यौनजन्य हिंसाविरुद्धको लघु चलचित्रमा फगुनिया प्रथम

यौनजन्य हिंसाविरुद्धको लघु चलचित्रमा फगुनिया प्रथम


  • तस्बिर रासस

टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाको अन्तरराष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले तेस्रो संस्करणको लघु चलचित्र (सर्ट फिल्म) प्रतिस्पर्धामा सरिता शाहको फगुनिया पहिलो भएको छ । शाहले रु २५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

त्यस्तै पुष्पा जोशी र एन्जेला चौधरीको ललिताले दोस्रो र श्रृषा कुँवर र अस्मिता लावतीको समाइराले तेस्रो स्थान हासिल गरेका छन् । उहाँहरुले क्रमशः रु १५ र १० हजार प्राप्त गर्नुभयो । त्यस्तै ब्रिटिश काउन्सिलका सहयोगमा आयोजित प्रतियोगितामा सोनाम छेके लामाको द माउण्टेन आर एन्ग्रीले जलवायु परिवर्तन विधामा रु २५ हजारसहित उत्कृष्ट स्थान प्राप्त गऱ्यो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सिलसिलामा आयोजित लघुचलचित्र प्रतिस्पर्धामा महिला निर्देशकद्वारा निर्देशित देशभरबाट १७ लघुचलचित्र प्रस्तुत गरिएको थियो । चलचित्रका निर्माता, निर्देशक, निर्णायकमण्डल, आइवार्ट समूहका सीमित सहभागीका बीच प्रतिस्पर्धा कार्यक्रम आयोजना गरिएको हो ।

टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाको अन्तरराष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले तेस्रो संस्करणको लघु चलचित्र (सर्ट फिल्म) प्रतिस्पर्धा सम्पन्न गरेको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सिलसिलामा आयोजित लघुचलचित्र प्रतिस्पर्धामा महिला निर्देशकद्वारा निर्देशित देशभरबाट १७ लघुचलचित्र प्रस्तुत गरिएको थियो ।

वरिष्ठ कलाकार मिथिला शर्मा, चलचित्र विकास बोर्डका चिरञ्जीवी गुरागाईं, निर्माता तथा निर्देशक सुदर्शन थापा, निर्देशक÷लेखक सम्पदा मल्ल, नेपाल टेलिभिजनका प्रमुख निर्माता तथा आइवार्ट नेपालका सचिव नीता सापकोटालगायत निर्णायक टोलीले कथा, निर्देशन÷सन्देशका आधारमा चलचित्र मूल्याङ्कन गरेको थियो ।

कार्यक्रममा सिडका उपाध्यक्ष बन्दना राणाले महिलाको विषय केवल महिलाको मात्र नभएर समग्र समाजको नै भएको र महिला हिंसा कम गर्नका लागि समाजको मानसिकतामा नै परिवर्तन हुनपर्नेमा जोड दिनुभएको थियो ।

आइवार्ट नेपाल च्याप्टरका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले महिला निर्देशकको सीप विकास गर्दै महिला तिनको सङ्ख्या बढाउनको लागि सर्ट फिल्मबीच प्रतिस्पर्धा आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताका संयोजक इच्छा गुरुङले सर्ट फिल्म प्रतिस्पर्धाका प्रक्रियागत मूल्याङ्कनका बारेमा जानकारी दिनुभएको थियो ।