धर्मको नाममा राजनीति, सनातनको अपमान

धर्मको नाममा राजनीति, सनातनको अपमान


स्वभाविक रूपमा राष्ट्रवादीहरूले राष्ट्रको रूपमा चिन्ने परम्परा, संस्कृति, पारम्परिक विविधता, त्यसमा आवद्ध जनता र एकताको सूत्र राजमुकुट नै हो । संस्कृतिक भागको रूपमा सनातन संस्कृति हो । बहुसङ्ख्यक र अहिलेसम्म बहुमान्यता पाएको हिन्दु संस्कृति हो । यो हिन्दु संस्कृति भनेको कर्मकाण्डी हिन्दु र धर्मको रूपमा भनिने हिन्दुत्व होइन ।

  • स्वयम्भुनाथ कार्की

मुलुकको वर्तमान अवस्थाको बिउ रोप्ने गिरिजा कोइराला हुन् । अहिले देखिएको र भोग्नु परेको अवस्थाको सबैभन्दा ठूलो जशको भागिदार उनै हुन् । जशमा भागिदार हुँदा अपजश पनि भाग लाग्छ । तात्कलिन संविधानअनुसार भङ्ग गरिएको र त्यो भंग गर्ने कामलाई सर्वोच्च अदालतले संविधानसम्मत भनेको थियो । शेरबहादुर देउवालाई हटाएर प्रधानमन्त्री बन्ने इच्छामा संसद् भङ्गको सिफारिसले हिस्स बनाएको थियो । त्यो संसद्भङ्गताको पूरा प्रकरण नै शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाको मल्लयुद्ध थियो । त्यसैले जसरी भए पनि संसद् पुनःस्थापना गिरिजाप्रसाद कोइरालाको हठ थियो । त्यसबेलाका पत्रकारहरूले आफैले लेखेका समाचार-विचार हेरुन् । यो कुराको सत्यता उनीहरू पुनः बोध गर्नेछन् । किनभने, केही पत्रकार आत्मा लिलाम गरेर भजने भए पनि धेरैमा आत्मा जीवितै छ ।

दाजु बीपी कोइरालाको अन्तराष्ट्रिय प्रभाव, नेपाली काङ्ग्रेसको इतिहास सबै खर्च गरेर उनले आफ्नो त्यो हठ पूरा गरिछोडे । उक्त हठ पूरा हुँदा के-के बली चढ्यो भन्ने कुरा अरुले भन्न पर्दैन, नेपाली काङ्ग्रेसका कर्मठ अनि इमान्दार कार्यकर्ताले नै भन्छन् । २०६३ साल जेठ ४ गतेको त्यो घोषणपत्र स्वयम् गिरिजाप्रसादले पूरा पढ्न पाएका या कापढ्न सकेका थिएनन् । किनभने त्यस घोषणामा ‘नेपाल अब धर्मनिरपेक्ष हुनेछ’ भनिएको थियो । यो भाग पढ्ने आत्मबल उनमा थिएन, आधा पढेपछि रोष्टम छोडेर अस्पताल जानुपरेको थियो । पछि त्यसलाई सभामुखको रुपमा सुभाष नेम्वाङले पढेका थिए । प्रत्यक्ष प्रसारणमार्पmत यो दृष्य लाखौँले देखेका छन् ।

विसं १९१० को धार्मिक कट्टरतामा आधारित दण्डसंहिता ‘मुलुकी ऐन’मा वर्णव्यवस्था, जातपात, छुवाछुत आदि नमान्नेलाई दण्डको व्यवस्था थियो । यसरी शासकको काँधमा बन्दुक राखेर शिकार गरे पनि पण्डा, स्वामी, महात्मा आदिको रूपमा प्रत्यक्ष शासनमा हस्तक्षेप थिएन । अर्थात् पश्चिमा मुलुकमा चर्चको जस्तो बलजफ्ती थिएन । त्यसलाई २०२० साल भदौ १ गते ‘नयाँ मुलुकी ऐन’ले विस्थापित गरेर राजा महेन्द्रले शासनमा धर्मको प्रभाव न्यून गरेका थिए । सार्वजनिक स्थानमा छुवाछुत गरेवापत सजाय हुने व्यवस्था गरेको युग नै भएको छ । अझ फेरि नयाँ नेपालले छुवाछुतमुक्त नेपाल घोषणा गरेको पनि दोश्रो दशक भइसकेको छ, तैपनि यो कायम छ । अर्थात् कानुनले मात्र नहुने रहेछ, सामाजिक पुननिर्माण पनि चाहिने रहेछ ।

