अमेरिकाका पूर्व विदेशमन्त्री पावेलको कोरोना सङ्क्रमणका कारण निधन

अमेरिकाका पूर्व विदेशमन्त्री पावेलको कोरोना सङ्क्रमणका कारण निधन



अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ । पावेलको परिवारले उनको मृत्युको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

८४ वर्षीय पावेलको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।

कोलिन पावेल कुनै बेला अमेरिकी सेनाको प्रमुख पनि थिए । अमेरिकाले गरेको इराक-युद्ध पावेलकै नेतृत्वमा भएको थियो ।

सन् २००१ मा राष्ट्रपति जर्ज डब्ल्यू बुशले पावेललाई विदेशमन्त्री नियुक्त गरेका थिए । अमेरिकाको विदेशमन्त्री नियुक्त हुने उनी पहिलो अफ्रिकी मूलका अमेरिकी थिए ।

कोरोनाविरुद्धको खोपको पूरा डोज लिनुको बाबजुद सङ्क्रमणको शिकार बनेको पुष्टि गर्दै पावेलको परिवारले एक सार्वजनिक सन्देश जारी गरेको छ । सन्देशमा भनिएको छ- ‘हामीले एक मायालु पति, बुबा, हजुरबुबा र एक महान् अमेरिकी गुमाएका छौँ ।’

पावेलका परिजनले उनको उपचार गर्ने स्वास्थ्यकर्मीहरूलाई पनि धन्यवाद दिएका छन् ।