शीर्ष वरियताका सलोनी तामाङलाई टेनिसमा दोहोरो उपाधि

शीर्ष वरियताका सलोनी तामाङलाई टेनिसमा दोहोरो उपाधि


नेपालका शीर्ष वरियताका सलोनी तामाङले पोखरामा टेनिस प्रतियोगितामा एकैपटक दुईवटा उपाधि जित्न सफल भएकी छन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी १८औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगितामा उनले महिला एकल तथा ‘डबल्स’मा गरी दुई उपाधि चुम्न सफल भएकी हुन् ।

महिला एकलतर्फ तामाङले गङ्गा शर्मालाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरिन् । डबल्सतर्फ सलोनी र माहिका राणाको जोडीले सुभाङ्गी लक्ष्मी शाह र अभिलाषा विष्टको जोडीमाथि ६–१ र ६–३ को नतिजा निकाल्दै उपाधि जितेको हो ।

प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि अक्की जुवेन रावत र आरब सम्राट हाडाको जोडीले जितेको छ । फाइनल खेलमा सो जोडीले प्ररण खनाल र जितेन्द्र परियारको जोडीलाई ७–६ र ६–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो ।

यसैगरी ३५ वर्षमाथिको डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रथम स्थान हासिल ग¥यो । राजु क्षेत्री र सुदर्शन विष्ट जोडीसँगको अन्तिम भेटमा भण्डारी जोडीले ६–४ र ७–६ को नतिजा निकालेको थियो । पुरुषतर्फ ५५ वर्षमाथिको एकलतर्फ कृष्णराज घलेलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्दै विमल गुरुङले उपाधि आफ्नो पक्षमा पारे । प्रतियोगितामा ५५ वर्षमाथिको डबल्स प्रतिस्पर्धामा नेपालका भेट्रान्स च्याम्पियन कमल थापा र झ्याम्पा ढुण्डुपको जोडीले उपाधि जितेको छ ।

प्रतिस्पर्धात्मक खेलमा थापा जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ सङ्घर्षपूर्ण जित हासिल ग¥यो । पैँसठ्ठी वर्षमाथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङलाई ४–० र ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरे ।