‘अनुशासन’ कायम गराउन खेलाडीमाथि कारवाही !
- श्रीविक्रम भण्डारी

यतिबेला नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय क्रिकेट टीमका खेलाडीबीचको विवादले नेपाली खेलकुदलाई तताएको छ । खेलाडी वर्गीकरणको सामान्य असमझदारीबाट चर्किएको विवाद अहिले सार्वजनिकरूपमै छताछुल्ल भएको छ । यही विवादका कारण क्यानद्वारा गठित अनुशासन समितिले सिफारिस गरेको आधारमा खेलाडीहरूले आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले मंसिर २९ गते खेलाडीहरूलाई चर्कै कारवाही गरिदियो । क्यानले ज्ञानेन्द्र मल्ल कप्तान र दीपेन्द्र ऐरीलाई उपकप्तानबाट मुक्त गरेको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । क्यानले अनुशासनको कारण देखाउँदै क्रिकेट खेलाडीहरूलाई कारवाही गरेपछि अहिले खेलकुदमा यसको प्रभाव सकारात्मक र नराकारात्मक दुवै परेको छ । विशेष गरेर यो घटनाले युवा तथा खेलकुद मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्मको ध्यानाकर्षण गरेको छ ।
क्रिकेटको सुन्दरता (ब्युटी) भनेकै ‘अनुशासन’ हो । त्यसैले होला क्रिकेटलाई ‘जेन्टलम्यान’ गेम पनि भनिन्छ । क्रिकेट यस्तो खेल हो जहाँ वादविवाद र प्रतिवाद गर्दा ठूलो मूल्य चुकाउनुपर्छ । जहाँ मैदानबाहिर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र मैदानभित्र अम्पायर पूर्णरूपमा हाबी हुन्छन् । यी दुईको निर्णय क्रिकेटमा अकाट्य हुन्छ, जसलाई खेलाडीहरूले शिर निहुराएर आत्मसात गर्छन् । आधुनिक क्रिकेटमा आएको परिवर्तनले अहिले डिआरएस प्रणालीको विकाससँगै खेलाडीहरूले मैदानमै अम्पायरलाई चुनौती दिन सक्छन्, निर्णयमा फेरबदल गराउन सक्छन्, तर अनुशासित भएर । त्यस्तै, खेलाडीले खेल्न पाउने अधिकार, उनीहरूले पाउने सुविधा र उनीहरूमाथि भएको सही र गलत निर्णय लगायतका सम्पूर्ण जिम्मेवारी सम्बन्धित मुलुकको क्रिकेट सङ्घको हुन्छ । खेलाडीले मात्र मेहनतका साथ खेल्ने हो । धेरैभन्दा धेरै रन बनाउँदै र विकेट लिँदै विश्व क्रिकेटमा आफूलाई सर्वश्रेष्ठ क्रिकेटर बनाउने हो । क्रिकेटमा खेलाडीहरूले कुनै गुटबन्दी र राजनीति गर्ने होइन । विश्व क्रिकेटमा यस्तो कहिँ पनि हुँदैन । यदि भयो भने आईसीसीले उक्त देशको क्रिकेट र खेलाडीहरूलाई आजीवन निलम्बन गर्न सक्छ । यो पीडा नेपालले भोगिसकेको छ ।
यस्तोमा, भरखरै बामे सर्न लागेको हाम्रो जस्तो मुलुकमा क्रिकेटमा गुटबन्दी र राजनीतिको गन्ध आउनुलाई कदापि राम्रो सङ्केत मान्न सकिदैन । एक पटक राजनीतिक हस्तक्षेपको बाहानामा आईसीसीले नेपाललाई प्रतिबन्ध लगाइसकेको छ । त्यसपछि नेपालको क्रिकेटमा कति नकारात्मक प्रभाव प¥यो भन्ने घामजस्तै छर्लङ्ग छ । विगतको यो बिर्सनलायक पाठलाई आत्मसात गर्दै क्यान र खेलाडीहरू हातेमालो गरी होस्टेमा हैंसे गर्दै अगाडि बढ्नुपर्ने अवस्थामा एकआपसमा आरोप-प्रत्यारोप गर्दै क्रिकेटको हुर्मत लिन खोज्नु आफैमा शर्मनाक कुरा हो । यस्तो क्रियाकलापले क्रिकेट भलो कदापि गर्दैन, उल्टै सङ्घ र खेलाडीको अस्तित्व नै सङ्कटमा पर्छ । यो कुरा क्यानका पदाधिकारी र क्रिकेट खेलाडीहरूले राम्रोसँग बुझेका छन् । तर उनीहरूको बुझपचाइका कारण साँढेको जुधाइमा बाच्छो परेझैँ ‘क्रिकेट’ परेको छ । नेपालको परिप्रेक्ष्यमा यो कदापि सकारात्मक मान्न सकिँदैन ।
