ब्यायाम मन्दिरद्वारा राखेपका बस्नेत सम्मानित

ब्यायाम मन्दिरद्वारा राखेपका बस्नेत सम्मानित



ब्यायामको सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आफ्नो २१औं वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय खेलकुद परिषद् प्रचारप्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतलाई सम्मान गरेको छ ।

नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने नेपालकै सम्मानित र पुरानो प्रतियोगिता मि.धर्मश्रीको प्रचारप्रसारमा योगदान गरेबापत बस्नेतलाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा शारीरिक सुगठन तथा ब्यायाम मन्दिरको विकास र विस्तारमा लामो समय देखि योगदान पुऱ्याउँदै आएका संस्थाका पूर्वअध्यक्षहरु घनश्याम मुखिया र सरोज श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

उनीहरुलाई नगद ५५ हजार ५ सय ५५ नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको हो । सम्मानित ब्यक्तित्वहरुले आफुले प्राप्त नगद सम्मानको २० प्रतिशत रकम ब्यायाम मन्दिरले स्थापना गरेको अक्षय कोषलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा संस्थाले सन्तती सम्मान बाट ब्यायाम मन्दिरका सदस्य रत्न मानन्धरका सुपुत्र साजन मानन्धर र सह कोषाध्यक्ष नरेश पोडेका सुपुत्री नमिता पुजारीलाई पनि नगद १० हजार सहित सम्मानपत्रले सम्मान गरेको हो ।

यसै गरि साधारण सदस्यहरु मध्येबाट संस्थाका पूर्व अध्यक्ष, मि. नेपाल एवं अन्तराष्ट्रिय निर्णायक उदय बहादुर श्रेष्ठलाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरेको हो ।

यस्तै संस्थाका सचिव हरिश श्रेष्ठ र राम महर्जनलाई नगद २० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । ब्यायाम मन्दिरले आफ्नो कार्यक्रममा सदा सहयोग गर्ने संस्था एमआई मोवाईलका कार्यकारी निर्देशक संजय अग्रवाललाई पनि सम्मान गरेका थियो ।

सम्मानितहरुलाई प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, विशेष अतिथि राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव, बागमति प्रदेशका माननिय साँसद एवं पूर्व मन्त्री केशव स्थापित, वडा अध्यक्ष चिनियामान बज्राचार्य तथा नेपाल ब्यायाम मन्दिर सल्लाहकार समितिका संयोजक एवं पूर्व मि. नेपाल शिवलाल श्रेष्ठले सम्मानपत्र तथा पुरस्कारले सम्मान गरेका थिए ।

सो अवसरमा वार्षिक साधारणसभाले ब्यायाम मन्दिरको बार्षिक कार्यक्रम, अध्यक्ष नारायण प्रधानद्वारा प्रस्तुत कार्यपत्र, महासचिव सूर्य जोशीद्वारा प्रस्तुत प्रगती विवरण तथा कोषाध्यक्ष प्रशान्त श्रेष्ठद्वारा प्रस्तुत आयब्ययलाई अनुमोदन गरेको थियो ।