धिक्कार छ-इन्द्रकुमार श्रेष्ठ

धिक्कार छ-इन्द्रकुमार श्रेष्ठ


सिंहदरबार धिक्कार छ, चिल्लो कार धिक्कार छ
एकपछि अर्को गरी आउने सरकार धिक्कार छ
वार्ता-बैठक धिक्कार छ, सहमति धिक्कार छ
सम्झौता र कुराकानी सबैलाई धिक्कार छ
योजनालाई धिक्कार छ, निर्णयलाई धिक्कार छ
अधिवेशन ‘तारे-बैठक’ तिनलाई पनि धिक्कार छ
आँसु पिउँदै, रगत पिउँदै बढ्नेलाई धिक्कार छ
भ्रम छरी लासमाथि चढ्नेलाई धिक्कार छ
ढाँट्नेलाई धिक्कार छ, काट्नेलाई धिक्कार छ
सबैलाई विश्वास गर्ने मलाई पनि धिक्कार छ
-कमलकुञ्ज, ओखलढुंगा

भूतपूर्व प्रेमिका-भक्तराज न्यौपाने
अनायास भेटिएकी थिई
चिसो हिउँदको एक दिन
भूतपूर्व प्रेमिका ।

बेवारिस दिनहरूबाट आजित
चक्रिय जीवनको यो मोडमा
ठूलै हलचल पैदा गर्नेगरी
उसैगरी उभिएकी थिई
जसरी प्रेमिल अतीतका स्मृतिमा उभिन्थी ।

श्वेत दन्तलहरबाट छाडेकी थिई मुस्कान
उसैगरी छड्के नजरले
प्रेमी पुरुषको वर्तमान र्सच गरेकी थिई
र हल्लाएकी थिई कालो कपाल
यो अन्तराल,
यो हिउँद, वर्षा
एउटा लामो निश्वास छाडेर
स्वप्न प्रदेशका कल्पनामा भावुक बनेकी थिई ।

झस्का सम्झनाहरू, स्मृतिहरू
दु:ख, सुखका अपरिमित चर्खाहरू
धेरै बेर एकोहोरो भएर
सोचिरहेकी थिई, गमिरहेकी थिई
बालवयका मिलन र ठट्टाहरू
लेक र बेसी, उकाली-ओरालीमा
हुर्किएका गाढा आफ्नोपन
माया र सम्झनाहरू
एक-एक रिलिज भएझैं बनाइरहेकी थिई

यात्रा अलग-अलग
बाँच्नुको परिधि फरक
वैयक्तिक जीवनको शैली भिन्नभिन्न
चाहेर पनि र्फकन नसकिने
एकता लामो अन्तरालको भङ्गालो
धेरै बेर
भावुक बनाएर,
विगतका कथाहरूमा झैं
लाडेपनमै उभिएकी थिई
निर्दोषपनमै आजम्मका व्यहोरा बनिसकेकी थिई

तीतो जीवनको यो वर्तमानमा
एउटा सुखद बिम्बको झलक देखाउँदै
बिदा भएकी थिई
भूतपूर्व प्रेमिका
-बेखसिम्ले-८ काभ्रे, हाल रातोपुल