अमेरिकाबाट सरूले भनिन्- ‘जाने कुरै नगर !’

अमेरिकाबाट सरूले भनिन्- ‘जाने कुरै नगर !’


  • राजन घिमिरे

सरू सिवाकोटी निकै उत्साहित छिन् यतिबेला । जीवनमा पहिलोपटक आफ्नो म्यूजिक भिडियो बाहिरिँदा उनको लागि आएका बधाई र स्याबासीका शब्दहरुले उनलाई निकै आल्हादित तुल्याएको छ । यसबाट उल्लसित बनेकी सरू भन्छिन्- ‘कलाकरिताको यो पहिलो खुड्किलो मेरो लागि जीवनकै अविष्मरणीय क्षण बनेको छ ।’

लामो समयदेखि अमेरिकालाई कर्मभूमि बनाए तापनि नेपाली गीत/संगीत र कलाकारिताको अन्य पाटाहरूको समेत उनी प्रशंसक हुन् । सधैं अरूको अभिनय र भिडियो हरेर दङ्ग पर्ने सरूको मनमा पनि यो विधामा आफ्नो उपस्थिति जनाउने रहर त थियो, तर विविध कारणले उनको त्यो सपना पूरा भएको थिएन ।

यस पटक भने नेपाल आगमनको समय पारेर सरूले आफ्नो त्यो सपना पूरा गरिन् । पहिलो म्यूजिक भिडियोमा नै यतिबेलामा लोकप्रिय अभिनेता पुष्प खड्कासँग स्क्रीन सेयर गर्न पाएकोमा उनले आफूलाई लक्की मानेकी छन् । ‘चलेका, खारिएका र मनपराइएका हिरोसँग काम गर्न पाउनु पनि कम गौरवको कुरा होइन । म निकै खुशी छु’- उनले भनिन् ।

सरू यतिबेला अमेरिका फर्किसकेकी छन्, तर नेपालमा उनको चर्चा शुरू भैसकेको छ । शनिबारबाट बजारमा आएको म्यूजिक भिडियो ‘जाने कुरै नगर’ मा सरूको काम हेर्ने जो कोहीले पनि उनलाई नयाँ भन्नै सक्दैन ।

गीतमा निशान भट्टराई र अन्जिला परियारको आवाज रहेको छ भने भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । कर्णप्रिय गीत संगीतको साथमा उत्कृष्ट भिडियोले यो गीत सबैको प्रिय बन्ने देखिन्छ ।