पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता


photo: rss

खेलकुद पर्यटनको सहर पोखरामा ‘एट-ए-साइड अन्तर्राष्ट्रिय भेट्रान्स’ फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ को नारासहित बगर भाई खलक पोखराको आयोजनामा यही पुस २६ देखि माघ १ गतेसम्म ११औँ संस्करणको सो प्रतियोगिता आयोजना गरिएको हो ।

चालिस वर्षदेखि ६५ वर्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पुस्तालाई खेलकुदप्रति अभिरुचि जगाई भविष्यमा देशका लागि आवश्यक खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिइएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा बगर भाई खलकका अध्यक्ष दिलबहादुर गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा २६ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा काठमाडौं, वीरगञ्ज, हेटौँडा, चितवन, बुटवल, वालिङलगायत स्थानीय टिमको सहभागिता हुनेछ । यसैगरी भारतको एक विदेशी टोलीलाई पनि प्रतियोगितामा सहभागी गराउने प्रयास भइरहेको बताइन्छ । कोभिडका कारण पछिल्ला संस्करणमा विदेशी टोलीको सहभागिताका लागि कठिनाइ भएको आयोजकको भनाइ छ ।

प्रतियोगितामा उपाधि विजेता टोलीले रु एक लाख ५१ हजार १११ सहित रनिङ शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपाविजेताले नगद रु ७५ हजार ५५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित जनही नगद रु पाँच हजार पुरस्कार उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सेमिफाइनलमा पुग्न सफल दुई टिमलाई नगद रु १० हजार पुरस्कार उपलब्ध गराइने आयोजक संस्थाका महासचिव यामबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न रु २० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने रु २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । यस वर्ष पनि सहारा युकेले द्वितीय पुरस्कार रु ७५ हजार ५५५ प्रायोजन गरेको छ ।

प्रतियोगितालाई खेलकर्मी स्व रञ्जित गुरुङको परिवारले सातौँ संस्करणदेखि निरन्तर मुख्य प्रायोजन गर्दै आइरहेको छ । १०औँ संस्करणको उपाधि मिया सान मिया एफसी वार्यन फेन क्लब नेपाल, काठमाडाँैले जितेको थियो । यसैगरी प्रतियोगिताको उद्घाटन समारोहमा पूर्वराष्ट्रिय खेलाडी तथा शिक्षाविद् महेश गुरुङलाई सम्मान गरिने भएको छ । यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी एवं शिक्षाविद् गुरुङलाई ताम्रपत्र एवं दोसल्लासहित सम्मान गरिने संस्थाका अध्यक्ष गुरुङले जानकारी दिए ।