प्रहरी महानिरीक्षक थापा क्षेत्री इन्टरपोलको महासभाका लागि प्रस्थान

प्रहरी महानिरीक्षक थापा क्षेत्री इन्टरपोलको महासभाका लागि प्रस्थान


  • सनत आचार्य

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औँ महासभामा भाग लिन आईतबार टर्की प्रस्थान गरेका छन् ।

२०७८ मंसिर ७ देखि ९ गते (तदनुसार २३ देखि २५ नोभेम्बर, २०२१) सम्म सञ्चालन हुने उक्त महासभामा इन्टरपोलका १९४ सदस्य राष्ट्रका राष्ट्रिय केन्द्रिय ब्युरो प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने छन् । थापा नेपाल ब्युरो प्रमुखको हैसियतमा समेत उक्त महासभामा सहभागी हुन लागेका हुन् ।

महासभा इन्टरपोलको सर्वोच्च प्रशासकीय निकाय हो, जसमा प्रत्येक सदस्यदेशका प्रतिनिधिहरू सहभागी हुन्छन् । यो प्रत्येक वर्ष आयोजना हुने गर्दछ ।

सभाको उद्देश्य इन्टरपोलका गतिविधिहरू सदस्य देशहरूको आवश्यकताअनुरूप छन् भनी सुनिश्चित गर्नु रहेको हुन्छ । त्यस्तै महासभाले संगठनको उद्देश्यमा पुग्नका लागि सिद्धान्त र उपायहरू निर्धारण गरेर आगामी वर्षका गतिविधि र वित्तीय नीतिहरूको कार्यक्रमको समीक्षा र अनुमोदन पनि गर्दछ ।

यसका साथै सभाले प्रत्येक वर्ष विश्वले सामना गर्ने प्रमुख अपराध प्रवृत्ति र सुरक्षा खतराहरूका बारेमा पनि छलफल गर्ने गर्दछ भने इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भइ महासभाबाट पारित हुने कार्यक्रम रहेको बताइएको छ ।

उक्त महासभामा सदस्यराष्ट्रहरूको वार्षिक प्रतिवेदन प्रस्तुत, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन, नयाँ सदस्यताका लागि आवेदन दिने देशका लागि मतदानद्वारा निर्वाचन र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने जनाइएको छ ।

महासभाले इन्टरपोलको सदस्यताका लागि आवेदन दिएको राष्ट्र दि फेडेरेटेट स्टेट्स अफ माइक्रोनेसिया सदस्यता प्रदान गर्ने सम्बन्धमा पनि छलफल गर्नेछ । साथै, नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दंक्षिण कोरिया र बंगलादेशसँग समेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महासभामा सहभागी हुन महानिरिक्षक थापासहित प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान पनि टर्की प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।