बेलायतमा घटेन कोरोना संक्रमण

बेलायतमा घटेन कोरोना संक्रमण


एकैदिन ४० हजार जना संक्रमित

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बताइएअनुसार त्यहाँ अहिले पनि दैनिक कम्तीमा ४० हजार जना भाइरसका संक्रमित भेटिएका छन् ।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ । यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ९८ लाख नाघेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ६१ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

त्यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ । तर पनि पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । सरकारी प्रयासका बाबजुद बेलायतमा संक्रमित हुनेको दरमा कमी नआएको बताइएको छ ।