किन बढ्दैछ सम्बन्धबिच्छेद ?

किन बढ्दैछ सम्बन्धबिच्छेद ?


बढ्दो सम्बन्धबिच्छेदको कारण बुझ्नका लागि अदालतमा दिइने परम्परागत निवेदन बाधक छन् । आफ्नै कमाइमा बाँचिरहेका भए पनि लोग्नेले खान-लाउन दिएन, कुटपिट गऱ्यो जस्ता कुराहरू लेखेर महिलाले निवेदन हालेपछि सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढ्छ ।

  • बबिता बस्नेत


स्थानीय निर्वाचनपछि गाउँ-ठाउँका धेरैजसो मुद्दा-मामिला स्थानीय निकायले नै हेर्छ । प्रहरी र अदालतसम्म पुग्नुअघि कतिपय विषयलाई स्थानीय तहको न्यायिक समितिले नै छिनोफानो गर्ने गरेको छ । विभिन्न जिल्लामा पुग्दा र राजधानीमै पनि उपमेयरहरूसँग भेटघाट हुँदा प्रायः ‘के-कस्ता मुद्दाहरू आइरहेका छन् ? कसरी ब्यवस्थापन गरिरहनुभएको छ ?’ भनी सोध्ने गर्छु । धेरैजसो मुद्दा सम्बन्धबिच्छेदको हुने गरेको जवाफ आउने गरेको छ । प्रायः उपमेयर र न्यायिक समितिका अन्य सदस्यहरूको भनाइ हुन्छ- ‘धेरैजसो मुद्दा पति-पत्नीको सम्बन्धसँग सम्बन्धित हुन्छन् । समस्या लिएर आउनेहरूमध्ये कतिचाहिँ हामीकहाँ आएपछि मिलेर जानेगरेका पनि छन् ।’ महानगरपालिका, नगरपालिकाका उपमेयर र गाउँपालिकाका उपाध्यक्षहरू न्यायिक समितिका संयोजक छन् । आफ्नो गाउँ-ठाउँमा विवाहित जोडीहरू यति धेरै विभाजित मन लिएर सँगै बसिरहेका रहेछन् भन्ने कुराले जनप्रतिनिधिहरूलाई अचम्भित बनाएको छ । अरुको समस्या हेर्ने ठाउँमा बसेका कतिपय जनप्रतिनिधिहरूकै पनि सम्बन्ध नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।

दिउँसो कार्यालयमा समस्या लिएर आएका जोडीलाई मिलेर बस्नुपर्छ भनेर सम्झाउँदै गर्दा अघिल्लो रातको आफ्नै घरभित्रको झगडाले आफूलाई नराम्ररी बिथोलेको एक जनप्रतिनिधिको कहानी सुन्दा त्यसप्रकारको मानसिक तनावका बीच उहाँले आफूलाई कसरी अगाडि बढाउनुहोला जस्तो पनि लागेको थियो । सातजन्मको साथ भनेर मानिने पति-पत्नीको सम्बन्ध हाम्रो समाजमा अनुमान नै गर्न नसक्ने गरी नाजुक बन्दै गएको छ । गाउँ र शहरलाई परिवर्तन गर्ने प्रतिबद्धतासहित सम्बन्धित स्थानमा पुगेका जनप्रतिनिधिहरू पुलपुलेसा, बाटोघाटो, स्वास्थ्यचौकी, शौचालय या भनौँ भौतिक संरचनाभन्दा पनि एकार्काबीच जोड्नै गाह्रो हुने गरेर भत्किएको पति-पत्नीको मनलाई कसरी जोड्ने भन्ने कुरामा अल्झिनु परिरहेको छ ।

