एकै दिन करिब ५० हजार संक्रमित
बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ । यहाँ २४ घन्टायता मात्र कोरोना भाइरसका करिव ५० हजार सङ्क्रमित भेटिएका छन् । बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको पनि बताएका छन् ।
सोमबार यहाँ ४९ हजार १५६ जना सङ्ंक्रमित देखिएको सम्बन्धित स्वास्थ्यअधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । यो संख्या यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो ।
पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख पुगेको पनि जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा ४५ जनाको निधन भएको छ । यो समेतगरी यहाँका १ लाख ३८ हजार भन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको छ ।
महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ ।यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।
प्रतिक्रिया