‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारी’

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारी’


हवाई रुटका सम्बन्धमा भारतसँग कुराकानी भएको पर्यटनमन्त्रीको दाबी

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा आउने दाबी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले करिब निर्माण सम्पन्न रहेको उक्त विमानस्थल आगामी तीन महिना भित्र उद्घाटन गरिने बताएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री आलेले गौतमबुद्ध विमानस्थलमा छिट्टै ‘क्यालिब्रेसन फ्लाइट’ गरेर व्यावसायिक उडान सञ्चालन गरिने उल्लेख गरे । उनले भने, ‘अब हामी भैरहवा विमानस्थल उद्घाटनको सङ्घारमा छौँ । हवाई रुटका सम्बन्धमा भारतसँग हालै नयाँ दिल्लीमा त्यहाँको एभिएसन मिनिस्टरसँग कुराकानी भएको छ । कागजात ल्याउनुस् हामी सकारात्मक छौँ भन्नुभएको छ, चाँडै यो प्रक्रिया टुङ्गिने अपेक्षा गरिएको छ ।’

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत सम्पन्न भई रन-वे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङग सिस्टम, एक्सरे आदि उपकरण जडान कार्य सम्पन्न भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पर्यटनमन्त्री आलेले छिटो ‘विजनेश प्लान’ ल्याएर कम्तीमा १४ वटा जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायुसेवा निगम नेतृत्वलाई निर्देशन दिइसकिएको जानकारी दिए । ‘मैले धेरै अगाडि पनि भनेको थिए । प्राधिकरणले भटाभट विमानस्थल बनाउँदै जान्छ, तपाईं (वायुसेवा निगम) अन्य कम्पनीका नयाँ जहाज गनेर बस्नुस् । भएका जहाज मर्मत गरेर उडाउनुस् भनिरहेको छु’, मन्त्री आलेले भने ।