- डम्बर निदाल, डडेल्धुरा
डडेल्धुरा जिल्लाको स्याउलेबजारका ओखर व्यवसायीहरूले ओखरसँगै अन्य दाल, टिमुर, सिजनअनुसार फलफुललगायत कृषिउपज बस्तु बिक्री गरि वर्षेनी लाखौँ रुपैँयाँ आम्दानी गर्न सफल भएका छन् ।
स्याउलेबजारका ओखरव्यवसायी पहाडी जिल्ला बैतडी, दार्चुलाबाट ओखर आयात गरेर डडेल्धुराको फूटपाथमा बसी वर्षेनी लाखौँ रुपैँयाँ आम्दानी गर्न सफल भएका हुन् । गाउँमा जंगली जनावरको आतङ्कबाट खेती खान नदिएपछि सडकमा व्यवसाय गर्दै आएका डडेल्धुराका स्थानीयले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला तथा तराइका जिल्लासहित देशका अन्य जोड्ने मुख्य चोकको रुपमा रहेको डडेल्धुराको स्याउलेबजारका फूटपाथमा ओखर, दालचिनी, मिश्री, टिमुर र सिजनअनुसार फलफूल तथा कृषिउपज बिक्री गरि परिवार पालेर आम्दानी गर्नेतर्फ व्यवसायीको आकर्षण बढेको छ ।
स्याउलेबजारमा १८–२० ओखरका पसल छन् । चाडपर्व शुरु भएसँगै ओखरको व्यापारले राम्रो बजार पाएको छ । डडेल्धुरा जिल्लामा पर्याप्त मात्रामा ओखर नपाइने भए पनि यहाँका व्यापारीहरू ओखर ल्याउनका लागि पहाडी जिल्ला बैतडी, दार्चुलालगायत स्थानका गाउँ–गाउँबाट ओखर खरिद गरि बिक्री गर्ने गरेका छन् ।
ओखरको खासै खेती नहुने डडेल्धुरामा अन्य जिल्लाबाट खरिद गरेर ल्याइएको ओखर बिक्री गरेर स्थानीयले चाडपर्व मनाउने खर्चसँगै अन्य खर्च समेत जुटाइरहेका छन् । चाडपर्व शुरु भएदेखि नै स्याउले बजारमा स्थानीयले सडक छेउछाउमा ठेला राखेर ओखर बेच्ने गरेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले बजारमा पसलैपिच्छे ओखरका ठेलाहरू देख्न सकिन्छ ।
चाडपर्वको समयमा मात्र नभइ अन्य समयमा पनि सिजन अनसारको ब्यापार गर्दै आइरहेका स्याउलेबजारका ठेला व्यवसायीहरूले अहिले चाडपर्वको समय भएकाले ओखरको व्यापारबाट राम्रो आम्दानी गरिरहेको स्थानीय ओखरब्यवसायी गणेश दियालले बताए । ओखर ल्याउनका लागि पहाडी जिल्ला बैतडी, दार्चुलालगायत जिल्लाका गाउँ-गाउँ पुग्नुपर्ने बाध्यता रहेको र लगानी अनुसारको मुनाफा नहुने उनको भनाइ छ । पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुराका विभिन्न स्थानबाट उत्पादित ओखर स्याउलेबजारसहित डडेल्धुरा सदरमुकाम बसपार्क क्षेत्रमा रहेका दर्जनौँ व्यापारीहरू प्रतिकिलो ६ देखि सात सयसम्ममा ओखर बेचेर वर्षेनी एक लाखदेखि दुई लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए ।
गत वर्षदेखि कोरोना महामारीको प्रभावले अन्य वर्षको तुलनामा ओखरको खासै ब्यापार हुन नसकेकोे व्यवसायी शोभा दियालले बताइन् । ओखरको ब्यवसाय गर्नुअघि आफूले दाउरा बेच्ने, ढुङ्गा बोक्ने जस्ता काम गर्ने गरेको र त्यो कामबाट घर खर्च चलाउन निकै नै कठिन भएकोले आफूले ओखर ब्यापार गरेको र ओखरको ब्यापारबाट घरखर्चलगायत बालबच्चाको पठनपाठनको खर्च राम्रैसँग चलिरहेको उनले बताइन् ।
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेल्धुरा, बझाङ, बैतडी जिल्लाका व्यक्तिहरूले स्याउलेबाट ओखर किनेर लैजाने गरेको ओखर व्यवसायी बताउँछन् । अहिले दशैँ र तिहारको समयमा मानिसहरूको आउजाउ पनि बढी हुने हुँदा यो समयमा ओखरको बिक्री पनि धेरै हुने गरेको व्यापारी बताउँछन् । सामान्यतया दैनिक ३ देखि ७ किलोग्रामसम्म बिक्री हुने भए पनि अहिले चाडपर्वको समय भएकाले दैनिक ५ देखि १० किलोग्राम भन्दा बढी ओखर बिक्रि हँुदै आएको छ । दार्चुला जिल्लाका विभिन्न क्षेत्रमा गएर प्रतिदाना २ रुपैयाँ देखि ५ रुपैयाँ सम्ममा खरिद गरि प्रतिकेजी ६ सयदेखि ७ सयसम्ममा बिक्री गर्ने गरेको ओखर व्यवसायीहरू बताउँछन् ।
लगानीअनुसारको बिक्री र मुनाफा नभए पनि वर्षौंदेखि यस व्यवसायमा लागिसकेकोले कृषिकर्म गरेर बँदेल बाँदरले सताउने भएका कारण जीवीकोपार्जनका लागि पेशा परिवर्तन गरेकोले बार्षिक रुपमा सरदर आम्दानी सन्तोषजनक रहेको व्यवसायीको भनाइ छ ।
वर्षौंदेखि फूटपाथमा मौसमी फलफूल तथा कृषि उपज र खुद्राकिराना सामानहरू बिक्री गरेर जीवीकोपार्जनमा लागेका खासगरि अमरगढी १ का बासिन्दाहरू यस वर्ष कोरोना भाइरसका कारण व्यवसाय प्रभावित भएको भन्दै चिन्तित पनि भएका छन् ।
प्रतिक्रिया