स्वर्ण विजेतालाई खड्काले गरे पुरस्कृत

स्वर्ण विजेतालाई खड्काले गरे पुरस्कृत


काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई प्रोत्साहनस्वरुप व्यक्तिगत रुपमा नगद पुरस्कार प्रदान गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस १६ र १७ गते भएको प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन बन्दा काठमाडौंले ४ स्वर्ण जितेको थियो । तिनै ४ स्पर्धाका ६ स्वर्ण विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।

व्यक्तिगत स्पर्धामा स्विकार रजक, सुस्मिता मोक्तान र रन्जित साउद तथा समूहगत पुम्सेमा स्मृति नेपाली, मोनिका रम्तेल र मोनिका मगरले स्वर्ण जितेका थिए । चारै स्वर्णका लागि समान ५–५ हजार नगद पुरस्कार प्रदान गरियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकाल, बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले स्वर्ण विजेतालाई पुरस्कृत गरे । सोही अवसरमा उक्त प्रतियोगितामा रजत र कांस्य पदक जित्न सफल काठमाडौंका खेलाडीलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । टिम प्रशिक्षकत्रय गौरव रजक, रञ्जन श्रेष्ठ र कमल श्रेष्ठ पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सो अवसरमा काठमाडौं जिल्लाका विभिन्न ११ नगरपालिकामा तेक्वान्दोको विकास र विस्तारका लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले आफ्ना कार्यसमितिका पदाधिकारीलाई संयोजक तोक्दै पत्र पनि हस्तान्तरण ग¥यो ।

संखरापुरमा घनश्याम कार्की र मुना खवास, कागेश्वरी मनोहरामा घनश्याम कार्की, गोकर्णेश्वरमा सारदा धिमाल, बूढानीलकण्ठमा गणेश तामाङ, टोखामा कविता श्रेष्ठ, तार्केश्वरमा सानुबाबु महर्जन, काठमाडौंमा राजेन्द्र पुजारी, नागर्जुनमा सरोज बाँस्कोटा, चन्द्रागिरीमा प्रदीप आले, दक्षिणकालीमा मनोजकुमार शाह र कीर्तिपुरमा दशरत्न शाहीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै काठमाडौं जिल्ला तेक्वान्दो संघले विभिन्न समिति गठन गर्दै संयोजकलाई पनि सोही कार्यक्रममा पत्र हस्तान्तरण ग¥यो । प्रतियोगिता समितिमा सरोज बाँस्कोटा, ग्रेडिङ समितिमा मनोजकुमार शाह, निर्णायक समितिमा अशोक खड्का, जिल्ला टिम तयारी समितिमा गौरव रजक, अनुशासन तथा अनुगमन समितिमा गणेश तामाङ र आर्थिक समितिमा सारदा धिमाललाई संयोजकको जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा सगरमाथा तेक्वान्दो डोजाङ, युकेका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गरेको २५ थान कुर्सी पनि काठमाडौं जिल्ला तेक्वान्दो संघलाई हस्तान्तरण गरिएको थियो ।