खेलाडीको रूपमा ठगिएका ‘नमोराज’ प्रशिक्षकमा उत्कृष्ट

खेलाडीको रूपमा ठगिएका ‘नमोराज’ प्रशिक्षकमा उत्कृष्ट


राष्ट्रिय च्याम्पियन बनेपछि उसुमा नमोराजको चर्चा चुलियो । उनी रातारात स्टार खेलाडी बन्दा अन्तर्राष्ट्रि स्तरमा प्रतिस्पर्धा गर्ने ढोका समेत खुल्यो । उसुमा बगाएको पसिना र सुकाएको रगतले सार्थकता पाउँदा र नतिजा परिणामुखी बन्दा नमोराज दङ्ग थिए । उनलाई संसार जितेको जस्तो अनुभव भयो ।

  • श्रीविक्रम भण्डारी

त्यसबेला नेपालमा ब्रुस्लीसँगै कङ्फूको प्रभाव दिनप्रतिदिन बढ्दै थियो । ब्रुस्लीको फिल्म नहेर्ने र कङ्फूको चर्चा नगर्ने प्राय व्यक्ति भेटिँदैनथे । १० वर्षको उमेरमा उनलाई पनि ब्रुस्लीको फिल्म हेर्न अवसर जुर्‍यो । फिल्ममा ब्रुस्लीले गरेको हाउभाउ तथा ‘एक्सन’ले उनको मनलाई छोयो । बालसुलभ चञ्चले मन कुमालेको माटो जस्तै थियो, जुनसुकै आकारमा ढाल्न सकिने ! र, उनले मार्शल आर्टस्मा आफ्नो भविष्य देखे । आफ्नो खेलजीवन फुटबलबाट शुरु गरे पनि ‘कङ्फू’बाट प्रभावित उनले त्यसपछि ‘उसु’ खेल रोज्न पुगे, जुन आफैमा चुनौतीपूर्ण थियो । तर कलिलो उमेरमा जुन आँट-साहस उनले देखाए त्यो आफैमा तारिफयोग्य थियो । सही समयमा सही निर्णय गरेकै कारण उनी अर्थात् नमोराज लामा अहिले उसुका सफल खेलाडी र उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन् ।

मात्र १० वर्षको उमेरमा उसुलाई रोजेका नमोराजलाई चर्चित प्रशिक्षक प्रदीप लामाले पहिलो पटक उसुको प्रशिक्षण दिएका थिए । प्रदीपसँग नमोराजले तीन वर्षसम्म बौद्ध तीनचुलेको चौरमा प्रशिक्षण गरे । त्यतिबेला उसु खेल प्रतिबन्ध थियो भने राष्ट्रिय खेलकुद परिषद्मा दर्ता समेत भएको थिएन । वि.सं. २०४४ सालमा उसु वैधानिक रूपमा राखेपमा दर्ता भएपछि नमोराजले पहिलो पटक दशरथ रङ्गशालामा गएर प्रशिक्षण गर्ने अवसर पाए । त्यहाँ उनलाई चन्द्र लामा र रामगोपाल महर्जनले प्रशिक्षण दिएका थिए ।

आफ्नो खेलप्रति निकै समर्पित लामाले मेहनतका साथ प्रशिक्षण गरे पनि लामो समयसम्म राष्ट्रिय स्तरका प्रतियोगितामा प्रदर्शन गर्नबाट वञ्चित हुनुपर्‍यो । किनभने त्यसबेला उसुका प्रतियोगिता निकै कम हुन्थे । रङ्गशालामा २०४५ सालदेखि प्रशिक्षण गरे पनि ७ वर्षपछि पहिलो पटक नमोराजले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाए । पहिलो प्रतिस्पर्धा नमोराजलाई कुनै अनुभव थिएन । र पनि नमोराजले २०५१ सालमा दमौलीमा आयोजना भएको दोश्रो राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सहभागितामै तेस्रो भए । यो प्रदर्शनपछि निकै उत्साहित नमोराजले २०५२ सालमा पाल्पामा आयोजना भएको तेस्रो राष्ट्रिय उसु प्रतियोगितामा सर्वोकृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नुको साथै उसुको उदीयमान खेलाडीको रूपमा आफूलाई अग्रपङ्क्तिमा उभ्याए ।

