बलिउडकी गायिका असीस कौरले काठमाडौंका दर्शक नचाउने

बलिउडकी गायिका असीस कौरले काठमाडौंका दर्शक नचाउने



बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । आगामी जनवरी ८ का दिन काठमाडौंको दरबारमार्गस्थित क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् ।

फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पूरा गर्न कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए । विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश समेत उक्त कार्यक्रमले दिने दाबी गर्दै खानले भने- ‘कौरको राता लम्बिया गीत अहिले ब्यापक हिट भएकोले पनि बजारको माहोल हेरेर उनलाई नेपाल ल्याउन लागिएको हो ।’ नेपालमा बलिउड सेलिब्रेटीको प्रस्तुति नभएको धेरै समय भएको समेत उनले सुनाए ।

कार्यक्रममा असीस कौरका अलवा नेपाली गायक यावेश थापाको पनि धमाकेदार प्रस्तुति रहने बताइएको छ । असीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ । कौरले इन्डियन आइडल, आवाज पंजाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिइसकेकी छन् । सन् २०२० मा खुदा हाफिज फिल्मको ‘जान बन गए’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो ।

पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छन् ।

केसरी फिल्मको ‘भे माही’, ड्राइभ फिल्मको ‘मखना’, सिम्बा फिल्मका दुई गीत ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, लभयात्री फिल्मको ‘आख लड जावे’, ‘छोगडा’ र कपुर्स एण्ड सन्स फिल्मको ‘बोलना’ गीतमा उनले आफ्नो स्वरको जादु पस्किसकेकी छिन् । २०२१ को फिल्म फेयर अवार्ड कार्यक्रममा समेत उनले आफ्ना हिट नम्बरबाट दर्शक नचाउने छिन् ।

कार्यक्रमका लागि कौर ७ जनवरीमा नेपाल आउने छिन् भने कन्सर्टको टिकट इ-सेवाबाट पनि प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।