प्रतिनिधिसभा घोषणाले नेपाललाई धार्मिक विद्वेषमा धकेलेको छ । नेपाललाई चार जात छत्तिस वर्णको साझा फुलबारी बनाउन खोज्ने राजसंस्थालाई हिन्दुहरूको पेवा बनाइएको छ । हिन्दु आचरण, समाज व्यवस्था, सबै शान्तिपुर्ण सहअस्तित्वको आधारमा रहेको छ । यसले अरुप्रति विद्वेष राख्न सिकाउँदैन, चाहे जसले जे भनुन् । सबै आ-आफ्नो धर्ममा रहनुपर्दछ भन्ने दर्शन बोकेको सनातनमा अरुलाई अपमान गर्नु धर्मकै अपमान हो । त्यसैले धर्मलाई राजनीतिमा हतियार बनाउनु स्वयम् धर्मकै अपमान हो । यस्तो अवस्थामा नेपालमा हिन्दुधर्मको नाममा नै राजनैतिक दलहरू खुल्ने क्रम शुरु भएको छ । राजसंस्थालाई एक धर्मको पेवा बनाउन खोजिएको छ ।

स्वभाविक रूपमा राष्ट्रवादीहरूले राष्ट्रको रूपमा चिन्ने परम्परा, संस्कृति, पारम्परिक विविधता, त्यसमा आवद्ध जनता र एकताको सूत्र राजमुकुट नै हो । संस्कृतिक भागको रूपमा सनातन संस्कृति हो । बहुसङ्ख्यक र अहिलेसम्म बहुमान्यता पाएको हिन्दु संस्कृति हो । यो हिन्दु संस्कृति भनेको कर्मकाण्डी हिन्दु र धर्मको रूपमा भनिने हिन्दुत्व होइन । यो झिनो अन्तर नदेखिनाले हिन्दु संस्कृतिलाई हिन्दुत्व र त्यसलाई राजसंस्थासँग जोडिएको छ । यो भ्रमलाई राजसंस्थाविरोधी विचार अर्थात् गणतन्त्रको विचारका अनुयायीहरूले थप उर्जा दिएका छन् । किनभने राजा यसरी साम्प्रदायिक र एक धर्मको मात्र हो भन्ने पार्न सकिएमा गणतन्त्र अकङ्टक हुन्छ भन्ने सोचले काम गरेको छ ।

यसै षडयन्त्रले रुमलिएर आफूलाई राजावादी भनीठान्नेहरू उग्र हिन्दुत्वको नारा उराल्दैछन् । त्यस्तै व्यवहार पनि गर्दैछन् । तर यो उनीहरूको व्यवहार सनातन धर्मको अनि ‘राजा सबैका साझा देश सबैको’ भन्ने सनातन मान्यताको अपमान हो । यो भनेवापत पहिले जस्तै प्रशस्त धम्की आउनेछन् । कतिले त डलर खाएको, धर्म बेचेको पनि भन्न सक्ने छन् । तर मेरो परम्परा संस्कार सनातनी हो अर्थात् हिन्दु । मेरो संस्कार धर्म सबैले धर्मको नाममा राजनीतिलाई अनीति भन्छ । कसैलाई घृणा हैन वसुधैव कुटुम्वकम् भन्न सिकाएको छ । सनातनले राजा सबैको साझा भन्छ, देश सबैको आधार भन्छ ।