वैष्णोदेवी मन्दिर जाने बाटोमा भागदौड हुँदा १२ जनाको मृत्यु

वैष्णोदेवी मन्दिर जाने बाटोमा भागदौड हुँदा १२ जनाको मृत्यु



दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका बेला शनिबार बिहानै भारतीय धार्मिक स्थल वैष्णोदेवी मन्दिर जाने बाटोमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

भारतप्रशासित कश्मीरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब २ः१५ बजे १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । खासगरी भारतीय हिन्दूहरूले विशेष महत्वको धार्मिक स्थलका रूपमा मान्ने यहाँ हरेक वर्ष लाखौं मानिसहरूले वैष्णोदेवीको दर्शन गरी पूजा अर्चना गर्दछन् ।

घटनामा बाँच्न सफल रविन्द्र नामक व्यक्तिलाई उद्धृत गर्दै एएफपीजनाएअनुसार एकाएक हल्ला र भागदौड मच्चियो, मानिसहरू एकअर्कामाथि लड्न थाले, कसको खुट्टा वा पाखुरा भाँचियो कसैलाई मतलब भएको देखिँदैनथ्यो, सबै आफ्नो ज्यान बचाउन भागिरहेका देखिन्थे ।

उक्त घटनाको भाइरल बनेको भिडियोमा डरले थरथर काँपीरहेका तीर्थयात्रीहरू बच्न हतारहतार नजिकैको ढिस्कोमा चढिरहेका देखिन्छन् ।

स्थानीय अधिकारीहरूले दुई समूहका युवाहरूबीच भएको कथित मतभेद र नयाँ वर्ष दिवसका लागि मानिसहरूको दौडधूप घटनाको मुख्य कारक भएको बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना दिएका छन् । मृतकका आफन्तलाई भारतीय दुई लाख रूपैँया र घाइतेलाई ५० हजार राहतस्वरूप दिइने बताइएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै विभिन्न दलका नेता, सरकारी अधिकारी तथा सर्वसाधारणले लेखेका शब्दहरूले सामाजिक सञ्जालका पानाहरू भरिएका छन् ।