‘मह’जोडी टेलिकमको सद्भावना दूत नियुक्त

‘मह’जोडी टेलिकमको सद्भावना दूत नियुक्त


मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाइ ‘महजोडी’को रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले सद्भावना दूत नियुक्त गरेको छ ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आमजनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरको भूमिका सहयोगी हुने विश्वास लिएको बताए ।

कम्पनीका सद्भावना दूतद्वय श्रेष्ठ र आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको दूत हुन पाएकामा आफूहरुले गौरवान्वित महसुस गरिरहेको बताए । सम्झौतापछि मह जोडीले नेपाल टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्राण्ड प्रवद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्य गर्नेछन् ।