यसरीसम्म ठगिँदा रहेछन् मानिस !

यसरीसम्म ठगिँदा रहेछन् मानिस !


हजार दिएर लाख असुल्ने विदुर शर्माले ‘साइट सञ्चालन गर्न’ भनेर वैशाखमा सत्तरी लाख रुपैयाँ ‘सापटी’ दिए । त्यसरी ‘सापटी’ दिएको रकममध्येबाट विदुरले दश लाख फिर्ता लिए र भने- ‘तिमीलाई थाहै छ.. महेश बस्नेतलगायतका नेताहरूसँग मेरो कस्तो सम्बन्ध छ भन्ने ! म तत्काल खेलकुद परिषद्को कोषाध्यक्ष बन्न लागेको छु । त्यसनिम्ति नेताहरूलाई पैसा बुझाउनुपर्ने भएकोले दश लाख रुपैयाँ मलाई नै देउ ।’


सत्ता र शक्तिको आडमा कसरी अपराध र ठगी मौलाइरहेको छ भन्ने कुराको एक मार्मिक तथ्य घटना र विचारले फेला पारेको छ । करिब चार करोड रुपैयाँ नगद सापटी दिएर दुई बुक खाली चेकमा दस्तखत गराएको र, दश महिनाकै बीचमा करिब सोह्र करोड असुलेको उक्त घटनाका पीडित यतिबेला डिप्रेसनमा गएका छन् । डेढ महिनासम्म ज्यान मार्ने त्रास देखाउँदै बन्धक बनाइएका पीडित व्यक्तिले पटक-पटक आत्महत्याको प्रयास गरेपछि निजलाई परिवारका सदस्यहरूले यतिबेला चौबिसै घण्टा पहरा दिएर राख्नु परेको छ ।

दोलखाका प्रकाश कार्की ठेक्कापट्टाको काम गरेर आफ्नो गुजारा चलाउँदै थिए । शालिन, सोझा, इमानदार र ‘लो प्रोफाइल’मा रहेर काम गर्ने भएकोले प्रकाश ठेकेदारी पेसामा भएर पनि धेरैको विश्वास आर्जन गरेका थिए र, यही कारण उनी आफ्नो पेशामा सफल हुँदै गएका पनि थिए । त्रिनेत्र साकार कन्स्ट्रक्सन कम्पनी स्थापना गरेर काठमाडौंको कोटेश्वरमा कार्यालय राखेका प्रकाश कार्कीले २०७६ सालको असोजमा ७६ करोडको काम पाए । रौता हिमदोङ्ग एण्ड कन्काई जेभीसँग त्रिनेत्रले सब-कन्ट्रयाक्टमा लिएको काम थियो- रेलवेमा माटो भर्ने । त्रिनेत्र कम्पनीले रेलवेको रौतहट क्षेत्रको ६४० मिटरमा माटो भर्ने र पुल तथा कल्भर्ट निर्माण काम गर्नुपर्ने थियो । र, ठेक्का पाएको केही महिनामै प्रकाश (त्रिनेत्र कन्स्ट्रक्सन) ले करिब तीस करोड रुपैयाँबराबरको काम पनि गरिसकेका थिए ।

त्यसपछि प्रकाशलाई ठेक्काको काम जारी राख्न आर्थिक सङ्कट पर्न थाल्यो । नगदको अभाव भएपछि उनले आफ्नै जिल्लाका विदुर शर्मा नामक व्यक्तिसँग रकम सापटी लिएर काम चलाउन थाले । पहिले रेष्टुरेण्ट तथा क्यासिनोको बाउन्सर भइ काम गरेका विदुर शर्मा नगद लगानी गरेर नगद कमाउने व्यक्तिका रुपमा चिनिन थालेको र, पछिल्लो समयमा गृहसचिव र आइजीपीलगायत केही राजनीतिजीवीहरूसँग निकटको सम्बन्धमा रहेर उनले बेग्लै रवाफ देखाउन थालेका थिए । प्रकाशलाई नगदको खाँचो परेपछि करिब चार करोड रुपैयाँ विदुर शर्मा र शर्माका मानिस सुदीप कार्कीसँग सापटी लिए । उनले उक्त रकम २०७७ को जेठदेखि २०७७ कै चैतसम्ममा पटक-पटक गरेर लिएका थिए । त्यसैबीच २०७७ को पौष महिनामा रेलवे कम्पनीले चार करोड अठासी लाख भुक्तानी दिएकोमा निज विदुर शर्माले पूरै रकम निकालेर प्रकाशको खाता रित्तो बनाइदिएका थिए । प्रकाशलाई गुण्डाहरूको बीचमा राखेर विदुरले दुई बुक चेकमा सही गराएको हुनाले प्रकाशको खाताबाट चाहेबमोजिम रकम निकाल्ने सुविधा विदुरलाई थियो । २०७७ को चैत मसान्तसम्ममा रेलवे कम्पनीबाट प्रकाशलाई आठ करोड पाँच लाख भुक्तानी भएकोमा विदुरले चैत ३१ गते नै बैंकबाट सबै रकम निकालिदिएका थिए । यसरी खाता रित्ता बनाइ दिएपछि प्रकाश ठेक्काको काम अघि बढाउन नसक्ने अवस्थामा पुगे ।

