बाटो छोडेको काङ्ग्रेस र यसको महाधिवेशन

बाटो छोडेको काङ्ग्रेस र यसको महाधिवेशन


महाधिवेशनलाई केवल ‘नेता उत्पादन गर्न’ प्रयोग गरिँदा ‘यो’ काङ्ग्रेस ‘त्यो’ काङ्ग्रेस नभएको प्रष्ट देखियो

  • यामलाल सुवेदी, डेनमार्क

नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको मत परिणाम आउने प्रक्रिया जारी नै छ । सभापति, उपसभापति, महामन्त्री र सह-महामन्त्रीहरूको चुनावी नतिजा आइसकेको छ भने सदस्यहरूको मत परिणाम पनि क्रमशः आउँदैछ । यस महाधिवेशनमा आन्तरिक लोकतन्त्रको सार्थक अभ्यासको बहानामा भएको गुटगत राजनीतिले अत्यन्तै महत्व पाएको देखियो । यसको प्रत्यक्ष असर आगामी राष्ट्रिय निर्वाचनअन्तर्गत स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा देखिने सम्भावना देखिन्छ । समय र परिवेशले नेपाली काङ्ग्रेसलाई अत्यन्तै महत्वपूर्ण घडीमा साथ दिन्छ, दिएको देखिएको पनि छ । तर काङ्ग्रेसले समय र परिवेशलाई बुझ्न र समयसापेक्ष आफूलाई उभ्याउन जहिले पनि रणनैतिक रूपमा फेल खाएको देखिँदै आएको छ । दुई तिहाई बहुमतयुक्त सरकारको नेतृत्व गरेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विघटन गरिएको प्रतिनिधिसभालाई स्वीकार गर्दै पार्टीलाई रणनीतिक रूपमा निर्वाचनमा जानका लागि तयारी गर्दै सम्पुर्ण निकायहरूमा निर्देशन पठाउनुको सट्टा संसद् पुनर्बहालीको लागि माओवादीहरूसँग मिलेर सडक आन्दोलनमा जाँदा सत्ता प्राप्त भएको होला, तर यसमा नेपाली काङ्ग्रेसले हारेको देखिएको छ । यदि काङ्ग्रेस त्यो बेला निर्वाचनमा जान तयारी गर्थ्यो भने आज नेपाली काङ्ग्रेस सबैभन्दा ठुलो पार्टी बन्नेमा कुनै शङ्का थिएन ।

क्षणिक सत्ताप्राप्तिसँगै फेरि रणनीतिक रूपमा जान सकेको देखिएन । भलै काङ्ग्रेसले ०६२/६३ मा पनि अर्को रणनीतिक महाभूल गरेको विषयलाई कसैले बिर्सन सक्दैन । पङ्क्तिकारले सदैव भन्दै आइरहेको छ कि काङ्ग्रेसले महाभुल गरेको कुरालाई हृदयङ्गम गर्नु पर्दछ । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको सन्दर्भमा मुलुकको स्थानीय निकायको सबैभन्दा सानो एकाई वडादेखि क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा सिर्जना भएको गुटगत स्वार्थले आगामी राष्ट्रिय निर्वाचनमा नेपाली काङ्ग्रेसलाई पूर्ण रूपमा सिथिल बनाउने देखिएको छ ।

