भारतमा थप १४ हजार ६२३ जना सङ्क्रमित

भारतमा थप १४ हजार ६२३ जना सङ्क्रमित



पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सङ्क्रमतिको कूल संख्या तीन करोड ४१ लाख ८ हजार ९९६ जना पुगेको छ ।

मङ्गलबार भारतमा कोरोनाका थप सङ्क्रमितको संख्या १४ हजार ६२३ जनामा भएकोमा सात हजार ५४३ जना केरला राज्यका रहेका थिए । केरलामा मङ्गलबार कोरोना सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएको थियो ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने एक लाख ७८ हजार ९८ जना रहेका एएनआईले जनाएको छ । यो सङ्ख्या २२९ दिनयताको सबभन्दा कम भएको पनि बताइएको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या कूल सङ्क्रमितको ०.५२ प्रतिशत मात्र रहेको बुधबार प्राप्त समाचारमा जनाइएको छ ।

मङ्गलबार १९ हजार ४४६ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त भएका कूल संख्या तीन करोड ३४ लाख ७८ हजार २४७ रहेका सो मन्त्रालयले बुधबार जनाएको छ । कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८ः१५ प्रतिशत भएको मन्त्रालयले बुधबार जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ४४ लाख २९ हजार भन्दा बढी व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९९ करोड १२ लाख ८२ हजार २८३ डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ ।