शिवम् सिमेन्टका कारण बस्ती जोखिममा

शिवम् सिमेन्टका कारण बस्ती जोखिममा



मकवानपुरको हेटौँडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेका छन् ।

उक्त खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा खेतबारी र घर बगाउनेसमेत चिन्ता बढेको स्थानीयवासीको गुनासो छ । उद्योगको ढुङ्गाखानी मकवानपुरगढी गाउँपालिका– २, ३, ६, ७ र ८ मा विस्तार भए पनि विशेष गरी खानी आसपासका र सामरी खोला किनारका बासिन्दा चिन्तित छन् । उद्योगले मकवानपुरगढीको खोटार, चपकी र कलवान क्षेत्रमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गरी पथ्थर र माटो बालुवा यत्रतत्र फाल्दा त्यहाँका जगङ्लसमेत मासिएको छ ।

उद्योगले खानी उत्खनन गर्दा पुऱ्याउनुपर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको बस्ती तथा भूमि संरक्षण समूहका सचिव पुस्कर तिमल्सिनाले बताए । उक्त समूहको टोलीले केही दिन अगाडि चुनढुङ्गा खानी क्षेत्रको अवलोकन गरेर खानी अव्यवस्थित रुपमा सञ्चालन भएको भन्दै प्रतिवेदन तयार गरेको उनको भनाइ थियो ।

समूहले खानी अव्यवस्थित भएको देखाउँदै उद्योगसँग १२ बुँदे माग राखेको थियो । मागपत्रमा खानीबाट निस्केर प्रयोगमा नआउने कञ्चापदार्थ सुरक्षित स्थानमा राख्नुपर्ने र बोटबिरुवा तथा जडीबुटीमा असर नपर्ने गरी गाउँपालिकासँग स्वीकृति लिएर व्यवस्थापन गर्नुपर्ने, खानी उत्खनन गर्दा वैज्ञानिक मापण्ड अपनाउनुपर्ने, खानीका कञ्चापदार्थलाई उचित व्यवस्थापन गर्नेुपर्ने र वडा नं १ देखि वडा नं ८ सम्मका तटीय क्षेत्र पूर्ण जोखिममा रहेकाले संरक्षणको जिम्मा सम्बन्धित उद्योगले लिनुपर्नेजस्ता विषय रहेको जनाइएको छ ।

उक्त विषयमा स्थानीयवासीको बसेको सर्वपक्षीय बैठकले खानी उत्खननमा भएको दुरुपयोग नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ । मकवानपुरगढी गाउँपालिका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष र बस्ती संरक्षण समूहको प्रतिनिधिबीच भएको बैठकले पुस १९ गते र ३० गतेसम्म खानी क्षेत्रको अवलोकन गरेर थप विवरण लिने निर्णय गरेको सचिव तिमल्सिनाले जानकरी दिए ।

उद्योग प्रशासनलाई पटकपटक जथाभावी उत्खनन नगर्न ताकेता गर्दासमेत सुनवाइ नगरेकाले वास्तविक प्रतिवेदन आएपछि कारबाही अघि बढाइने उनले बताउनुभयो ।