महाधिवेशनलाई विचारको आदानप्रदान गर्ने थलो मानिन्छ, चालु १४औँ महाधिवेशनको दौरान यहाँ कुनै नीतिगत विषयले प्रवेश पाएनन्, यहाँ त केवल निर्वाचनमा जित कसरी हासिल गर्ने साथै निर्वाचित हुने पद र प्रतिष्ठाले पश्रय पाएको मात्र देखियो । प्रस्ट भन्दा पार्टीमा नीतिगत रूपमा कुनै विषयमा छलफल नै भएनन् । अधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरू मात्र भोटर भनेर रहेको बाँकी रमिता हेरेर फर्किने अवस्था सिर्जना गरियो । नेपाली काङ्ग्रेसलाई रणनैतिक रूपमा राष्ट्रिय राजनीतिको सबैभन्दा ठुलो पार्टी बनाउने उद्देश्य हुन्थ्यो भने काङ्ग्रेसले ११औँ महाधिवेशनबाट समर्पित हुँदै आएको सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्रको सट्टामा बेलायत, डेनमार्क, स्विडेन, बेल्जियम र स्पेन मोडलको संवैधानिक राजसंस्थासहितको हिन्दूराज्य ब्यवस्थासहितको सौद्धान्तिक धरातलमा उभिने प्रयास गर्नु पर्दथ्यो । तर गल्तीलाई स्वीकार नगरिकन जर्ज बर्नाड शाले भनेझैँ ‘झुटो ज्ञानबाट होसियार ! यो अज्ञानता भन्दा खतरनाक छ !’ त्यस्तै, वर्तमान परिवेशमा मुलुकको राजनीति पनि झुटो ज्ञानबाट निर्देशित हुँदै ०६२/६३ सालयताको राजनीतिक मुद्धाहरू, मुलुकले निर्माण गरेको विशिष्ट प्राचिन इतिहास, सभ्यता र विशिष्ट सांस्कृतिक पहिचानलाई बिर्सिएर हाम्रो समाजलाई कमजोर अनि परनिर्भर बनाउन मतियारको रूपमा उदाएको तत्कालिन विद्रोही माओवादीहरूको मुद्धाहरूमा समाहित हुनु नेपाली काङ्ग्रेसको लागि अत्यन्तै दुःखद थियो, छ । दुःखका साथ भन्नुपर्छ- नेपाली काङ्ग्रेसले यस विषयमा छलफल गर्ने चेष्टासम्म पनि गरेन ।

यहाँ प्रस्ट भन्नैपर्छ, जहिलेसम्म नेपाली काङ्ग्रेसले आफ्नो ऐतिहासिक सौद्धान्तिक मुद्धामा पुनर्विचार गर्न कन्जुस्याइँ गर्छ, तबसम्म मुलुकको राजनैतिक, आर्थिक र सामाजिक विकासमा पूर्णबिराम लाग्दछ । मुलुकको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकतालाई बलियो बनाउनको लागि राष्ट्रिय एकताको प्रतीक राजसंस्थालाई अभिभावकीय जिम्मेवारी दिन जति ढिलासुस्ती हुन्छ त्यति नै क्षण-क्षणमा नेपाल कमजोर राष्ट्र बन्दै गइरहनेछ ।

काङ्ग्रेस वास्तवमा काङ्ग्रेस जस्तो नरहँदा काङ्ग्रेसमा रगत-पसिना बगाएकाहरू काङ्ग्रेसलाई तुवाँलोभित्रको काग देखिरहेका छन् ।

मुलुकको विद्यमान आर्थिक परिसूचकहरू हेर्दा आयात र निर्यातका लागि आवश्यक ढुकुटी रित्तिएको अवस्था छ । सोको ब्यवस्थापनको लागि सरकारले हाल गैरआवसीय नेपालीहरूसँग परिनिर्भर हुनुपर्ने भएको छ । मुलुकका लागि काम गर्ने कर्मचारी, सेना, प्रहरी स्वास्थ्यसेवामा काम गर्ने कर्माचारीहरूलाई तलब खुवाउन पनि नसक्ने अवस्थामा मुलुक गुज्रिएको छ । तर मुलुकको आर्थिक भारलाई निराकरण गर्ने सरकारसँग कुनै ठोस रणनैतिक योजना छैन । विश्वबैंकले पनि पहिला जसरी जति माग्यो त्यति ऋण उपलब्ध गराउन नसक्ने समाचारहरू आइरहेको छ । त्यसकारण मुलुकले रणनीतिक रूपमा धरातलीय यथार्थ र सत्यलाई बेवास्ता गर्दै परिवर्तनको नाममा ब्यवहारिक रूपमा कार्यन्वयन गर्नैनसक्ने मुद्धाहरूलाई अँगाल्नु मुलुकलाई आर्थिक रूपमा परिनिर्भर गराउनु झुटो ज्ञानबाट निर्देशित हुनुको ज्वलन्त र सार्थक उदाहरण हो ।

जसरी नेपाली काङ्ग्रेसले विभिन्न कालखण्डमा राजनैतिक परिवर्तनको लागि नेतृत्वको महत्वपूर्ण भूमिका निर्वाह गऱ्यो, तर मुलुकको समग्र आर्थिक विकासको मुद्धाहरूमा जनभावनामुताविक काम गर्न सकेन । तर आमजनताको भावनालाई प्रतिबिम्बित गर्दै विगतमा भएका कमी-कमजोरी र गम्भीर त्रुटीहरूलाई सच्याउनको लागि यो महाधिवेशनलाई उपयोग गर्न सक्दा पनि नेपाली काङ्ग्रेसको विकल्पमा कुनै पार्टीहरू आउन सक्ने थियो । तर विडम्बना ! पार्टीको सबैभन्दा ठुलो छलफल गर्ने सकिने अवस्थामा यहाँ कुनै विषयलाई ल्याएर छलफल गर्न आवश्यक ठानिएन ।