विवादको चुरो भनेको खेलाडीहरूको वर्गीकरणमा असन्तुष्टि । यो कुनै गम्भीर कुरो थिएन, क्यानका पदाधिकारी र खेलाडीको समन्वयबाट सुल्झिन सक्थ्यो । किनकि, यसअघि पनि क्यानले खेलाडीहरूको कुरा मानेर गल्ती सच्याएकै हो, थियो । यो पटक पनि क्यानले आफूलाई सच्याउन सक्ने सम्भावनालाई कदापि नकार्न नजरअन्दाज गर्न मिल्दैनथ्यो । तर किन खेलाडीहरू आफ्नो खुट्टामा बञ्चरो हान्न उद्यत् देखिए त्यो शङ्काको घेरामा पर्नु स्वाभाविक छ । खेलाडीहरू आफ्नो माउ संस्थासँग वार्तालाप गर्नुभन्दा किन मिडियाबाजीमा उत्रिए ? यहाँ ‘दालमे कुछ काला है’ भन्दा अतिशयोक्ति नहोला । अर्को अर्थमा भन्नुपर्दा यहाँ खेलाडी कुनै गुटबाट परिचालित त छैनन् शङ्का गर्ने ठाउँ प्रशस्त छ । अन्यथा दुई दुईपटक क्यानले खेलाडीहरूलाई विवाद समाधानको लागि पहल गर्दासमेत किन खेलाडीहरू लचिलो तरिकाले प्रस्तुत भएनन् त ? राष्ट्रिय खेलाडीहरू खेल्नुको साटो माउसंस्थाको विरुद्धमा मिडियाबाजीमा उत्रिएपछि क्यानले स्पष्टिकरण सोध्नुलाई अस्वाभाविक मान्न सकिन्न । यो घटना अन्य खेलकुदका सङ्घमा घटेको भए उनीहरूले पनि यही प्रक्रिया अपनाउँथे । तर सम्बन्धित निकायले स्पष्टिकरण माग्दा उल्टै प्रश्न सोधेर जवाफ दिनु यो खेलाडीको नैतिकता तथा अनुशासनभित्र पर्दैन ।
प्राप्त जानकारीअनुसार खेलाडीहरूले विभिन्न प्रश्न उठाएर ११बुँदे ज्ञापनपत्र क्यानमा बुझाएका छन् । राम्रो कुरा, यो खेलाडीहरूको हकाधिकारको कुरा हो । आफुलाई चित्त नबुझेको कुरा उनीहरूले सम्बन्धित निकायमा राख्न पाउँछन् । त्यसमा सच्याउन र सच्चिनको लागि अनुरोध गर्न सक्छन् । यदि सम्बन्धित निकायले खेलाडीहरूको जायज मागप्रति अनदेखा र अनसुनी ग¥यो भने त्यसपछिको कुरा अर्कै हुन्थ्यो । खेलाडीहरू आफ्नो माग सम्बोधनको लागि खेलकुदको माथिल्लो निकाय राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा जानबाट कसैले रोक्न सक्तैनथ्यो । यहाँबाट न्याय नमिले खेलकुदका संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवासमक्षमा समेत पुग्ने ढोका उनीहरूका लागि खुल्लै थियो । तर यहाँ खेलाडीहरूले आफ्नो विवेक र दूरदर्शिता किन प्रयोग गरेनन् चिन्ताको विषय बनेको छ । यहाँ खेलाडीको अहमता र अदूरदर्शिता प्रस्टरूपमा देख्न सकिन्छ । खेलाडी हुँ भन्दैमा ‘मेरो गोरुको बाह्रै टक्का’ भनेजस्तो अभिमान पाल्नु उनीहरूलाई शोभा दिँदैन । घर हो कहिलेकाहीँ विवाद र कलह हुन्छ, त्यसलाई स्वभाविकरूपमा लिनुपर्छ । रिसको झोकमा आवेगमा आएर आफ्नो खाइपाइ आएको घर कदापि जलाउन मिल्दैन, त्यसमा क्यानका पदाधिकारी र खेलाडीहरू सचेत हुनु जरुरी छ । अन्यथा क्रिकेट विवाद ‘बाँदरको हातमा नरिवल’ बन्ने पक्का छ । जसले नेपाली क्रिकेटलाई टुटाउने र फुटाउने कार्य मात्र गर्नेछ ।
