- डम्बर निदाल, डडेल्धुरा
बेमौसमी वर्षाका कारण ५० हेक्टर क्षेत्रफलमा लगाइएको आलुमा क्षति पुगेको छ । गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको लगातारको अविरल भारी वर्षाले आलु खेतीमा क्षति पुगाएको हो । आलु लगाउने समयमा भएको भारी वर्षाले आलु खेतीसमेत कम हुने जनाइइएको छ ।
गत वर्ष यो समयमा डडेल्धुराका किसानले तीन सय हेक्टर क्षेत्रफलमा आलुखेती गरेका थिए । यस वर्ष त्यो भन्दा पनि बढी क्षेत्रफलमा आलु लगाउन किसान उत्साहित थिए । तर आलु लगाउने समयमा भएको वर्षाका कारण किसान प्रभावित भएका छन् ।
केही किसानले आलु लगाइसकेका थिए । आलु लगाएका किसानको खेतबारी बाढी पहिरोले बगाएको छ । आलु लगाउन बाँकी रहेका खेतबारीमा अहिले पनि पानी जमेको छ । यसकारण आलु उत्पादनमा ह्रास आउने प्रधानमन्त्री कृषि आधुनिकीकरण आलु सुपरजोन कार्यान्वयन ईकाई परियोजना डडेल्धुराका प्रमुख खेम जोशीले जानकारी दिए ।
प्रारम्भिक जानकारीअनुसार किसानले लगाएको ५० हेक्टर क्षेत्रफलको आलुमा क्षति पुगेको उनले बताए ।
जिल्लाको भित्रीमधेश परशुराम क्षेत्रका किसानले आलु लगाउन बाँकी थियो । अमरगढी नगरपालिकाको पोखरा, फिन्नेकोट, गन्यापधुरा गाउँपालिकाको भेटालगायतका क्षेत्रका किसानले आलु लगाइसकेका थिए । फिन्नेकोट क्षेत्रमा बढी क्षति भएको उनको भनाइ छ ।
भित्रिमधेशमा भने अब किसानले आलु नलगाउने उनले बताए । यसकारण यस वर्ष शरदको आलु कम लगाइने उनको भनाइ छ । बाढी-पहिरोले क्षति नभएको आलुमा डढुवालगायत रोगको संक्रमण देखिने भएकाले अब रोग नियन्त्रणका लागि परियोजनाले काम गर्ने उनले बताए ।
डडेल्धुरामा निजी क्षेत्रबाट पनि करिव एक हजार बढी हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको जनाइएको छ ।
प्रतिक्रिया