नयाँ शैलीमा भारततर्फ गाँजा तस्करी

नयाँ शैलीमा भारततर्फ गाँजा तस्करी



नेपालको बाटो हुँदै भारततर्फ भारतीय सवारी साधनमार्फत लागुऔषध गाँजा नयाँ शैलीमा तस्करी हुने गरेको खुलासा भएको छ । पछिल्लो पटक पर्साको वीरगञ्जबाट प्रहरीले बेवारिसे अवस्थामा एनएल ०१ के ०७५४ भारतीय नम्बरको ग्यासको बुलेटभित्र लुकाइ राखिएको अवस्थामा गाँजा फेला पारेपछि नयाँ शैलीमा भारततर्फ गाँजा तस्करी हुँदै आएको सार्वजनिक भएको हो ।

पर्सा प्रहरीले दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका-२५ स्थित भन्सार कार्यालय वीरगञ्ज (आइसिपी) गेटनजिक ग्यासको बुलेटको ट्याङ्करमा लुकाइएको अवस्थामा १२० किलो लागु औषध गाँजा फेला परेको थियो ।

उक्त ट्रक र सो गाँजा नियन्त्रणमा लिई लागु औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

ट्याङकरका चालक र सहचालक फरार छन् । गाँजा नेपालबाट भारततर्फ लैजाने उद्देश्यले ट्रकमा लुकाइएको हुन सक्ने र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।