भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित

भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित


भारतको गुजरात सरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको १०औँ भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित भएको घोषणा गरेको छ । कोभिड संक्रमण बढेको भन्दै गुजरात सरकारले सो सम्मेलन स्थगित गरेको हो ।

प्रधानमन्त्री नेरन्द्र मोदीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम थियो । दुई दिने सो सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो ।

सम्मेलनमा भाग लिने नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुने कार्यक्रम थियो । सम्मेलनमा रसियाली प्रधानमन्त्री, मोजाम्बिकका राष्ट्रपति, मौरिससका प्रधानमन्त्री र स्लोभानियाका प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय भएको थियो । त्यस्तै विभिन्न देशका मन्त्री र कम्पनीका सीईओ पनि सहभागी जनाउने बताइएको थियो ।