राष्ट्रिय च्याम्पियन बनेपछि उसुमा नमोराजको चर्चा चुलियो । उनी रातारात स्टार खेलाडी बन्दा अन्तर्राष्ट्रि स्तरमा प्रतिस्पर्धा गर्ने ढोका समेत खुल्यो । उसुमा बगाएको पसिना र सुकाएको रगतले सार्थकता पाउँदा र नतिजा परिणामुखी बन्दा नमोराज दङ्ग थिए । उनलाई संसार जितेको जस्तो अनुभव भयो । सफलताले गौरवान्वित बनेका नमोराज नौलो भविष्यको सपना देख्दै थिए- ‘अब देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउँछु भनेर ।’ तर दुर्भाग्य उनको सपना सपनामै सीमित बन्न पुग्यो । मोटरसाइकल दुर्घटना उनको लागि अभिसाप बन्यो, जसले उनको सक्रिय खेल जीवनमा पूर्णविराम लगाइदियो । उनको खुशीमा ठूलो कुठाराघात भयो ।

मोटरसाइकल दुर्घटनमा परि पेटमा रगत जमेपछि नमोराजले नचाहँदानचाहँदै पनि सक्रिय खेल जीवनबाट १० वर्ष टाढा हुनुपरे पनि राखेपको ज्यालादारी जागिरले उनालाई खेलकुदसँग जोडिराख्यो । २०५२ सालदेखि राखेपमा ज्यालादारीको जागिर पाएका नमोराजले सोही समयदेखि उसु सिक्न आउने नयाँ खेलाडीलाई प्रशिक्षण दिन थाले । प्रशिक्षणमा खारिँदै गएपछि बिस्तारै बिस्तारै राष्ट्रिय खेलाडीलाई प्रशिक्षण दिँदै नमोराज अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नसमेत सफल भए । वर्तमान अवस्थामा पनि राष्ट्रिय टीममा आवद्ध नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल र अन्य राष्ट्रिय खेलाडीहरूलाई उनले प्रशिक्षण दिइरहेका छन् । उसु खेलको समग्र विकास र बिस्तारका लागि उनले धरान, धनकुटा, सुर्खेत, धनगढी, चितवन र काभ्रेमा गएर समेत प्रशिक्षण दिइसकेका छन् ।

खेलाडीको रूपमा मुलुकलाई अन्तर्राष्ट्रिय पदक दिलाउने चाहना हुँदाहुँदै पनि आफ्नो इच्छामा तुषारापात भएपछि नमोराजले प्रशिक्षकको मार्गलाई चुन्दै दोश्रो रनिङको शुभारम्भ गरे । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको उसुको रेफ्री सेमिनार गोष्ठीमा सहभागिता जनाउने अवसर पाए । त्यसको दुई वर्षपछि अर्थात् २००८ मा चीनको वुहानमा आयोजित अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा सहभागिता जनाउँदै त्यहिबाट ‘बी’ लाइसेन्स लिए । लाइसेन्स प्रत्येक चार वर्षमा नवीकरण गर्नुपर्ने बाध्यताअनुसार इन्डोनेसियाको बालीमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिता जनाउँदै उसुका सबै विधामा उत्तीर्ण भएर ‘बी’ बाट ‘ए’ लाइसेन्स प्राप्त गर्न नमोराज सफल भए । यसरी खेलाडीको रूपमा भाग्यले ठगिए पनि प्रशिक्षक रूपमा भने उनी सफल हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कुशल प्रशिक्षक र जज बन्न सफल भए । यो उनले हासिल गरेको दस्तावेजले पनि प्रस्ट रूपमा देखाउँछ ।

