यस्तो छ लालीगुराँस सहकारीको पौरख !

यस्तो छ लालीगुराँस सहकारीको पौरख !



ललितपुर (पुल्चोक)स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष श्रेष्ठले संस्थाको आ.व. ०७७/७८ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराए ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारीलगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उनको भनाइ छ ।

कार्यक्रममा संस्थाका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर सञ्चालित करिब ३४ हजार सहकारीमध्ये लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए । कोरोना भाइरस (कोभिड–१९) को विद्यमान अवस्थाको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण सहकारी संस्थामा पर्न सक्ने समस्याको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

पछिल्लो तथ्याङ्कअनुसार सहकारी संघ-संस्थाहरुको शेयर पूँजी १ खर्ब ५० करोडभन्दा बढी रहेको, बचत परिचालन ८ खर्ब र सोहीबराबरको ऋण प्रवाह भएको छ । उहनले देशभर संचालित सहकारी संघ-संस्थाहरुले प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको जानकारी दिए । सहकारी क्षेत्रको पूँजीलाई उर्जा, पर्यटन, पशुपालन, उद्योग, कृषिलगायत मझौला तथा ठूला परियोजनामा लगानी गर्ने वातावरण सृजना गरी सहकारीमार्फत राष्ट्रिय अर्थतन्त्रको विकास गर्न वर्तमान सहकारी ऐन तथा नियमावलीलाई संशोधन गर्न अपरिहार्य रहेको बताए ।

सहकारीमार्फत देशको आर्थिक विकास गर्न सहकारीमैत्री कानून निर्माण गर्नुपर्नेमा जोड दिए । उनले संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरू अघि बढाउने विषयमा स्पष्ट पारे । संस्था स्थापना भएको २१ वर्ष अवधिमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिव २२ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म ‘श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर’ संचालन गरेको छ ।

यस्तै, संस्थाले गत वर्षदेखि ललितपुर गोदावरीमा ‘श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग’ समेत संचालन गरेको जानकारी दिँदै उनले निकट भविष्यमा काठमाडौको नयाँ बजार, महाराजगंज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर संचालन गर्ने तयारी गरेको खुलासा गरे ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मा.वि./कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुर गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरबकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ ।

साधारणसभामा संस्थाका सर्वाेत्कृष्ट कर्मचारीमा श्रीमती पविता थापा र उत्कृष्ट कर्मचारीमा श्रीमती उर्मिला मगरलगायतलाई प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिएका छन् ।