दिक्षा तामाङ र स्यान्टु श्रेष्ठले जिते स्वर्ण पदक

दिक्षा तामाङ र स्यान्टु श्रेष्ठले जिते स्वर्ण पदक


photo: newskarkhana

नेपाल एपिएफ क्लबकी दिक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रियस्तर टेबल टेनिस प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् ।

दिक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४(२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरिन् । रविनाले २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेश्रो स्थानमा रहेकी सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले दश दश हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे ।

युथ अफ तुलसीपुर दाङको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियाँलाई ४(२ ले पराजित गर्दै पुरुष एकलको उपाधि हात पारे । उनले नगद ४० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे । विनेशले नगद २० हजार प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका सेनाका दिप साउद र एपीएफका संयोगक कपालीले नगद १०/१० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे ।

१६-१८ पुससम्म सञ्चालन भएको प्रतियोगितामा महिला टिम ईभेन्ट्समा नेपाली सेनाले जित निकाल्यो । सेनाले एपीएफलाई ३-२ को जित निकाल्दै उपाधि उचालेको हो । विजयी सेनाले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपविजेता टिम एपीएफले नगद २० हजार र तृतीय स्थान प्राप्त गर्ने पुलिसले नगद ५ हजार प्राप्त गरे ।

पुरुषतर्फ पुलिस पहिलो, सेना दोश्रो र एपिएफ तेश्रो भए । पुलिसले नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । सेनाले ट्रफी मेडल र प्रमाणपत्रका साथ नगद २० हजार र तेश्रो स्थानमा रहेको एपीएफले नगद ५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको एपीएफका प्रशिक्षक राजेन्द्रबहादुर दुलालले दाङबाट जानकारी गराए ।

विजयी खेलाडीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा नेपाली कांग्रेस खेलकुद विभाग सदस्य बृजेन्द्र हमालको पनि उपस्थिति रहेको थियो ।