प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय जनगणनाका अवसरमा उहाँले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गर्नुभएको छ । देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणनाअन्तर्गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म प्रत्येक घरघरमा जनगणना गर्नका लागि गणक पुग्दैछन् ।
प्रधानमन्त्री देउवाले यस जनगणनामा पहिलोपटक सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहनुभएका नेपालीकोसमेत जनसाङ्ख्यिक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवासुविधासम्बन्धी विवरण सङ्कलन हुने उल्लेख गर्नुभएको छ ।
यसबाट प्राप्त हुने तथ्याङ्क केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुनेछन् । ‘विगतमा हामी कुन अवस्थामा थियौँ, अहिले कुन अवस्थामा छौँ र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ भन्ने कुरा थाहा पाउनका लागि पनि जनगणना अपरिहार्य हुन्छ’, उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले जनताले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराई दिनुहुन सम्पूर्ण देशवासीलाई अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया