- तस्बिर रासस
साहित्यकार दिल पौडेलको आठौँ कृति हाइकूसङ्ग्रह ‘ऐलानी घाम’को विमोचन गरिएको छ । नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पुस्तकको विमोचन गर्दै कोरोनाको महामारी फैलिएपछिको बन्दाबन्दीका समयमा लेखक पौडेलले समयको सदुपयोग गर्दै आफ्नो प्रतिभाको प्रस्फुरण गरेर उक्त कृतिको सिर्जना गरेकामा खुशी व्यक्त गर्नुभयो । कुलपति उप्रेतीले नयाँ नयाँ प्रयोग गर्दै लेखकले हाइकू विधामा फरक पहिचान कायम गर्न कोसिस गरेको बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले साहित्यकार पौडेलले प्रकृति, जीवन र समयसापेक्षतालाई आत्मसात् गरेर व्यङ्ग्यप्रधानयुक्त हाइकूहरुको सङ्ग्रह प्रकाशन गरेको बताउनुभयो ।
समालोचक प्राडा रामप्रसाद ज्ञवालीले लघुतम विषयमा लेखक र पाठकको आकर्षण देखिएका बेला उक्त कृति बजारमा आएको भन्दै स्रष्टाहरुले जटिल नभई सरल तथा सम्प्रेषणीय शैलीमा सिर्जना गर्नुपर्ने बताउनुभयो भने अर्का समालोचक डा. यज्ञेश्वर निरौलाले जापानी साहित्यबाट आएको हाइकू विधालाई नेपालमा स्थापित गराउने क्रममा प्रस्तुत कृति महत्वपूर्ण हुने बताउनुभयो ।
यस्तै, नागार्जुनका अध्यक्ष प्रकाश सिलवालले हाइकू विधामा विज्ञसहित संगोष्ठी र प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गरिने योजना सुनाउनुभयो ।
कार्यक्रममा साहित्यकार महेश प्रसाईं, डा कृष्णप्रसाद दाहाल, निजामती कर्मचारी सङ्गठनको आधिकारिक ट्रेड युनियन पूर्वअध्यक्ष पुण्यप्रसाद ढकाललगायतले पौडेलको कृतित्व र व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो भने सुमिता पौडेल, माधव निर्दोष, डिजे पौडेल र युवराज नास्तिकले हाइकू र गीत प्रस्तुत गर्नुभएको थियो ।
कूल २०० पृष्ठको सो कृतिमा एक हजार ५१५ हाइकू र ५६३ सेन्यु गरी दुई हजार ७८ रचना छन् । कृतिमा एउटै अक्षरबाट सुरु भएका करिब २०० हाइकू र संस्कृति शब्दबाट बनेका केही हाइकू उच्चस्तरको प्रस्तुति पाइएको जनाइएको छ ।
पाँच, सात र पाँच गरी १७ अक्षरमा हाइकू रचना गरिन्छ । छोटो विधा मानिने हाइकूले एटम बमको प्रहार बराबरको अर्थ सामर्थ्य बोक्न सक्ने यसका विज्ञहरुले जनाएका छन् ।
प्रतिक्रिया