अनेसासद्वारा साहित्यिक कार्यक्रमको आयोजना

अनेसासद्वारा साहित्यिक कार्यक्रमको आयोजना


  • सनत आचार्य, बेल्जियम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमले १५५औँ मोती जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

बेल्जियमको लुभेन शहरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनवाट मन्तव्य दिँदै गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्गबहादुर केसीले कला, साहित्य देश र जनताको परिचय भएकोले अनेसासले प्रवासमा पनि नेपाली साहित्यलाई प्रसारप्रसार गर्ने काममा निरन्तर लागिपरेकोमा खुसी व्यक्त गर्नुभयो । सार्थक कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गर्दै अध्यक्ष केसीले समाजलाई जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

यस्ता कार्यक्रमहरूलाई आयोजकहरूले निरन्तरता दिनुपर्ने सुझाव दिँदै उहाँले एनआरएनए पनि यसप्रकारका साहित्यिक काममा सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- ‘साहित्य देश र जनताको सम्पत्ति भएकोले यसको संरक्षण र सम्बर्द्धन आजको आवश्यकता पनि हो । तसर्थ हामी सबैले यस प्रकारका कार्यक्रमलाई साथ, सहयोग र समर्थन गर्नु आवश्यक छ ।’

सभापतिको आसनबाट बोल्दै समाजका अध्यक्ष परमानन्द सापकोटाले मोतीजयन्ती समाजको वार्षिक कार्यक्रमभित्र पर्ने भएकोले यो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । आफूहरूले साहित्यिक क्षेत्रका क्रियाशील युरोपभरका स्रष्टा तथा कविहरूको कविता संग्रह प्रकाशन गर्न लागेको र यो अन्तिम चरणमा रहेको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा दीपेन्द्र केसीले मोतीको जीवनीका बारेमा प्रकाश पार्नुभएको थियो भने विमल गिरी, दीपेन्द्र केसी, मोहन खत्री, बलराम पुन, जिमी गुरुङ, संजय क्षेत्री, सौरभ रंजितकार, गोपाल दाहाल, लोकनाथ शर्मा र परमानन्द सापकोटाले कविता, गीत, मुक्तक र गजल वाचन गर्नुभएको थियो ।

समाजका अध्यक्ष परमानन्द सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा स्वागत भाषण उपाध्यक्ष मोहन खत्रीले र कार्यक्रम सञ्चालन सौरभ रञ्जितकारले गर्नुभएको थियो ।