उच्च हिमाली क्षेत्रमा अप्टिकल फाइबर लिंक स्थापना

उच्च हिमाली क्षेत्रमा अप्टिकल फाइबर लिंक स्थापना



देशकै अति दुर्गम स्थानमध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले अप्टिकल फाइबर लिंक स्थापना पश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका नेपाल टेलिकमले जनाएको छ । टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो ।

समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो (२०७८ कात्तिक ११) १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएता पनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने देखिन्छ ।

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुने बताइएको छ ।