हजार दिएर लाख असुल्ने विदुर शर्माले प्रकाशको निरन्तर आग्रहपछि ‘साइट सञ्चालन गर्न’ भनेर वैशाखमा सत्तरी लाख रुपैयाँ ‘सापटी’ दिए । त्यसरी ‘सापटी’ दिएको रकममध्येबाट विदुरले दश लाख फिर्ता लिए र भने- ‘तिमीलाई थाहै छ.. महेश बस्नेतलगायतका नेताहरूसँग मेरो कस्तो सम्बन्ध छ भन्ने ! म तत्काल खेलकुद परिषद्को कोषाध्यक्ष बन्न लागेको छु । त्यसनिम्ति नेताहरूलाई पैसा बुझाउनुपर्ने भएकोले दश लाख रुपैयाँ मलाई नै देउ ।’ यसरी दश लाख रुपैयाँ विदुरले साइट सञ्चालन गर्न दिएको रकमबाट फिर्ता लिएका थिए ।

प्रकाश कार्कीको खाताबाट विदुर शर्माले १२ करोड ४६ लाख ८५ हजार रुपैयाँ निकालेको र उनले कुल १६ करोड रुपैयाँ हात पारेको देखिन्छ । यसबाहेक सासु-ससुरालाई समेत मारिदिन्छु भन्दै देवदह नगरपालिका वडा नं. ७ को कित्ता नं. ८२४ को चार कट्टा जमिन पनि विदुरले आफ्नो नाममा ल्याएका छन् । ज्वाइँ र आफूहरूको ज्यान जोगाउनका निम्ति कुमारी महरा क्षेत्रीले करोडौँ मूल्य पर्ने आफ्नो जग्गा विदुर शर्मालाई स्वामित्व हस्तान्तरण गर्न बाध्य भएकी थिइन् ।

मिटरब्याजी विदुर शर्मा कति खतरनाक मानिस भन्ने कुराको जानकारी थप तथ्यहरूले पनि दर्शाउँछ । विदुर आफूबाट गम्भीर अपराध भइरहेको तथ्यबारे जानकार थिए । त्यसैले प्रहरी, प्रशासन र पत्रकारहरूसँग प्रकाशको सम्पर्क नहोस् भन्ने उनी चाहन्थे । त्यसैले शुरु-शुरुमा ‘तेरो परिवार नै सखाप हुनेछ यदि कसैलाई यो कुरा भनिस् भने, गोली हानेर मराइदिन्छु’ भनेर प्रकाशलाई तर्साउँथे विदुर । बीचमा ढेड महिनाजति प्रकाश भागेर भारत पुगेको र फर्किएपछि आफ्ना निम्ति झन् खतरा भएको ठानेर विदुरले गत साउन १५ देखि डेढ महिनासम्म प्रकाशलाई पूरै आफ्नो नियन्त्रणमा राखेका थिए । त्यस क्रममा विदुरले पैसा रित्तिएको बैंकखाताकै चेक (जुन प्रकाशलाई सही गराएर खाली राखिएको थियो) आफ्ना विभिन्न मानिसलाई नगद भरेर दिने, तिनले चेक बाउन्स गराउने र तिनलाई प्रहरीमा उजुर गर्न लगाएर प्रकाशलाई ठगी मुद्दामा जेल पठाउनेसम्मका प्रयास पनि विदुरबाट भइरहेको छ ।

आफै ठूलो धनराशि ठगिएका प्रकाश यतिबेला ठगीको मुद्दाबाट जोगिन आत्महत्याको प्रयास गर्दैछन् । ठगीको मुद्दा लगाएर प्रकाशलाई जेल पठाएपछि मात्र लुटिएको रकम फर्काउनु नपर्ने विश्वासमा विदुर शर्मा रहेको बुझिन्छ । हाल दोलखा एमालेको जिल्ला समन्वय समितिको सदस्यको आवरणमा रहेका विदुर शर्मा आफू वर्तमान गृहसचिव पाण्डेको खास मानिस भएको बताउने गर्दछन् भने पर्शुराम बस्नेत र महेश बस्नेतसँगको निकटतालाई पनि निजले भजाउँदै आएका छन् । केही समयअघि सुवर्ण लामामाथि भएको गोली काण्डमा पक्राउ परेको विदुर सुवर्णको ज्यान सुरक्षित भएपछि थुनामुक्त भएका थिए ।

विदुरले कसैलाई एक करोड रुपैयाँ उपलब्ध गराउनु परेमा कागज एक करोड रुपैयाँकै बनाउने, तर नगद सत्तरी लाख मात्र दिने, अनि त्यसको ब्याज प्रतिदिन एक लाख लिने र महिना पुगेपछि ब्याजवापतको रकम एक महिनाको रु. ३० लाख पनि सावाँमा थप गरेर त्यसको समेत ब्याज असुल्ने धन्दा गर्दै आएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । निज विदुर शर्माले गरेको उल्लिखित ज्यादतीविरुद्ध पीडितले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि मात्र विदुरको धन्दा र पीडाको खुलासा हुन पुगेको हो । यस सम्बन्धमा विदुरको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले आफू एउटा राजनीतिक कार्यक्रममा भएकोले यस सम्बन्धमा बोल्न नमिल्ने भनेर जवाफ फर्काए ।