कुमारी बैंक र विद्युत प्राधिकरणको विजयी सुरुवात

कुमारी बैंक र विद्युत प्राधिकरणको विजयी सुरुवात



कुमारी बैंक काठमाडौं टिम च्याम्पियन कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा कुमारी बैंक समूह ‘ए’ तर्फ विजयी सुरुवात गर्न सफल भएको छ । कुमारीले कान्तिपुर पब्लिकेशनलाई ३–० को जित निकालेको हो ।

प्रतियोगिताको पहिलो दिन भएको प्रतिस्पर्धामा पुरुष एकलतर्फ उच्च बरियताका पुरुष खेलाडीबीचको खेलमा कुमारी बैंकका सुदीप सेढाईंले कान्तिपुरका साजन कृष्ण ताम्राकालाई २१–१८, २१–१९ ले पराजित गरे ।

त्यस्तै महिलातर्फ सुनैना मुखियाले सम्झना शर्मालाई २१–९, २१–११ ले पराजित गरिन् भने कर्पोरेट युगलतर्फको खेलमा विक्रम निरौला र निरज राईको जोडीले सुशील कुमार रावल र महेश स्वारलाई २१–१५, २७–२५ ले जित निकाल्दै ३–० को जित निकालेको हो ।

काठमाडौ ब्याडमिन्ट एकेडेमीको आयोजना भएको समूह ‘बि’ तर्फको आईएमई ग्रुप र नेपाल बिद्युत प्राधिकरणविचको खेलमा नेपाल बिद्युत प्राधिकरणले ३–२ को कठिन जित निकाल्यो । प्राधिकरणले जित निकाल्ने क्रममा सुरुको दुई खेलमा हार व्यहोरेता पनि खेलमा फर्कदै जितलाई आफ्नो पक्षमा पार्यो ।

पुरुष एकलतर्फ आईएमईका नविन श्रेष्ठले विद्युतका दीपक बोहरालाई २१–१४, २१–१६ ले जित निकाले । यस्तै महिला एकल तर्फ नङ्गसल देवी तामाङ्गले शोभा चन्दलाई २१–१२, २१–१५ ले जित निकाल्दै जितलाई २–० ले आफ्नो पक्षमा पारे । तर तेश्रो खेलमा बिद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सरोज बस्नेत र ब्रिजेन श्रेष्ठको जोडीलाई २१–५, २१–१ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

यसैगरी विद्युतकी शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले आईएमईका स्मारिका यरुशा श्रेष्ठ थापा र नङ्गशल तामाङ्गको जोडीलाई २१–११, २१–१२ ले पराजित गर्दै खेललाई २–२ को बरावरीमा ल्याए । निर्णायक खेलमा दीपक बोहरा र राजु महर्जनको जोडीले नविन श्रेष्ठ र निशान्त ढकालको जोडीलाई २१–१८, २१–१८ को समान अन्तरले पराजित गदै जितलाई ३–२ का साथ आफ्नो पक्षमा पारेको हो ।

टिम प्रतियोगितामा बरियताका पुरुष एकल र महिला एकल, कर्पोरेट पुरुष युगल, महिला युगल र पुरुष युगल गरि बेष्ट अफ फाईभको गेम हुनेछ ।