प्रकाशमानका कारण कोइराला गुटमा हलचल !

प्रकाशमानका कारण कोइराला गुटमा हलचल !



काङ्ग्रेस नेता प्रकाशमान सिंहले आफू चौधौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गर्नुभएपछि काङ्ग्रेसको आन्तरिक राजनीतिमा नयाँ मोड आएको छ । कोइरालापक्षीय कित्ताबाट एउटा मात्र उम्मेदवार बनाउन भइरहेको प्रयासमा सिंहको घोषणाले अवरोध पैदा गरेको छ । अब कोइराला पक्षका नेताहरू डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, डा. रामशरण महत, अर्जुन नरसिंह केसी र रामचन्द्र पौडेलले प्रकाशमान सिंहलाई सभापतिको उम्मेदवार स्वीकार गरेको अवस्थामा मात्र कोइराला पक्षको एक मात्र उम्मेदवार हुनेछ । त्यसो नभइ कोइराला पक्षबाट रामचन्द्र पौडेल र डा. शेखर कोइराला समेतले उम्मेदवारी दिएमा शेरबहादुर देउवा निकै भारी हुन सक्नुहुनेछ ।

तेह्रौं महाधिवेशनमा पराजित रामचन्द्र पोडेल चौधौँमा एकपटक फेरि सभापतिको उम्मेदवार बन्न चाहनुहुन्छ । तर उहाँको पक्षमा कोइरालाहरू नरहेको बुझिएको छ । यदि डा. शेखर कोइरालालाई सभापति बनाइयो भने कम्तिमा अर्को दश वर्ष उहाँकै हैकम चल्ने र वरिष्ठ नेताहरूको राजनीतिक विकासक्रममा बिराम लाग्ने सम्भावनालाई दृष्टिगत गरी रामचन्द्र पौडेल र प्रकाशमान सिंहलगायतका वरिष्ठ नेताहरू झस्किएको बताइन्छ । यो स्थितिमा डा. शेखर कोइराला उम्मेद्वारी दिन अग्रसर भएपछि रामचन्द्र पौडेलका निम्ति सकसपूर्ण अवस्था पैदा भएको छ । शेखरलाई सभापतिको उम्मेदवार बनाउन रामचन्द्र पौडेललाई राष्ट्रपति या प्रधानमन्त्री बनाउने ‘उधारो ग्यारेण्टी’ दिनुपर्ने हुन्छ, तर शेखरले दिने ‘ग्यारेण्टी’माथि पौडेलले विश्वास गर्ने स्थिति नहुन सक्छ । आश्वासन दिने मामिलामा शेरबहादुर देउवा अग्रण भएकोले कतै पौडेलको समर्थन अन्ततः देउवालाई नै हुने त होइन भन्ने आशङ्का र अनुमान गर्न थालिएको छ । देउवालाई जिताउँदा एक कार्यकाल मात्र प्रतीक्षा गर्दा हुने, तर शेखरलाई जिताएमा लामो समय पर्खनुपर्ने भएकोले पौडेलसहितका वरिष्ठ नेताहरू देउवातिर लहस्सिएर आफूलाई सूरक्षित तुल्याउनेतर्फ लाग्न सम्भव छ ।

नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन करिब एक दर्जन नेताहरूले मानसिकता बनाएको भए पनि हालसम्म शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र गोर्खाका युवराज पौडेलले मात्र उम्मेदवारीबारे सार्वजनिक जानकारी गराएका छन् ।

ज्ञातव्य छ, काङ्ग्रेस सभापतिमा विजयी बन्न उम्मेदवारले कुल मतको एकाउन्न प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । वर्तमान परिस्थितिको विश्लेषण गर्दा पहिलो चरणमा कसैले पनि एकाउन्न प्रतिशत मत आर्जन गर्न नसक्ने देखिन्छ । दोस्रो चरणमा पहिलो र दोस्रो उम्मेदवारबीच निर्वाचन हुनेछ, त्यतिबेला नेताहरूबीच बन्ने समिकरणले निर्णायक प्रभाव पर्नेछ । तेह्रौँ महाधिवेशनमा पनि प्रथम चरणमा कसैले पनि एकाउन्न प्रतिशत मत लिन सकेका थिएनन् । दोस्रो चरणमा कृष्ण सिटौलाले देउवालाई समर्थन गरेपछि देउवाको विजय निश्चित भएको थियो । यसपटक सिटौला देउवाको खेमामा उभिनुभएको छ । तथापि सिटौलाको मात्र समर्थनले देउवाको विजय निश्चित गर्ने अवस्था देखिन्न । पौडेल र सिंहसमेतले समर्थन गरेको स्थितिमा देउवा विजयी बन्न सक्ने निश्चितप्रायः छ ।