काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कारबाही गरिने भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ-सङ्गठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिको संयुक्त बैठकले बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन उक्त निर्णय गरेको हो ।
पछिल्लो समय सरकारले नयाँ बसपार्कसहित कलङ्की, कोटेश्वर, बल्खु, चाबहिललगायत क्षेत्रमा जथाभावी रूपमा यात्रुको झोला तान्ने तथा दुःख दिनेहरूविरुद्ध पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बसपार्कभित्र यात्रु तान्ने, भीडभाड सृजना गर्ने तथा अफवाह फैलाउने व्यक्तिविरुद्ध प्रहरीले कडा कारबाही गर्दै आएको बताए ।
बिहीबार (३२ असार) बसेको बैठकमा चालक, सहचालक तथा अन्य कर्मचारीलाई अनिवार्य रूपमा पोशाक लगाउन र परिचयपत्र धारण गर्नसमेत निर्देशन दिइएको छ ।
काठमाडौं महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती खोला किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल ६० भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।
प्रतिक्रिया