पीडित भनिएकी महिलाले पछि ‘मलाई बलात्कार भएको होइन, म घर फर्कन लाग्दा सर कोठामा नहुनुभएको र ढोका खोल्न लाग्दा उल्टो लक भएकोले नखुलेर मैले आत्तिएर प्रहरी कन्ट्रोलमा फोन गरी के गर्दा चाँडै प्रहरी आएर ढोका खोलिदेला भनी सोचेर बलात्कार भयो भनिदिएको’ भन्ने बयान दिएकी थिइन् । डीएनए परीक्षणका लागि अस्पताल पु¥याइएकी ती महिलाले लगाएको पिंक रङ्गको पेन्टी पछि नभेटिएको फैसलामा उल्लेख छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले मुद्दाको पैसला गर्दै बलात्कार के हो र कस्तो अवस्थामा, कसरी जबर्जस्ती भएको कुरालाई बलात्कार भनिन्छ भनी बलात्कारको ब्याख्या पनि गर्नुभएको छ । एसएसपी मुद्दामा सहमतिको सम्बन्ध देखिएको र, सहमतिको सम्बन्ध र बलात्कार फरक कुरा भएको पनि उल्लेख छ । फैसलामा अभियोजन पक्षले सरकारी साक्षीका रूपमा प्रस्तुत गरेका घटनास्थल, मुचुल्कामा सही गर्ने ब्यक्तिहरूले अदालतमा आइ बकपत्र गर्दा वारदात सम्बन्धमा आफूहरूलाई थाहा नभएको बताएको, घटनास्थलबाट कुनै होहल्ला या आवाज नआएकोलगायतका तथ्यहरू उल्लेख गर्दै प्रतिवादीउपर अभियोग दाबी नपुगेकोले सफाइ दिइएको उल्लेख गरिएको छ ।

पीडितको नाम गोप्य राख्ने अदालतको नियमअनुसार, ती महिलाको नाम ‘पोखरा-१३०’ राखिएको थियो । ती महिलाले दिएको सुरुवाती बयानमा भनिएको छ– ‘मसँग एसएसपीको पूर्व चिनजान भइ मलाई साली भनेर बोलाउनुहुन्थ्यो । मेरो पोखरा आउने काम परेकोले फोन गर्दा म पनि सरुवा भएर जाँदैछु, मेरो निवासमा आउ, सँगै खाना खाउँला भन्नुभएकोले चितवनबाट स्कुटीमा उहाँको निवास लामापाटन गएकी हुँ । त्यतिबेला उहाँले रक्सी खाएजस्तो लागेको थियो । हामी दुई जनाले सँगै खाना खाएपछि उहाँले आफ्नो सुत्ने कोठा तथा बिस्तरा देखाउने बहानामा जबर्जस्ती बिस्तारामा तानी बलात्कार गर्नुभयो र रुमालले बिर्य पुछी मलाई बाथरुममा पठाउनुभयो । मैले बाथरुममा भएको स्प्रे धाराको पानीले गोप्य अङ्ग धोएकी हुँ ।’

एसएसपी अधिकारीले दिएको बयान यस्तो छ- ‘मैले उनलाई फोनमार्फत चिनेर फोन, भाइबर, म्यासेन्जर समेतबाट अडियो, भिडीयो कलमार्फत बोल्ने, जिस्कने गर्दथ्यौँ । यसै क्रममा मायाप्रेम बसी माया प्रेमका शब्दहरूको आदान प्रदान पनि हुने गरेको थियो । उनले हजुर पोखरा भएकै बेला भेट्न आउँछु भनेकोले मैले हुन्छ भने । उनी पोखरा आइपुग्दा म निवासमा थिइनँ, उनैले फोनमा भान्जी भेट्न आएकी छन् भनेर गेटमा भनिदिनु भनिन् र मैले गेटमा भान्जी नभनी मेरो गेष्ट आएकी छन्, भित्र राख्नु भनेँ । उनी मेरो निवासमा आइपुग्दा बिहानको सवा ९ बजेको थियो । म निवासमा पुगेर बैठकमा हामी दुई एकछिन बसेपछि उनले बिस्तरामा आराम गर्ने भनी मेरो कोठामा गइन् । केही छिनपछि मलाई भित्र बोलाएर उनी नै मलाई छुन, लडीबुडी गर्न आएकी हुन् । मेरो ओठ, मुख र गालामा किस खान खोजेपछि मैले सरकारी कार्यालय हो यस्तो नगरौँ भनेको थिएँ ।’

