नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता यही पुस १७ गते आयोजना हुने भएको छ । बुढानीलकण्ठको चुनीखेल मैदानमा हुने सो प्रतियोगिताको लागि करिब १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको जानकारी दिँदै श्रेष्ठले हेभी वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट वेट विजेताले २५ हजार नगद पुरस्कार पाउने बताइन् ।
प्रतियोगितामा नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायत खेलाडीको सहभागिता रहने जानकारी दिइएको छ ।
प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग रहने आयोजकले जनाएको छ । वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानीय पर्यटनको प्रवर्द्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए भने आयोजक संस्थाका महासचिव श्रेष्ठले कोभिडको महामारीले थलिएको पर्यटनलाई माथि उकास्न प्रतियोगिताले मद्दत पुग्ने धारणा राखिन् ।
प्रतिक्रिया