पूर्वीय सभ्यता, परम्परा र संस्कृतिमा गर्व गर्ने नेपाली समाजमा पश्चिमा संस्कृति भन्ने गरिएको ‘सम्बन्ध बिच्छेद’ दिन-प्रतिदिन बढ्दो छ । गाउँ, शहर, शिक्षित, कम शिक्षित, विभिन्न जाति, धर्म, समूदाय, क्षेत्र, वर्ग सबैमा करिव-करिव समावेसी तरिकाले नै धेरैका सम्बन्धहरू सङ्कटमा छन् । जिन्दगी खुसीले बाँच्नका लागि गरिएको विवाहका ‘साइड इफेक्ट’हरू बढ्दै जाँदा बडो सकसपूर्ण तवरले जीवन बाँच्नेहरूको सङ्ख्या बढिरहेको छ । सबै त नभनौँ तर अधिकांश पति-पत्नीका सम्बन्धहरू जोखिमपूर्ण तवरले अघि बढिरहेका छन् । जबर्जस्ती अगाडि बढाउन खोज्दा पनि अघि बढ्न नसक्ने अवस्था आएपछि कानूनी प्रक्रियामार्फत सम्बन्धहरूको मृत्यु हुने गरेको छ । आफैंले जोडेको सम्बन्धको निधनले आफू बाँच्ने अवस्था आउँछ भने मृत्यु र जीवनबीच जीवन रोज्नेहरू पनि छन् । विवाहकै कारण पूर्ण जीवन बाँचेको अनुभूति गर्नेहरू पनि छन् । पति-पत्नीबीच सौहार्दपूर्ण रूपमा जीवन चल्न सक्यो भने विवाह समाज विकासका लागि महत्वपूर्ण संस्था हो ।

विवाह केका लागि ? सँगै बस्ने साथीका लागि, खाना पकाएर खुवाउने मान्छे चाहिएकाले, स्याहारसुसार चाहिएर, यौन सम्बन्ध या बच्चा पाउनलाई, श्रीमान् या श्रीमतीले पाल्छ कि भनेर या केका लागि ? आफैसँग यो प्रश्न गरेर स्पष्ट जवाफ तयार भएपछि विवाह गर्नेहरूलाई वैवाहिक जीवन धान्न सजिलो हुन्छ ।

हिजोआज सामाजिक सञ्जालमा विवाहको यति वर्ष पुग्यो, यतिका वर्ष बितेको थाहै भएन भनेर धेरैजसोले लेखेका देखिन्छन् । जसले समय बितेको साँच्चिकै थाहा पाएनन् तिनले लेख्नै पर्दैन । जसले पल-पलमा सम्बन्धको मूल्य चुकाए, चुकाइरहेका छन्, तिनलाई त्यति लेखेर भए पनि सन्तुष्टि लिनुपर्ने हुन्छ । सामाजिक सञ्जालमा पति-पत्नीका सम्बन्धहरू फष्टिएझैँ देखिए पनि अदालतका पछिल्ला तथ्याङ्कले नेपाली समाज फरक अवस्थातिर ढल्किरहेको सङ्केत गर्छ । जुन अवस्था परिवार, समाज र मुलुकका लागि निश्चय नै राम्रो होइन, तर यो सब कुराको जानकारी हुँदाहुँदै पनि सम्बन्धको यो सङ्क्रमणकालबाट मुक्ति पाउन त्यति सहज भने देखिँदैन ।

