गोरखनाथ दर्शनको सान्दर्भिकता

गोरखनाथ दर्शनको सान्दर्भिकता


नेपालको दोस्रो नाउँ हो गोरखनाथ । गोरखनाथ विनाको नेपाल कल्पना गर्न सकिन्न । एकीकृत नेपालको आशा, भरोसा र आशिर्वाद हो- ‘गोरखनाथ’ । त्यसैले अभिन्नता छ गोरखनाथको नेपालसँग । श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको उत्साह, त्यस बेलाका विभिन्न तप्काका जनताको सहभागिता र भगवान् गोरखनाथको अजेय आशिर्वाद नै आजको नेपाल हो । यस्तो महान् महिमाशाली गौरवलाई अहिलेको राजनीतिक प्रणालीले पाखा लगाउने दुस्साहस गरेको छ ।
  • प्रा.डा. माधव भट्टराई

अर्जुन ज्ञवाली नेपाली समाजको राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र दार्शनिक क्षेत्रको सशक्त र चर्चित हस्ताक्षर हो भन्दा फरक पर्दैन । स्पष्टवादिता, निर्भिकता, गहिरो विश्लेषणात्मकता उहाँको परिचय हो । यिनै विशेषताले उहाँका कृतिहरु पाठकका लागि निकै प्रिय बन्दै आएका छन् । यसै कडीमा उहाँको खोजपूर्ण अर्काे कृतिको पाण्डुलिपि मेरो हात लागेको छ ‘गोरखनाथ दर्शन’ ।

शङ्करावतार सिद्ध गोरखनाथ हरेक स्वाभिमानी नेपालीका निम्ति त्यस्तो प्रेरक र पावन नाम हो जसको श्रवणले नै शरीर रोमाञ्चित हुञ्छ अनि समग्र मन–मस्तिष्कमा राष्ट्रियताको भाव छचल्किन्छ । हामी इतिहासतिर मोडिन्छौँ, चेतनाको ऊर्जा फैलन्छ आङभरि, अनि एकैचोटी चार पाइला उचाल्छौँ नेपालको गरिमा फैलाउन । तर गोरखनाथ को हो र के हो यथार्थमा ? धेरैले बुझन पाएका छैनन् । ‘गोरखनाथ दर्शन’ले यी सबै पहिचान दिञ्छ र मानिसले बुझन सक्छ गोरखनाथको महत्ता र गरिमालाई ।

म भञ्छु नेपालको दोस्रो नाउँ हो गोरखनाथ । गोरखनाथ विनाको नेपाल कल्पना गर्न सकिन्न । एकीकृत नेपालको आशा, भरोसा र आशिर्वाद हो- ‘गोरखनाथ’ । त्यसैले अभिन्नता छ गोरखनाथको नेपालसँग । श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको उत्साह, त्यस बेलाका विभिन्न तप्काका जनताको सहभागिता र भगवान् गोरखनाथको अजेय आशिर्वाद नै आजको नेपाल हो । यस्तो महान् महिमाशाली गौरवलाई अहिलेको राजनीतिक प्रणालीले पाखा लगाउने दुस्साहस गरेको छ । गोरखनाथ पढ्न पाइन्न कोर्समा । गोरखनाथ बुझने वातावरण छैन समाजमा । यही अभाव पूर्ति गर्न अर्जुनजीले यो ग्रन्थ तयार गर्नुभएको हो भन्ने म ठान्दछु ।

राजर्षि जनक, महात्मा गौतम बुद्ध, श्री ५ पृथ्वीनारायण शाह र सिद्ध गोरखनाथ यी ४ नेपालीहरुले कदापि बिर्सन नहुने आदर्श हुन् । वेदान्त दर्शनलाई व्यवहारमा उतार्न सिकाउने जनक, शान्ति र अहिँसाको सन्देश फैलाउने बुद्ध, समाजको जीवनोपयोगी पाठ दिने पृथ्वीनारायण शाह र राष्ट्रिय जागरणको शिक्षा दिने गोरखनाथ बाबा प्रातःस्मरणीय प्रेरक व्यक्तित्व भएका हुनाले नेपालका अङ्ग-अङ्गमा उहाँहरुको महिमा अनुस्यूत छ ।

‘गोरखनाथ दर्शन’ पुस्तकमा लेखकले गोरखनाथ सम्बन्धी साङ्गोपाङ्गो निरूपण गर्ने प्रयत्न गर्नुभएको छ । यसमा प्रथम स्वादमा नाथ योगको सैद्धान्तिक र व्यवहारिक पक्षमा विस्तारपूर्वक विवेचना गरिएको छ । आध्यात्मिक साधना गरी जीवन धन्य बनाउन चाहने साधकका लागि यो खण्ड नितान्त उपयोगी छ । यसको अनुशीलन र प्रयोगबाट मानिस योगका विविध सोपान चढ्दै सिद्धिको मार्गमा अग्रसर हुन सक्तछ ।

दोस्रो खण्डमा नाथ परम्पराको जातीय र सामाजिक सम्बन्धका विविध पक्षबारे विश्लेषण गरिएको छ । यसबाट नाथहरुको ऐतिहासिक योगदानबारे राम्रो ज्ञान प्राप्त हुनाका साथै आजको सन्दर्भमा तिनको उपयोगिता र औचित्य स्पष्ट हुनेछ । अन्य धर्मबाट सुरक्षित रही स्वधर्मको रक्षा गर्ने प्रेरणा यस खण्डको अध्ययनले धर्मावलम्बीहरुलाई मिल्नेछ ।