उनको बयानमा भनिएको छ- ‘पछि उनले तपाईंको बेइज्जत गराइदिन्छु, तपाईंका आइजीपी शैलेन्द्र खनाल र रेणु दिदी (भरतपुरकी मेयर)सँग मेरो राम्रो सम्बन्ध छ, उनीहरूलाई तपाईंले मलाई बलात्कार गर्नुभो भनिदिन्छु भन्न थालिन् । तिमीलाई चाहिएको कुरा भन, तर मेरो बेइज्जत नगर भनेपछि उनले १० लाख रूपैयाँ मागिन् । पैसा नभएकाले म तनावमा परेँ र, एकछिन बस्दै गर म पैसा खोज्न जान्छु भनेर निस्किएँ । धेरै तनाव भएकोले मैले निवासमै बोतलमा भएको रक्सी खाएँ । बाहिर निस्किएर सप्रनाउ मोहन न्यौपानेलाई म फसेँ, मकहाँ आएकी केटीले १० लाख मागीरहेकी छे, दिइन भने बेइज्जत गर्छु भन्छे, पैसा छैन के गरुँ भनेँ । डीएसपीसँग पनि कुरा गरेँ । उनीहरू दुवैले यो केस अब हजुर आफैंले सल्ट्याउनु पर्छ भने । म निवाससँगैको झाडीमा बसेर अब के गरौँ भनेर सोचिरहेको थिएँ, प्रहरी आएर मलाई पक्रिए ।’

२०७७ साल चैत्र २६ गते एसएसपीले सफाइ पाएको जिल्ला अदालतको फैसलापछि उनको रोक्का भएको सम्पत्ति फुकवा भएको छ । पक्राउ परेको दिन नै आत्महत्या गर्छु भनेपछि उनलाई कडा निगरानीमा राखिएको थियो । उक्त घटना हुँदा उनको काठमाडौ सरुवा भइसकेको थियो । केही महिनापछि उनले सेवाबाट अवकाश पाउँदै थिए । सशस्त्र प्रहरीको उच्च ओहदामा पुगेको ब्यक्तिले ब्यारेकमा बाहिरबाट महिलालाई बोलाई सम्बन्ध राख्नु आफैमा अनैतिक कार्य थियो । तर सहमति र जबर्जस्ती करणीको फरक नछुट्याइ बलात्कार मुद्दा भन्दै गोलमटोल निर्णय भएको भए उनले कम्तिमा १० वर्ष जेल बस्नुपर्ने थियो । बलात्कार जस्तो संवेदनशील कुरालाई बार्गेनिङ्गको आधार बनाउन खोज्ने ती महिलालाई सजायको भागीदार बनाइनु पथ्र्यो, तर ती महिलाका विषयमा फैसला मौन छ ।

न्यायाधीश श्रीकृष्ण भट्टराईले गर्नुभएको यो फैसलाले कसैले ममाथि बलात्कार भयो भनेर उजुरी गर्दैमा सहमतिमा राखिएको सम्बन्ध बलात्कार हुँदैन भन्ने सन्देश दिएको छ । यसअघि भक्तपुर जिल्ला अदालतमा हुँदा न्यायाधीश भट्टराईले बाबुले छोरी बलात्कार गरेको मुद्दामा बलात्कारीलाई २२ वर्ष जेल सजाय र पीडितलाई सरकारबाट ३ लाख रूपैयाँ क्षतिपूर्ति तथा पीडितकी आमालाई जागिरको ब्यवस्था गरिदिनुभएको थियो । यस्तै, आफ्नै भाइले दिदीलाई बलात्कार गरेको मुद्दामा पनि हाडनाता करणीसहितको सजाय जोडेर २२ वर्ष जेल सजायको फैसला गरी पीडितलाई सराकारबाट तीन लाख रूपैयाँ क्षतिपूर्ति दिलाउनुभएको थियो ।