सुडानमा भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडानद्वारा निन्दा

सुडानमा भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडानद्वारा निन्दा



सुडानमा हालै भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडानले निन्दा गरेको छ । सो प्रयासलाई दक्षिण सुडानले प्रजातान्त्रिक प्रक्रियामाथिको हमला भनेको छ ।

अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान प्रयास गर्नुको सट्टा राजनीतिक ‘कू’ को प्रयास गर्नु निन्दनीय भएको दक्षिण सुडानको विदेश मन्त्रालयले जनाएको छ ।

सुडान अहिले राजनीतिक सङ्क्रमणकालको चरणमा रहेकाले यहाँका राजनीतिक दलहरुले यसअघि गरेका प्रतिबद्धताअनुसार प्रजातान्त्र सुदृढ गर्न लाग्नुपर्ने सो मन्त्रालयको भनाइ छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका थिए ।

यस्तै, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको सिन्ह्वाले जनाएको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी संक्रमणको अन्त्य गरी एक समावेशी, शान्तिपूर्ण, सन्तुलितरूपले जनताको आशा र आकांक्षा प्राप्त गर्ने प्रयासमा आफूहरू सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

परिषद्का सदस्य राष्ट्रहरू सम्बन्धित पक्षलाई ‘राष्ट्रिय सङ्कट र सङ्क्रमणको विषय’ लाई गम्भीररूपले बुझ्न र सोही अनुरूप अगाडि बढ्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सुडानमा जनता र सैनिक पक्षले सहमति र सहकार्यका साथ संविधान र जुबा शान्ति सम्झौताको मर्म अनुरूप अगाडि बढ्न र देशको संक्रमणलाई पार लगाउन आग्रह गर्दछौं।’

त्यसैगरी परिषद्का सदस्य राष्ट्रहरूले सुडानी जनता र देशका पक्षमा ऐक्यबद्धता व्यक्त गर्दै सङ्क्रमणको यस चरणमा सुडानको सम्प्रभुता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छन् ।