पद्माको प्रगतिको राज !

पद्माको प्रगतिको राज !



नेपाली राजनीतिमा कहिल्यै नाम नसुनिएको, २०७४ सालमा केपी ओलीको नेतृत्वमा गठित सरकारमा समेटिएपछि मात्र चिनिएकी पद्मा अर्याल पार्टीको दशौँ महाधिवेशनबाट पदाधिकारी (सचिव) चयन भएपछि उनका बारेमा सर्वत्र चासो प्रकट भएको छ ।

एमालेको पछिल्लो पुस्ताका नेता-पङ्क्तिमा औसत मानिएकी पद्मा तत्कालिक मन्त्रिमण्डल पुनर्गठन हुँदा पनि मन्त्री पदमा दोहोरिएकी थिइन् । भूमिसुधार मन्त्रालयबाट उनलाई कृषि मन्त्रालयको जिम्मेवारी सुम्पिइएको थियो । त्यसबेला कैयन ‘हस्ती’हरूले मन्त्रिमण्डलबाट बाहिरिनुपरेको भए पनि पद्मा अर्यालले निरन्तरता पाउँदा एमालेकै मानिसहरू चकित परेका थिए ।

दशौँ महाधिवेशनका क्रममा कैयन ‘वरिष्ठ’ नेताहरूलाई उछिन्दै सचिव चयन हुन पुगेपछि एमालेको एउटा ठूलो हिस्सा स्तब्ध हुन पुगेको छ । उनी यसरी अध्यक्ष केपी ओलीको रोजाइमा बारम्बर परिरहनुको रहस्यप्रति एमालेका आमकार्यकर्ता समेत जिज्ञासु बनेको पाइएको छ ।

पद्माको उन्नतिमा पार्टीमा उनबाट पुगेको गोगदानभन्दा अन्य कारणले निर्णायक भूमिका निर्वाह गरेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार विष्णु पौडेलले पद्माको सिफारिस गर्ने गरेको र, पौडेलको जोडदार सिफारिसलाई काट्न नसकेर अध्यक्ष ओलीले पद्मालाई महत्वपूर्ण जिम्मेवारी दिने गरेको बुझिएको छ । स्याङ्जाकी एमाले कार्यकर्ता पद्मा अर्याल विष्णु पौडेलका सहोदर भाइकी पत्नी (बुहारी) हुन् । पौडेलसँग विवाह गरेको भए पनि माइतीको थर लेख्दै आएकी पद्मालाई विष्णु पौडेलले नै राजनीतिमा क्रियाशील रहन प्रेरित गर्दै आएको बताइन्छ ।

ज्ञातव्य छ, एमाले नेता विष्णु पौडेल पनि स्याङ्जाका बासिन्दा हुन् र, उनले आफ्नो राजनीतिक कार्यक्षेत्र रुपन्देहीलाई बनाउँदै आएका छन् । पौडेललाई एमालेभित्र सर्वाधिक ‘बलियो’ नेताका रूपमा लिइन्छ । उनकै साथका कारण अप्ठ्यारोका बेला सङ्कट टार्न केपी ओली सफल भएका बताइन्छ । त्यसैले आफ्नी बुहारीलाई चाहेको पद दिलाउन पौडेल सफल हुँदै आएका छन् ।