बेल्जियमका बाढीपीडितलाई एनआरएन बेल्जियमले आर्थिक सहयोग गर्ने

बेल्जियमका बाढीपीडितलाई एनआरएन बेल्जियमले आर्थिक सहयोग गर्ने


  • सनत आचार्य, बेल्जियम

गैरआवासीय नेपाली संघ बेल्जियमले बेल्जियमको दक्षिणी भाग वालोनिया क्षेत्रमा आएको बाढीबाट पीडितहरूका लागि रेडक्रसमार्फत २५०० युरो आर्थिक सहयोग प्रदान गरेको छ ।

गत जुलाई दोश्रो साताको अविरल वर्षाका कारण भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै संघले सहयोग प्रदान गरेको हो ।

गत बिहीबार लुभेनमा आयोजित एक कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष खड्गबहादुर केसीले लुभेनका मेयर मोहम्मद रिडवानीलाई उक्त सहयोग चेकमार्फत हस्तान्तरण गर्नुभएको छ ।

आर्थिक सहयोग ग्रहण गर्दै मेयर रिडवानीले बेल्जियममा आएको प्राकृतिक दुःख पीडामा प्रवासी नेपालीहरूले गरेको आर्थिक सहयोगको प्रशंसा गर्दै आफूहरूले पनि महाभुकम्पको बेला नेपाललाई सक्दो सहयोग गरेको स्मरण गर्नुभयो ।

विपद्मा दुई देशका नागरिकहरूले सहयोग आदानप्रदान गर्नु राम्रो कुरा भएको उल्लेख गर्दै मेयर रिडवानीले लुभेनमा १६७ देशका मानिस बसोवास गर्ने र त्यसमध्ये नेपालीहरूले होटल तथा रेष्टुरेण्ट व्यवसायमा राम्रो लगानी र थुप्रै रोजगारीको अवसर सृजना गरेकाले नेपाली समुदायको यो सफलता आफूहरूको लागि विशेष भएको धारणा राख्नुभयो । उहाँले आपतविपतमा मिलेर काम गर्दा सन्तुष्टि मिल्ने र राम्रो हुने सुझाव पनि दिनुभयो ।

स्मरण रहोस्, संघले तत्काल सहयोग गर्न कोषाध्यक्ष पुष्प नेपालको संयोजकत्वमा समिति गठन गरी अर्थ संकलन अभियानलाई अगाडि बढाएको थियो ।

त्यस्तै, संघका अध्यक्ष केसीले प्रवासी नेपालीहरूले आफ्नो कर्मथलोमा आएको दैवीप्रकोप तथा उत्पन्न पीडामा भावनात्मक रूपले जोडिएर स्वस्फुर्त रुपमा थोरै भए पनि विशेष सहयोग गरेकोमा दाता तथा सहयोगीहरूप्रति आभार प्रकट गर्नुभयो ।

मातृभूमि र कर्मभूमिलाई सहयोग गर्ने सबैको साझा दायित्व भएको बताउँदै अध्यक्ष केसीले यो बेला रकमको मात्रा भन्दा पनि भावना र उद्देश्य ठुलो रहेको बताउनुभयो । उहाँले पवित्र काममा आफुहरूले सहयोग गर्न पाउँदा उत्साहित बनेको उल्लेख गर्नुभयो ।

राहत संकलन समितिका संयोजक एवं संघका कोषाध्यक्ष पुष्प नेपालले थोरै समयमा पनि संघका पंजिकृत सदस्य र अन्य शुभचिन्तक सहयोगी प्रवासी नेपालीहरूले अधिकतम २०० देखि न्यूनतम १० युरोसम्म बाढि पीडितहरूका लागि सहयोग गरेको जानकारी दिनुभयो ।

उहाँले यो सहयोग छोटो अवधिमा प्रवासी नेपालीहरूले गरेको र अझै आफूले प्रतिबद्धता जनाएको केही रकम कोषमा जम्मा हुन बाँकी रहेको जानकारी दिँदै सबै रकम आएमा अझ बढी सहयोग गर्न सकिने बताउनुभयो ।

नेपालले हाल रेडक्रसमार्फत बाढीपीडितको सहयोग गर्ने अभिप्रायले हाल २५०० को चेक मेयरमार्फत प्रदान गरिएको र बाढीग्रस्त क्षेत्रमा खाद्यान्नलगायत अन्य राहत सामग्री तत्काल वितरण गरिने जानकारी दिनुभयो ।

गत जुलाई दोश्रो साता बेल्जियमको दक्षिणी भेग वालोनियामा आएको वर्षाका कारण ३७ जनाको मृत्यु भएको थियो भने अझै चर जना बेपत्ता रहेको सरकारी तथ्याङ्क छ । उक्त बाढीमा हज्जारौँ घर डुबानमा परेका थिए भने सो क्षेत्रमा अझै उद्धार र सहयोग कार्य जारी छ ।

बेल्जियमका प्रधानमन्त्रीले आलेक्स आन्दर डे क्रोले समेत अन्तर्राष्ट्रिय समुदायलाई समेत सहयोग गर्न अपिल गरेका थिए ।

बिहीबारकै दिन नेपाली युवाहरूको एक समुह डुबान क्षेत्रमा पुगी घरहरूभित्र जमेको लेदो माटो फालेर सहयोगसमेत गरेका थिए ।