समय परिवर्तन भयो, विगतको तुलनामा छोरा र छोरीबीचका हुर्काइहरू फरक हुन थाले । शिक्षासँगै सोचमा परिवर्तन आयो । विगतमा तिमीले सहनुपर्छ भनेर हुर्काइएका छोरीहरूले आफूमाथिको अन्याय सहेरै जिन्दगी बिताए । अहिले सहनुहुन्न है… कुनै पनि प्रकारको अन्यायमा शून्य सहिष्णुता भन्दै हामी छोरीहरू हुर्काइरहेका छौँ, उनीहरूले सहन छोडे । सबैभन्दा ठुलो समस्या हाम्रो सोचमा देखिन्छ । यसबीचमा महिलाहरूमा सचेतना बढ्यो, पुरुषहरूले पितृसत्ताको जंजालबाट मुक्ति पाएनन् । फलतः सम्बन्धलाई बुझ्ने र हेर्ने दृष्टिकोणहरू उस्तै हुन सकेनन् । सम्बन्धबिच्छेदको पृष्ठभूमि ‘विवाह’का बारेमा हामीकहाँ फरक तरिकाले सोचिएकै छैन । केटा र केटी दुवै पक्ष सम्पूर्ण रूपमा स्वार्थप्रेरित भएर विवाह गर्छन्, गर्ने चलन छ । अझ कतिपय समुदायमा त केटा र केटीको भन्दा बढी तिनका बाबुआमा या परिवारको स्वार्थ गाँसिएको हुन्छ । विवाहलाई बन्धनमा बाँधिने भन्ने गरिएको छ । हेरक ब्यक्तिका आ-आफ्नै स्वतन्त्र सीमाहरू हुन्छन् । विवाहलाई बन्धन भन्दा स्वतन्त्र अस्तित्वका बीचको एकताका रूपमा लिन सक्ने हो भने यो समस्या यति धेरै बढ्ने थिएन होला । अर्कोचाहिँ स्पष्ट दृष्टिकोणको खाँचो पनि हो । विवाह किन गर्ने भन्ने कुराको स्पष्टताबिना नै गरिएका र क्षणिक प्रेममा परेर गरिएका विवाहहरू बढी जोखिममा पर्ने गरेका छन्। विवाह केका लागि ? सँगै बस्ने साथीका लागि, खाना पकाएर खुवाउने मान्छे चाहिएकाले, स्याहारसुसार चाहिएर, यौन सम्बन्ध या बच्चा पाउनलाई, श्रीमान् या श्रीमतीले पाल्छ कि भनेर या केका लागि ? आफैसँग यो प्रश्न गरेर स्पष्ट जवाफ तयार भएपछि विवाह गर्नेहरूलाई वैवाहिक जीवन धान्न सजिलो हुन्छ । तर यसमा प्रतिप्रश्नहरू पनि जरुरी हुन्छन् । कसैले पाल्छ भनेर गरिएको विवाह भोलि उसले पाल्न नसक्ने अवस्था आयो भने के गर्ने ? बच्चाका लागि भनेर गरिएको विवाह बच्चा नहुने अवस्था आए के गर्ने ? यी र यस्ता कुराहरूको विकल्पसहित सोचेर गरिएका विवाहहरू सायद सफल हुन्छन् ।

साँझ हुने झगडामा ‘म तिमीसँग अब कुनै हालतमा बस्न सक्दिनँ, भोलि नै अदालत जान्छु’ भन्दै भोलिपल्ट सामान्य दिनचर्यामा रहने, फेरि केही दिनपछि यही सम्वाद दोहोऱ्याउने गर्दै कति जोडी ‘सँगै’ बाँचिरहेका होलान्, अनुमान गर्न सकिन्छ । कतिले चाहिँ त्यहाँसम्म नपुगी अनेक आरोप-प्रत्यारोपका बीच सम्बन्धलाई अगाडि बढाइरहेको देखिन्छ । सम्बन्ध पुनः जोडिनै नसक्ने गरी ध्वस्त भइसक्दा पनि जबर्जस्ती धान्न खोजिरहेकाहरूको सङ्ख्या यहाँ ठुलो छ ।

कतिपय मानिसहरू भन्ने गर्छन्- वैदेशिक रोजगारीले पारिवारिक संरचना ध्वस्त बनायो । लोग्ने या स्वास्नी विदेशमा काम गर्न गएका कारण विवाहेत्तर सम्बन्ध मात्र होइन सम्बन्धबिच्छेद पनि बढ्यो । तर सम्बन्धहरू त सँगै बसेकाहरूबीचको पनि बिग्रिरहेकै छन् । सँगै जिउन नसकेर अदालतसम्म पुगेका ती मुद्दाहरूमध्ये कमै मात्र वैदेशिक रोजगारीसँग जोडिएका छन् । कतिपयले भनेको सुनिन्छ- महिलाहरू सशक्त भए, यो सब सशक्तिकरणको प्रतिफल हो ! तर घर-संसार बाहेकको कुरा थाहै नपाएकाहरूले पनि सम्बन्धबिच्छेदका लागि मुद्दा हालिरहेका छन् । सशक्तिकरण सम्बन्धबिच्छेदको सूचक बन्न पनि हुँदैन । धेरैले भन्छन्, शिक्षाले महिलामा चेतना भऱ्यो त्यसैले सम्बन्धबिच्छेद सामान्य झैँ बन्न लाग्यो ! तर मुलुकभरीका जिल्ला अदालतमा परेका मुद्दाहरूलाई हेर्ने हो भने यसलाई पनि सम्पूर्ण सत्य मान्न सक्ने अवस्था छैन ।

