एपीएम खुला टेबलटेनिसमा दीप च्याम्पियन

एपीएम खुला टेबलटेनिसमा दीप च्याम्पियन



नेपाल आर्मीकी दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा च्याम्पियन बनेका छन् ।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिसको हलमा भएको फाइनलमा दीपले एपीएफका सन्योग कपालीलाई ११–७, १६–१४, ११–५, ६–११, ७–११ र ११–५ को सेटमा पराजित गरे ।

यसअघि महिला सिंगल्स फाइनलमा नेपाल आर्मीकी रविना महर्जनले आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सोझौ सेटमा हराउदै शीर्ष स्थान हात पारेकी थिइन् ।

सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि कीर्तिपुरका जयराम महर्जन, ५० वर्षमाथि ललितपुर टेबलटेनिस क्लबका राजेन्द्र वज्राचार्य, ६० वर्षमाथि ललितपुरका आनन्दरत्न धाक्वाले पहिलो स्थान हासिल गरेका थिए ।

यसअघि यु–१६ सिंगल्सको ब्वाइजमा न्यु हाराइजनका प्रवेश बस्नेत र गल्र्समा नेपाल आर्मीकी दिया देउला तथा मिक्स डबल्समा आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी विजेता बनेका थिए ।

प्रतियोगितामा समावेश आठै स्पर्धाका पदक विजेतालाई सिओम टेबलटेनिस नेपालले करिब ५ लाख रुपैयाँको खेल सामाग्री पुरस्कार स्वरुप प्रदान ग¥यो । प्रतियोगिताको ब्वाइजमा संस्कृति स्कुलका रायंश श्रेष्ठ तथा गल्र्समा एपीएमकी योङगी पौडेल उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई मुख्य प्रायोजक सांग्रिला डेभ्लोप्मेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, सह–प्रायोजक पूर्णशंकर श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, आयोजक प्रा.लि. का निर्देशक दानबहादुर महता, सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनलगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी थिए ।