परीक्षा सकेर धादिङ घुम्न गएका छात्रहरु त्रिशुलीमा स्कुलबससँग ठोक्किँदा…

परीक्षा सकेर धादिङ घुम्न गएका छात्रहरु त्रिशुलीमा स्कुलबससँग ठोक्किँदा…


नुवाकोटको बेलकोटगढी नगरपालिका-८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ, दुई जना घाइते भएका छन् ।

दुर्घटनाबाट मृत्यु हुनेमा काठमाडौंनिवासी रुविन रावल र स्वीकार राना छन् । उनीहरुको उमेर करिब २०-२१ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् । घाइते हुनेमा उपकार थापा र ऋतिक तिवारी रहेका छन् ।

उनीहरुको त्रिशूली अस्पताल नुवाकोटमा उपचार हुन नसक्ने भएकाले थप उपचारको लागि काठमाडौं पठाइएको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाको भनाइ छ । घाइतेमध्ये थापाको टाउको, हात, खुट्टालगायतमा घोट लागेको छ भने तिवारीको देव्रे खुट्टा भाँचिएको छ ।

काठमाडौंको बानेश्वरस्थित ग्लोबल कलेजमा अध्ययनरत उनीहरु कक्षा १२ को अन्तिम परीक्षा सम्पन्न भएसँगै दशजना साथीहरु मिलेर पाँचवटा मोटरसाइकलमा धादिङ घुम्न जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । नुवाकोटको बट्टारस्थित अर्किड एकेडेमीको बा३क ३७२२ नंको बस बेलकोटगढी-८ काशीटारमा विद्यार्थी छाडेर फर्किन लागेको समयमा दुईवटा मोटरसाइकल ठोक्किएको हो ।

बागमती प्रदेश ०२–०४६ प १५२९ नंको मोटरसाइकलमा चढेका रुविनको घटनास्थलमा र स्वीकारको उपचारको क्रममा त्रिशूली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०२–०४४ प ३६९२ नंको मोटरसाइकलमा चढेका उपकार र ऋतिक गम्भीर घाइते भएकाले उपचारको लागि काठमाडौं पठाइएको छ भने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

photo: rss