नेपालको कानूनमा पहिला पुरुषहरूलाई सम्बन्धबिच्छेद गर्न गाह्रो थियो, महिलाले चाहे भने कुनै पनि बेला गर्न सक्थे । तर अब पुरुषले पनि चाहेको बेला सम्बन्धबिच्छेद गर्ने ब्यवस्था गरिएको छ ।

सम्बन्धबिच्छेदको कुरा हाम्रो समाजमा पहिला महिलाको मात्र प्रतिष्ठाको विषय बनाइन्थ्यो । तर केही समययता पुरुषहरू पनि यसबाट नराम्ररी पिरोलिएका देखिन्छन् । महिलाहरूले आफूमाथि भएका अन्यायलाई ब्यक्त गर्न सक्ने ठाउँहरू छन्, निकायहरू छन् । यो समाजले पहिला जसरी ठुला निर्णायक स्थानहरूमा महिलाको सहभागिता र तिनको ‘मास्क्युलिन’ भूमिकाको कल्पना गरेन, त्यसैगरी पुरुषहरूमाथि हुनसक्ने अन्यायको परिकल्पना पनि गरिएको रहेनछ । फलतः आफूलाई सधैं ‘बहादुर’ देखाउनुपर्ने पुरुषहरूले सङ्कुचनताको परिधिलाई नाघ्न सकेका छैनन् ।

सम्बन्धबिच्छेद के कारणले हुन्छ ? आखिर सम्बन्धहरू किन यसरी टुटिरहेका छन् ? यसको खोजी हामीकहाँ गरिएको छैन । बढ्दो सम्बन्धबिच्छेदको कारण बुझ्नका लागि अदालतमा दिइने परम्परागत निवेदन बाधक छन् । आफ्नै कमाइमा बाँचिरहेका भए पनि लोग्नेले खान-लाउन दिएन, कुटपिट गऱ्यो जस्ता कुराहरू लेखेर महिलाले निवेदन हालेपछि सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढ्छ । महिला हुन् या पुरुष, जे भएको हो त्यही कुरा लेखेर सम्बन्धबिच्छेद गर्ने कानूनी प्रक्रिया अघि बढ्यो भने यसको कारण स्पष्ट हुनेछ ।

नेपालको कानूनमा पहिला पुरुषहरूलाई सम्बन्धबिच्छेद गर्न गाह्रो थियो, महिलाले चाहे भने कुनै पनि बेला गर्न सक्थे । तर अब पुरुषले पनि चाहेको बेला सम्बन्धबिच्छेद गर्ने ब्यवस्था गरिएको छ । मुलुकी देवानी संहिता, ऐन, २०७४ ले पतिले पनि सम्बन्धबिच्छेद गर्न पाउने ब्यवस्था गरेको छ । सम्बन्धबिच्छेदसम्बन्धी ब्यवस्थाको धारा ९४ मा पतिले सम्बन्धबिच्छेद गर्न पाउने अवस्था यसरी उल्लेख गरिएको छ- ‘पत्नीले पतिको मञ्जुरी नलिइ लगातार तीन वर्ष वा सोभन्दा बढी अलग बसेमा, पत्नीले पतिलाई खान-लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने या अरु कुनै मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल-प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।’ यता, ‘पतिले जबर्जस्ती करणी गरेमा’ भन्ने बाहेक पत्नीले सम्बन्धबिच्छेद गर्न पाउने ब्यवस्था पनि करिब उस्तै-उस्तै छन् । नयाँ कानूनले पतिको भन्दा बढि कमाइ भएकी पत्नीले सम्बन्धबिच्छेद गर्न चाहेमा पत्नीलाई खर्चभराइको ब्यवस्था गर्नु नपर्ने ब्यवस्था गरेको छ ।