सरल र शालिन स्वभावका नमोराज खेलकुदमा हुने छलकपट र राजनीतिबाट अनविज्ञ छन् । खास रूपमा भन्नुपर्दा यस्ता झमेलाबाट उनी धेरै टाढा छन् । तर उनलाई आफ्नो कर्तब्य वा जिम्मेवारी के भन्ने राम्रोसँग थाहा छ । त्यसैले उनी अहिले पनि आफ्नो जिम्मेवारीलाई दत्तचित्त र पूर्ण अनुशासनका साथ निभाउँदै आएका छन् । परिणामतः एसियाली खेलकुद जस्तो अफिसियल प्रतियोगितामा ‘जज’को भूमिका निर्वाह गर्ने सौभाग्यसमेत उनलाई प्राप्त भइसकेको छ । नमोराज सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन शहरमा आयोजना भएको एसियाली खेलकुदमा पहिलो पटक जज बन्ने मौका पाएका थिए, सो जिम्मेवारी उनले निकै कुशलताका साथ निभाएका थिए पनि । त्यस्तै सन् २०१० मा ग्वान्झाउमा भएको एसियाली खेलकुद प्रतियोगितामा उनले राष्ट्रिय उसु टिमको प्रशिक्षक भूमिकामा देखिएका थिए । आफ्नै प्रशिक्षण र आफै प्रशिक्षक रहेको उसु खेलाडीले उक्त एसियाडमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको नमोराजले दाबी गरे । नमोराजका अनुसार त्योभन्दाअघिका एसियाडमा कुनै पनि उसुका खेलाडीले एक राउण्ड पनि जित्न सकेका थिएनन् । ग्वान्झाउ एसियाडमा भने पुरुषतर्फ भूषण बज्राचार्य र महिलातर्फ झरना गुरुङले एक/एक वाउट जितेका थिए । यो सीमित साधनस्रोत भएको हाम्रो जस्तो देशका लागि ठूलो उपलब्धि हो ।

उसु खेलको विकास र विस्तारमा दत्तचित्त भएर लागेका नमोराजका थुप्रै अविष्मणीय क्षण छन् । उनी आफूले उसु खेलमा गरेको हरेक सङ्घर्षलाई अविष्मणीय क्षण भएको बताउँछन् । तीमध्ये पनि उनले एउटालाई सर्वोकृष्ट मानेका छन्, त्यो हो- सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगिता । उक्त एसियाडमा नमोराजले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक (जज) को भूमिका निभाउने अवसर पाएका थिए । उनी भन्छन्, ‘आफ्नो राष्ट्रको नाम राख्न पाउँदा त्यसबेला मैले अत्यन्त गर्वको महसूस गरेको थिएँ । त्यो मेरो खेल जीवनको सबैभन्दा उत्कृष्ट दिन थियो । साँचो रूपमा भन्नुपर्दा मलाई विश्वासै लागेको थिएन, म पनि एसियाडमा जज छु भनेर ।’

नेपालमा उसु खेललाई अन्तर्राष्ट्रिय खेलमा पदक जित्ने सम्भावित खेलको रूपमा गनिन्छ । तर विडम्बना, अहिलेसम्म उसु खेलको आफ्नो कवर्ड हल छैन । सम्बन्धित निकायले उसुलाई जसरी प्राथमिकतामा राख्नुपर्थ्यो त्यसो गरेको मैले अहिलेसम्म देखेको र पाएको छैन । खास रूपमा भन्नुपर्दा उसु भगवान्को भरोसामै चलेको छ भन्दा अन्यथा नहोला । अर्को कुरा, यस्तो विषम परिस्थितिमा पनि खेलाडीले जसरी मेहनत गरेर नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भए त्यो गौरवको कुरा बनेको छ । यसको लागि खेलाडीहरू धन्यवादका पात्र मात्र नभइ उनीहरूको जति प्रशंसा गरे पनि पुग्दैन । यदि सम्बन्धित निकायले उसुको समग्र विकास र विकासका लागि विशेष पहल गरेको खण्डमा यो भन्दा उत्कृष्ट प्रदर्शन गर्ने र सोहीबमोजिमको उत्कृष्ट नतिजा आउनेमा आफू विश्वस्त रहेको नमोराजले बताए । यो कुरालाई दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उसुले स्वदेश र विदेशमा जितेको स्वर्ण पदकले प्रमाणित गर्ने उनको दाबी छ ।