तस्बिर रासस
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरिने
हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाअन्तर्गत मुख्य गणनाकार्य आज (कात्तिक २५)देखि सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ ।
जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गर्न लागिएको सो अवसरमा विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।
जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने बताइएको छ । यस क्रममा देशभरका ६ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको र स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्न सकिने तर्क गर्नुभयो । यसपटकको जनगणनामा काठमाडौं महानगरपालिकासमेत काठमाडौं जिल्लाका ६ नगरपालिकामा डिजिटल पद्दतिमा आधारित क्यापीविधि प्रयोग गरी ट्याब्लेटबाट विवरण सङ्कलन गरिने र देशभरका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग हुनेछ ।
यसपटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा इ-सेन्ससविधि अपनाई वेबसाइट एप्लिकेशनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण सङ्कलन गर्न लागिएको बताइएको छ । महानिर्देशक श्रेष्ठका अनुसार घरपरिवार सूचीकरणका आधारमा यसपटकको जनगणनामा नेपालको जनसङ्ख्या तीन करोड नपुग्ने अनुमान गरिएको छ । तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन दुई वर्षको समय लाग्ने बताइएको छ ।
प्रतिक्रिया