महाभेलाको रूपमा मानिने काङ्ग्रेस महाधिवेशनमा मुलुकलाई समग्र रूपमा फाइदा हुने मुद्धाहरूको प्रवेश गराएर विभिन्न समूहमा घनिभूत छलफल र सार्थक बहस चलाइ त्यहाँबाट प्राप्त सुझावहरूलाई लिपिबद्ध गरी महाधिवेशन र महासमिति सदस्यहरूको बहुमतले पास गराउनु पर्दथ्यो । पास गरेको मुद्धाहरूलाई संसदमा पेश गराइ संसदबाट मुलुकलाई दीर्घकालीन हुन हुने मुद्दाहरूमा संविधान संशोधन गरी कार्यान्वयनमा लैजान सकिन्थ्यो । तर, यी मुद्धाहरूलाई आन्तरिक लोकतन्त्रको अभ्यासको लागि भन्दै आयोजित निर्वाचनको चटारोले सर्लक्कै निलिदियो, यहाँ मात्र जित र हार मात्र हुन गयो ।

नेपाली काङ्ग्रेसको महाधिवेशन स्थलको परिदृष्य हेर्दा नीतिगत बहसमा भाग लिने कुनै नेता तथा प्रतिनिधिहरू देखिएनन् । सबै नेता कार्यकर्ताले आ-आफ्नो समुहलाई मत माग्दै महत्वपूर्ण समयलाई बर्बाद गरेको देखियो । मैले दुई वर्षपहिले डेनमार्कको राजधानी कोपेनह्यागनमा सम्पन्न नेपाली जनसम्पर्क समितिहरूको विश्व भेलामा पनि ०६२/६३ को आन्दोलनबाट प्राप्त भएको राजनैतिक उपलब्धिहरू नेपाली काङ्ग्रेसको राष्ट्रिय राजनीति र मुलुकको लागि ठुलो भुल हो, यो भुल नेपाली काङ्ग्रेसले सुधार गर्न नसक्ने हो भने काङ्ग्रेस प्रत्येक्ष निर्वाचनतर्फ २३ सिटबाट पनि तल झर्ने सुनिश्चित छ भनी ठोकुवा गरेको थिएँ । सायद काङ्ग्रेसले त्यही नियति ब्यहोर्नुबाहेक अरु केही आश गर्न सकिँदैन ।

तथापि १४औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा काङ्ग्रेसको कुनै गुटको सदस्य नभइ नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य नवीकरण मात्रै गरी रहनु पाउनु आफूलाई स्वाभिमान महसूस गरेको छु । तर मैले मानेको काङ्ग्रेस वास्तवमा काङ्ग्रेस जस्तो नरहँदा म जस्तै काङ्ग्रेसमा रगत-पसिना बगाएकाहरू काङ्ग्रेसलाई तुवाँलोभित्रको काग देखिरहेका छन् ।

अन्त्यमा, यो पार्टीको आन्तरिक निर्वाचनमा जसले विजय हासिल गरेता पनि रणनैतिक रूपमा नेपाली काङ्ग्रेसले राष्ट्रिय राजनीतिलाई सुधार गरी, आफ्नो असली मार्गमा आएर भोक, रोग, गरिबी, अशिक्षा र बेरोजगारले आक्रान्त मुलुकको ८२ प्रतिशत भू-भागमा बस्ने दीनदुःखी नेपालीहरूको सेवामा समर्पित भई जनताको विश्वास आर्जन गर्ने शुभअवसरलाई परिणाममुखी बनाउन उर्जा मिलोस् भन्ने कामना बाहेक अरु त केही दिन सकिँदैन । भलै अहिलेको नेपाली काङ्ग्रेसले यस्ता सुझावलाई हेर्न पनि चाहँदैन ।

(सुवेदी नेपाली काङ्ग्रेसको विदेशस्थित भातृसङ्गठन जनसम्पर्क समिति डेनमार्कका पूर्वसभापति हुन् ।)