वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको भन्दै राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी घोषणा

वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको भन्दै राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी घोषणा


महामन्त्रीमा राणाको उम्मेदवारी

पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको आरोपका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता लिङ्देनले आमनागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरेर पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।

उक्त पार्टीबाट प्रतिनिधिसभामा प्रत्येक्ष निर्वाचित एक मात्र सांसद रहेका नेता लिङ्देनले पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको आरोप समेत लगाए ।

सोही कार्यक्रममा अर्का नेता धवलशम्शेर राणाले महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे । मुलुकमा सुशासन र समृद्धि कायम गर्न अब युवा पुस्ता राजनीतिक दलका साथै सरकारको नेतृत्वमा आउन जरुरी रहेको उनको भनाइ थियाो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहेका राणाले पुरानो पुस्ताले नेतृत्व छोड्न नचाहेका कारण युवा सक्षम र क्षमतावान भएर पनि समकालीन राजनीतिको नेतृत्वमा आउन नसकेको धारणा राखे ।

विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिले विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । पार्टीको यही मङ्सिर १५, १६ र १७ गते काठमाडौंमा हुने एकता महाधिवेशनलाई भव्य र सफल बनाउन नेता तथा कार्यकर्ताबाट आएका सुझावलाई समावेश गरी विधानमा आवश्यक विषयवस्तु परिमार्जन गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

अधिवेशनमा केन्द्रीत रहेको उक्त बैठकमा अधिवेशनलाई व्यवस्थित बनाउने निर्णय भएको बताइएको छ । देशविदेशबाट अधिवेशनमा सहभागी हुन आउने विभिन्न पाहुना तथा प्रतिनिधिको व्यवस्थापन, अधिवेशनका लागि गठन गरिएका विभिन्न समितिका कार्यप्रगतिबारे पनि समीक्षा गरिएको छ ।

यस्तै, सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशनका सन्दर्भमा सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र परिमार्जनसहित पारित गरेको छ । पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर राणाद्वारा प्रस्तुत ‘सामाजिक कार्यपत्र’, कमल थापाद्वारा प्रस्तुत ‘राजनीतिक कार्यपत्र’ र डा प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत ‘आर्थिक कार्यपत्र’ परिमार्जनसहित पारित गरिएको हो ।

विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी मस्यौदा पनि परिमार्जनसहित पारित गरिएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) एकता भएपछि अन्तरिम विधानले सञ्चालन भएको उक्त पार्टीले पहिलोपटक एकता महाधिवेशन गर्न लागेको छ ।