खण्ड ३ मा महायोगी गोरखनाथका उपदेश र दिनचर्याको समीक्षा गरिएको छ । नाथको वंशवृक्ष कसरी फैलँदै गयो र यसको प्रभावक्षेत्र के–कस्तो रह्यो भन्ने तथ्य बुझन यस खण्डको अध्ययनले राम्रो मद्दत गर्नेछ । पुस्तकको चतुर्थ खण्डमा नाथसम्प्रदाय र अन्य सम्प्रदायको तुलना गरिएको छ । साथै शैव र वैष्णव सम्प्रदायका साम्य र वैषम्यमाथि यसमा प्रकाश पारिएको छ । भारतवर्ष र नेपालमा वैष्णव वा अन्य सम्प्रदायको विस्तार र परिणामबारे तार्किक विवेचना गरिएको छ । खास गरेर धर्म र यसको आवश्यक्ता यहाँ औँल्याइएको छ । हाल प्रचलित अनेक प्रकारका नव सम्प्रदायले पारेको प्रभाव दर्शाउँदै वेद र गीताजस्ता सनातन शास्त्रहरु नै गोरखनाथ सम्प्रदायका आधार भएको तथ्यमाथि प्रकाश पारिएको छ । यसप्रकार ४ खण्डमा विभाजित यो पुस्तक पठनीय, मननीय र अनुशरणीय रहेको यथार्थ जिज्ञासु पाठकले बुझन सक्तछ ।

धर्मनिरपेक्षताको नाउँमा नेपालले अहिले आफ्नो सत्व र मौलिकता गुमाइसकेको छ । बाबा गोरखनाथको प्रभाव नेपालबाहिर पनि प्रशस्त मात्रामा रहेको भए पनि उहाँ नेपालको अद्वितीय र अद्भूत सम्पदा हो । गोरखनाथको शिक्षा र आचरणलाई अनुशरण गर्न सक्ता हामी अझै पनि विश्वलाई धेरैथोक दिन सक्तछौँ तर अहिलेको राज्यव्यवस्था धर्मप्रतिकूल र विधर्माेन्मुख हुँदा हाल यो कुराको सुनवाइ हुँदैन तापनि राष्ट्रभक्त धर्मप्रेमी नेपालीहरुले गोरखनाथद्वारा प्रतिपादित एवं आचरित शिक्षा र उपदेश बुझिराख्नु जरुरी छ । साधारण सामाजिक रूपमा मात्र होइन राजनैतिक दृष्टिले पनि गोरखनाथीय शिक्षा उपयोगी र प्रभावकारी छ । वस्तुतः गोरक्ष शिक्षाले दिने सन्देश “स्वधर्मे निधनं श्रेयः परधर्माे भयावहः” नै हो ।

गोरखनाथको चरित्र र उपदेशबाट प्रभावित व्यक्ति कहिल्यै दुराचार, भ्रष्टाचारतिर लाग्दैन, स्वाभिमान छाड्दैन, परधर्मीको लोभलालच र मोहमा पर्दैन, राष्ट्रिय भावना त्याग्दैन, इमान र सत्यको बाटोभन्दा बाहिर जाँदैन । हामीलाई चाहिएको यस्तै नागरिक हो । “वयं राष्ट्रे जागृयाम” भन्ने वेदको सन्देश हाम्रो आदर्श हो । फेरि यसलाई जगाउने हो भने गोरखनाथ भगवान्को आदर्शलाई जीवनमा उतार्नुपर्दछ । यस किताबका माध्यमबाट अर्जुन ज्ञवालीले दिन खोज्नुभएको सन्देश यही हो ।

गोरख–दर्शन जीवन्त दर्शन हो । यौगिक प्रक्रियाद्वारा शरीरलाई सबल र सशक्त बनाउनेदेखि आध्यात्मिक समुन्नतिको अन्तिम किनारासम्म यस दर्शनको अनुशीलन र प्रयोगले पुग्न सकिञ्छ । त्यसमा पनि नेपालको सन्दर्भमा त यसले हर क्षेत्रमा बलियो प्रभाव पारेको हुँदा अझ बढी यसको उपयोगिता र सान्दर्भिकता सिद्ध हुञ्छ । त्यसैले तल्लै तहदेखि गोरखनाथ दर्शनका विविध पक्षको परिचय र ज्ञान दिने पाठ्यसामग्री शिक्षामा समावेश गर्नुपर्ने थियो तर नेपालको अन्धो शिक्षा प्रणालीमा हाललाई त्यो सम्भावना छैन । तसर्थ यस्तै पुस्तकका माध्यमबाट अनौपचारिक ढङ्गले गोरखनाथका उपदेशहरुको ज्ञान गर्नुपर्ने भएको छ । यस मानेमा ‘गोरखनाथ दर्शन’ ग्रन्थ अति उपयोगी छ ।

सुपरिचित लेखक तथा विश्लेषक अर्जुन ज्ञवालीले यस अगाडि लेखेका सबै पुस्तक चर्चामा आएका छन् । तिनले पाठकको मन-मस्तिष्कलाई गहकिलो खुराक प्रदान गरेका छन् । कतिपय सन्दर्भमा त ज्ञवालीजीका पुस्तकले पाठकको मनलाई आन्दोलित गरेका छन् र आफ्ना धारणामा परिवर्तन ल्याउन समेत ती समर्थ भएका छन् । त्यसैले ‘गोरखनाथ दर्शन’ हरेकका लागि पठनीय र संग्राह्य छ । पाठकहरुलाई यो पुस्तक पढेर महागुरू सिद्ध गोरखनाथ बाबाको महिमा र गरिमा बुझन आह्वान गर्दै प्रकाशनको सफलताको कामना गर्दछु ।