राष्ट्रिय क्रिकेटका लागि गण्डकीको छनोट खेल सुरु

राष्ट्रिय क्रिकेटका लागि गण्डकीको छनोट खेल सुरु


काठमाडौंमा सञ्चालन हुने ‘प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनोट खेल पोखरामा सुरु भएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहीबार सुरु भएको पुरुषतर्फको प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुरको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँलाई चार विकेटले पराजित गरेको छ । खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १८० रनको योगफल तयार पाऱ्यो । तनहुँको तर्फबाट अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । ७१ बलको सामना गरेका उनले पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै दिनेश बुढामगरले ४३ रन जोडे ।

कास्कीको बलिङतर्फ अमृत गुरुङ्गले तीन, कृष्ण पौडेलले दुई तथा कप्तान विपिन खत्रीले एक विकेट लिन सफल भए । खेलमा विजयका लागि १८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३० दशमलव चार ओभरमा मात्रै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

कास्कीको तर्फबाट ‘म्यान अफ दी म्याच’ घोषित अनिल गुरुङले ७० तथा विधान श्रेष्ठले ६६ रन जोडे । अनिलले आठ चौका तथा दुई छक्का प्रहार गरे । विद्यानले १० चौका हिर्काए । तनहुुँका बलर चन्द्रकान्त पौडेलले तीन, अभिषेक बस्नेतले दुई तथा दिवस आचार्यले एक विकेट लिए ।

छनोट प्रतियोगिता यही पुस १३ गतेसम्म सञ्चालन हुने छ । छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रधानमन्त्री कपका लागि गण्डकीको टोली घोषणा गरिने बताइएको छ ।