काङ्ग्रेसमा पुराना नेताहरूलाई सकस : भीषण अन्तरद्वन्द्वको पृष्ठभूमि बन्दै

काङ्ग्रेसमा पुराना नेताहरूलाई सकस : भीषण अन्तरद्वन्द्वको पृष्ठभूमि बन्दै


नेपाली काङ्ग्रेसमा परिपक्व नेता र ‘नयाँ केटा’हरूबीच निकट भविष्यमा गहिरो अन्तरविरोध पैदा हुन सक्ने सम्भावना देखापरेको छ ।


नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा नेविसङ्घका ‘विद्यार्थी’हरूको बोलवाला भएपछि काङ्ग्रेसका पुराना नेताहरूले असहजता महसूस गर्न थालेको पाइएको छ ।

चौधौँ महाधिवेशनभन्दा अगाडिसम्म काङ्ग्रेस नेतृत्वमा ‘हाइरेर्की’ अनुशरण हुँदै आएको भए पनि हालै सम्पन्न महाधिवेशनले पदाधिकारीहरूमा कनिष्ठहरूलाई चयन गरिदिएपछि कार्यसमितिमा सँगै बस्न र बैठकहरूमा सहभागी हुन वरिष्ठहरूलाई निकै अप्ठ्यारो परेको छ । नेविसङ्घकै पृष्ठभूमिका भए पनि पुराना नेताहरू शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का उपसभापति रहेकाले मात्र नेताहरूले केन्द्रीय समितिमा रहन स्वीकार गरेको अवस्था छ । खासगरी नेताहरू गोपालमान श्रेष्ठ, डा. रामशरण महत, प्रकाशमान सिंह, डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, अर्जुन नरसिंह केसी, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, बालकृष्ण खाण, एनपी सावद, डा. शशाङ्क कोइराला, चन्द्र भण्डारी, शङ्कर भण्डारी, डा. शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसीलगायत पुराना नेताहरूलाई पछि पार्दै नेविसङ्घका नेताहरू धनराज गुरुङ उपसभापति तथा विश्वप्रकाश शर्मा र गगन थापा महामन्त्री बनेपछि काङ्ग्रेसमा ‘हाइरेर्कीएल’ परम्परा तोडिएको हो । धनराज, विश्वप्रकाश र गगनलाई नेताका रूपमा ग्रहण गर्न पुराना कसैले पनि सकिरहेका छैनन् । पार्टी केन्द्रीय कार्यसमितिको बैठक र अन्य सार्वजनिक तथा औपचारिक समारोहहरूमा ‘केटाहरू’ मञ्चासिन भइ आफूहरू ‘तलतिर’ बस्नुपर्दा नेताहरूमा एक प्रकारको ग्लानी (ह्युमिलिएसन) महसूस हुने गरेको छ ।

महामन्त्रीमा रहेका गगन थापालाई प्रजातन्त्र स्थापना भइसकेपछि नेविसङ्घको राजनीतिमा शङ्कर भण्डारीले प्रवेश गराउनुभएको थियो । शङ्कर यतिबेला केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । गगन महामन्त्रीको कुर्सीमा विराजमान हुँदा शङ्करलगायत सबै पुराना नेताहरू आफूलाई गिज्याएको महसूस गर्ने अवस्थामा देखिएका छन् । त्यसैले नेपाली काङ्ग्रेसमा परिपक्व नेता र ‘नयाँ केटा’हरूबीच निकट भविष्यमा गहिरो अन्तरविरोध पैदा हुन सक्ने सम्भावना देखापरेको छ । ‘नयाँ’हरूको चुरिफुरी यस्तै रहेमा सभापति शेरबहादुर देउवासहित सबै पुराना नेताहरू कुनै पनि दिन एकजुट भएर पार्टीको विधानमा भारी परिवर्तन ल्याउन खोजियो भने अब कुनै आश्चर्य हुने छैन । नयाँ पदाधिकारीमध्ये विश्वप्रकाश शर्माको व्यवहार शालिन र सभ्य मानिए पनि उपसभापति धनराज गुरुङ र गगन थापाका प्रस्तुति र व्यवहार अराजक एवम् अस्वभाविक भएको महसूस नेताहरूले गरिरहेका छन् ।

तेह्रौँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलालाई सभापति थापेर महामन्त्रीमा चुनाव लडेका गगनले सिटौलाको कोटाबाट मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए । सिटौलाको उपयोगिता सकिएपछि गगन डा. शेखर कोइरालातिर लहस्सिए । थापालाई डा. कोइरालासँग मिलाउन बाह्यशक्तिको मूख्य भूमिका रहेको विगत दुई वर्षदेखि नै चर्चाको विषय बन्दै आएको भए पनि धेरैलाई यस कुरामा विश्वास थिएन । अन्ततः चौधौँ महाधिवेशनले उसबेलादेखि चलिआएको चर्चालाई सही भएको पुष्टि गरिदिएको छ । कुनै अप्रत्याशित घटना या अवस्था पैदा भएन र यही रूपमा काङ्ग्रेसले पन्ध्रौँ महाधिवेशनसम्मको यात्रा तय गऱ्यो भने उक्त महाधिवेशनमा डा. शेखरलाई पनि छोडेर गगन आफैं सभापतिको उम्मेदवार बन्न अग्रसर हुने निश्चित छ । पन्ध्रौँ महाधिवेशनभन्दा पहिले नै विधानमा भारी परिवर्तन ल्याएर ‘केटा’हरूको भूमिका सीमित तुल्याउने उपाय अवलम्बन गरिएन भने काङ्ग्रेसमा तीन वटा सम्भावना देखिन्छ ।

विधान संशोधन गरेर महामन्त्री र उपसभापति पदको सङ्ख्या थप गरी सिनियर नेताहरूमध्येबाट सिर्जित पदमा मनोनयन गर्ने, निश्चित समयपछि ‘केटा’हरूलाई अनुशासनको कडा जञ्जिरमा बाँध्ने या यी दुवै विकल्प कार्यान्वयनमा नआए पार्टीमा अन्तरद्वन्द्व बढ्ने र त्यसले पार्टी विभाजनको अवस्थासम्म पु¥याउन सक्नेछ । गगनले आफूलाई काबुमा राख्न सकेनन् भने उनले भीम रावलको नियति भोग्नुपऱ्यो भने पनि कुनै आश्चर्य हुने छैन ।