पछिल्लो समय नेपाली क्रिकेटमा जसरी विवाद उत्पन्न गराउन खोजिएको छ त्यसको आवरणमा ज्ञानेन्द्र मल्ललाई प्रस्तुत गरिए पनि पर्दा पछाडिको खेलाडी अर्कै भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले दिएको अभिव्यक्तिबाट अनुमान लगाउन सकिन्छ । अध्यक्ष चन्दले राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्कातर्फ निसाना साँध्दै केहि सन्यास लिएका खेलाडी क्यानमा विवादको आगो सल्काउन सक्रिय रहेको सार्वजनिक रूपमै टिप्पणी गरेका थिए । अहिलेको क्यानको विवादमा कतै ज्ञानेन्द्र मल्ललगायतका खेलाडीहरू पारसको मोहरा बनिरहेका त छैनन् ? शङ्का उत्पन्न हुनु स्वभाविकै हो । पारस खेलाडी मात्र नभै एक महत्वकाङ्क्षी व्यक्ति पनि हुन् । पारस क्यानले क्रिकेट चलाउने नभइ खेलाडीहरूले क्रिकेट चलाउनुपर्ने सोच राख्छन् । यही कारण उनी क्यानमा आफ्नो अनुकुलको व्यक्ति आएको देख्न र राख्न चाहन्छन् । यो कुरालाई तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामासमक्ष पारसले राखेको प्रस्तावले पनि प्रमाणित गर्छ । क्रिकेट विवादमा होमिँदा पारसले लामालाई क्यानमा हस्तक्षेप गरेर अध्यक्ष बन्न अनुरोध गरेका थिए । पारस उत्कृष्ट खेलाडी हुन् भन्नेमा दुईमत छैन तर अनुशासनको मामला पारस त्यतिकै कमजोर खेलाडी पनि हुन् । अझ अध्यक्ष चन्दले गरेको टिप्पणी र अहिलेको क्यानको विवाद देख्दा कतै पारसले नै यो विवाद मुख्य नायक त होइनन् ? प्रश्न खडा भएको छ । यदि यो विवादमा पारसको भूमिका देखिए उनी ‘खतरनाक’ खेलाडीको सूचीमा पनि पर्ने पक्का छ ।
अहिले क्यानको विवाद चरमोत्सर्गमा छ । खेलाडीहरू आफ्नो माग पूरा गराउन मिडियाबाजीमा उत्रिसकेको अवस्था छ । त्यस्तै, क्यानकै कार्यसमितिका असन्तुष्ट पक्षका सदस्यहरू छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले क्यानको निर्णयलाई नियोजित षडयन्त्रको संज्ञा दिँदै खेलाडीमाथि गरिएको कारवाही फिर्ता लिन माग गरेका छन् । यसैगरी क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले क्यानले क्रिकेट खेलाडीमाथि गरेको कारवाहीप्रति आपत्ति प्रकट गरेको छ । तर क्यान भने आफूले गरेको निर्णयप्रति कुनै किसिमको सम्झौता गर्ने पक्षमा देखिएको छैन । यसरी अहिले सामान्य विवादको आगाले नेपाली क्रिकेटलाई नराम्रोसँग हेराबन्दीमा पारेको छ । अब यो आगोमा पानी हाल्ने काम कसले गर्छ र क्रिकेटलाई निकास दिन्छ, त्यो हेर्न लायक भएको छ । कामना गरौँ बाहिरी हस्तक्षेप हुनुभन्दा पहिले क्यानका पदाधिकारी र राष्ट्रिय क्रिकेट खेलाडीको सदबुद्धि पलाओस् ।
प्रतिक्रिया